
काठमाडौं। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले अहिले मुलुकमा ब्रम्हलुट र मनपरीतन्त्र हाबी भएको बताएका छन्। उनले यो अवस्थामा राप्रपा नेपाल टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।
पार्टी आवद्ध मजदुर संगठन टुकोनको कार्यक्रममा बोल्दै बर्तौलाले मनपरितन्त्र अन्त्यको लागि आन्दोलन जरुरी भएकोले संघर्षको तयारीमा जुट्नु पर्नेमा जोड दिए।
ब्यवस्था नबदली मुलुकको अबस्था नबदलिने भएकोले अहिलेको राज्य ब्यवस्था र प्रणाली परिबर्तन जरुरी भएको उनको तर्क छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अब देशले धान्न सक्दैन भन्दै बर्तौलाले युवाविहीन देश बनाउने प्रणाली टिक्नै नसक्ने दाबी गरे।
कार्यक्रममा टुकोन अध्यक्ष हिक्मतजङ्ग भण्डारी , नेताहरू राजाराम बर्तौला ‘चुनेली’ अजेलिया रन्जितकार, कर्माडोलकर गुरुङ्ग लगायतले बोलेका थिए । कार्यक्रममा लैङ्गिक समानताको लागि १० बुँदे आचार सहिता समेत प्रस्तुत गरिएको थियो।