काठमाडौँ। यसपटक विभागीय टोली नेपाल पुलिसमाथि संशय थियो, कप्तान दीपेन्द्रसिंह ऐरीबिना कसरी मैदान उत्रेला? अलराउन्डर ऐरी यूएईको घरेलु मैदानमा हुने प्रतियोगिता खेल्न जानुपर्दा जय ट्रफीका कुनै खेलमा मैदान उत्रिएनन्। यसले पुलिसलाई धक्का लाग्ने अनुमान थियो।
यसपछि पुलिसको कप्तान रहे, आरिफ सेख। यसअघिको नेपाल प्रिमियर लिग (एनपीएल)मा खासै लयमा नदेखिएका सेखले कप्तानी सम्हाल्नु पर्यो। तर आरिफले पनि खेललाई सबै खेलमा समय दिन सकेनन्। सेखबाट केही खेलमा कप्तानी हस्तान्तरण भयो, कुशल भुर्तेललाई। भुर्तेल लामो समयदेखि राष्ट्रिय टोलीको व्याटिmमा संघर्षरत थिए। उनको ब्याटले रन हानिरहेको थिएन।
यसअघिको एनपीएलमा पनि भुर्तेलको व्याटले रन हानेन। यसपछि पुलिसलाई अर्को झड्का लागेको थियो, अनुभवी खेलाडी करण केसी इन्ज्युरी थिए। तर, यसका बाबजुत पनि पुलिसले उपाधि जित्यो। जय ट्रफीमा गएको सिजनका लिग शीर्ष चार टोली भिड्दै थिए। तर ३ टिममाथि दबाब कायम गर्दै पुलिस विजेता बन्यो। आज वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो।
उपाधि भिडन्तमा सामान्य लक्ष्य पुरा गर्न आर्मी २८ रनले चुक्यो। पहिले ब्याटिङ गरेको पुलिसले अन्तिम खेलमा १०३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर आर्मी ७४ रनमै अलआउट हुँदा उपाधिको सपना चकनाचुर बन्यो।
पुलिसको जितमा सागर ढकाल र ललितनारायण राजवंशी चम्किए। सागरले ६ विकेट र ललितले ४ विकेट लिए। सागरले १४।२ ओभरमा ३५ रन खर्चिँदा ललितले १५ ओभरमा ३९ रन दिए। सागर ‘प्लेयर अफ द म्याच’ बने।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाए। सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पुलिस १३९ रनमा अलआउट हुँदा १०२ रनको अग्रता बनाएको थियो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाए। राशिद खानले १८ रनको योगदान दिए। पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका साहब आलम र बसिर अहमदले समान ५ विकेट लिए।