
काठमाडौँ। पहिचानवादीहरूलाई वार्तामा आउन कोशी प्रदेश सरकारले आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलबार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर पहिचानवादीहरू आन्दोलनमा उत्रिएका छन्। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिक रूपमा वार्ताको आह्वान गरेको हो।
ताप्लेजुङ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले बताए। प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारी रहनेगरी समिति बनाएको थियो।