काठमाडौं। नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८०/८१ मा ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षमा ३० अर्ब ८६ करोड रुपैयाँ खर्च गरेर कर अघिको नाफा ११ अर्ब २५ करोड रुपैयाँ रहेको टेलिकमले जनाएको छ।
टेलिकमको खुद नाफा ६ अर्ब २३ करोड रुपैयाँ हुन पुगेको टेलिकमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । टेलिकमले गत वर्षको आम्दानीबाट प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६१ पैसा हुन पुगेको तथ्यांकले देखाएको छ । यस्तो प्रतिसेयर आम्दानी गत आर्थिक वर्ष २०७९/८० मा ४४ रुपैयाँ १६ पैसा रहेको थियो ।
टेलिमले गत वर्षको आम्दानीबाट सरकारलाई विभिन्न ११ शीर्षकमा ४१ अर्ब ५९ करोड रुपैयाँ कर तथा दस्तुर तिरेको छ । यस्तो रकममा अग्रिम आयकर १ अर्ब ७० करोड, मूल्य अभिबृद्धि कर ३ अर्ब ४६ करोड, दूरसञ्चार सेवा शुल्क ३ अर्ब १४ करोड, स्वामित्व शुल्क ८६ करोड, भन्सार शुल्क १७ करोड, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क २ अर्ब १५ करोड फ्रिक्वेन्सी दस्तुर २ अर्ब ४ करोड रुपैयाँ तिरेको छ ।