काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार नबनाउन दबाब दिँदै आन्दोलन गरिरहेका पहिचानवादी समूहसँग सोमबारबाटै वार्ता सुरु भएको छ।
गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले काम सुरु गरेको हो। यसै क्रममा वार्ता टोलीले सोमबार सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ताटोलीसँग छलफल गरेको छ। तर वार्ता निष्कर्षविहीन बन्यो।
गृह मन्त्रालयले शनिबार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् । गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले मुक्कुम्लुङ (पाथीभरा) संरक्षक संस्था र राजनीतिक दलसम्मिलित वार्ता सहजीकरण समिति गठन गरेको थियो ।
आन्दोलनरत पक्षले मङ्गलबार एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ ।