
काठमाडौं। एन्फा महिला लिगमा अनिता बस्नेतको कप्तानी खेलका बाबजुत एपीएफ क्लवले त्रिभुवन आर्मीमाथि सानदार जित निकालेको छ। शनिबार विंगर अनिताको एक गोल र दुई असिस्टप्रेरित एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा एपिएफले त्रिभुवन आर्मीलाई ३-१ ले हरायो।
जितसँगै एपीएफ चार खेलमा स्पष्ट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। आर्मीको यो पहिलो हार हो। चार खेलमा आर्मी सात अंक जोड्दै दोस्रो स्थानमा छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमामा खेलको ६०औं मिनेटमा एपीएफले बक्स नजिकै प्राप्त फ्रिकिक अवसरलाई सदुपयोग गर्यो। लेफ्ट साइडबाट अनिताको प्रहारलाई रक्षक निशा थोकरले हेडमार्फत जाली चुमाइन्।
तर, एपीएफको यो अग्रता धेरै बेर टिक्न सकेन। ६९औं मिनेटमा आर्मीले पनि सेटपीस अवसरलाई गोलमा परिणत गर्यो। विंगर विमला चौधरीको कर्नरमा रक्षक विमला थापाले अनियन्त्रित विपक्षी रक्षापङ्क्तिको फाइदा उठाउँदै पहिलो बारमा सुन्दर गोल गरिन्।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा बक्स नजिकै प्राप्त फ्रिकिक अवसरलाई अनिताले सदुपयोग गरेपछि एपीएफले फेरि अग्रता लियो। यसपालि उनको प्रहार बारमा रहेका विपक्षी खेलाडीलाई लाग्दै सोझै गोलमा परिणत भयो।
इन्जुरी समयमा अनिताकै पासमा मिडफिल्डर प्रीति राईले बक्स बाहिरबाट दर्शनीय गोल गरेपछि एपिएफले तीन अंक सुनिश्चित गर्यो। प्रीतिले मध्य क्रसबारको ठिक तल बललाई जाली चुमाएकी थिइन्। यसअघि बिहीबार अनिताको ह्याट्रिकप्रेरित एपिएफले नेपाल पुलिसलाई ६९० ले हराएको थियो।