
काठमाडौं। सीताराम कट्टेल ‘धुर्मस’ फरकफरक अवतारमा देखिन सक्ने अभिनेता हुन्। एउटै सिरियलको एकै भागमा उनी फरकफरक रूपमा देखिएका उदाहरण छन्। अभिनयबाट केही समय ब्रेक लिएका धुर्मस अहिले भने फेरि फरक शैलीको पात्र बनेर ठूलो पर्दामा आउँदैछन्।
उनी शिवरात्रीको दिनबाट प्रदर्शनरत ‘लाज शरणम्’मा मधेशी मुलको नेता बनेर आउँदैछन्। जुन कुरा उनको फिल्मको टिजरले देखाएको छ। निर्माण पक्षले बिहीबार एक मिनेट ५० सेकेन्ड लामो सार्वजनिक गरेको टिजरमा उनी हाल जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको ‘स्वरुप’मा देखिएका छन् । उनले फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेको टिजरले खुलाउँछ।
टिजरमा फिल्मका कलाकारहरू नायक विजय बराल, मकुन्द श्रेष्ठ, सीताराम कट्टेल ‘धुर्मुस’, अपर्ण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, सागर लम्साल ‘बले’लाई प्रमुख स्थान दिइएको छ ।
ग्रामिण वृद्धको भूमिकामा रहेका कमलमणिले नेपालले विदेश जान लागेका छोरालाई कुनै समस्या नपरोस् भनेर कामना गरेको दृश्यबाट टिजरको सुरुवात हुन्छ ।गाउँमा आइपुगेको कफिन खोलेपछि विजय, अपर्ण र महेश आश्चर्यमा पर्छन्।
टिजरबाट हरिस निरौला कक्रोज अघोरीको भूमिकामा, अर्जुन घिमिरे टेलिसिरियलमा जस्तै पाँडे र मकुन्द श्रेष्ठ नेताको भूमिकामा देखिन्छ । टिजरमा ‘बले’ हेलिकप्टर चढेर गाउँमा पुगेको देखाइएको छ । तर उनको भूमिका पनि कौतुहलता जगाउने किसिमको छ । टिजरले कर्णालीका गाउँ र सहरको मिश्रित कथामा फिल्म बनेको संकेत गरेको छ। यो फिल्म टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो । निर्देशक कुमार कट्टेल ‘जिग्री’ हुन् ।
फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू र ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, हरिष निरौला ‘क्रकोज’, प्रियाना आचार्य ‘मुन्नी’ कमलमणि नेपाल ‘खुपीका बाउ’ लगायत कलाकार छन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ र रामनरेश शाह हुन् ।