
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पहिलो महाधिवेशनमा अध्यक्ष बाबुराम भट्टराईले राजनीति प्रतिवेदनमार्फत अन्य दललाई विभिन्न आरोप लगाएका छन्। पार्टीको बन्द शत्रमा भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसलाई धार बदल्न नसकेको शक्ति र कम्युनिस्टलाई अपरिवर्तनशील शक्तिको आरोप लगाएका छन्।
उनले प्रतिवेदनमार्फत संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसलाई बीपी कोइरालाको नेतृत्वपछि धार परिवर्तन गर्न नसकेको शक्तिका रूपमा लिएका छन्। उनले प्रतिवेदनमा भनेका छन्, परन्तु यसले बि.पी. कोइरालाको समय यता वैचारिक, राजनीतिक, कार्यक्रमिक ढंगले खासै प्रगति र नयाँपन प्रदर्शन गर्न सकेको छैन । पटकपटक सत्ताको नेतृत्व गर्दा पनि देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा गुणात्मक रूपान्तरण गर्न सकेको छैन।
बाबुरामले कांग्रेसका नेता नै सधैँ कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेको आरोप लगाएका छन्। उनले कांग्रेसका यस्ता कामले देशका गम्भीर प्रकृतिका अर्थ–राजनीतिक समस्या र नयाँ युगको नयाँ कार्यभार यो ऐतिहासिक रुपले पुरानो भइसकेको राजनीतिक धार र शक्तिबाट पूरा हुन असम्भव नभएको निष्कर्ष निकालेका छन्। यता, कम्युनिस्ट शक्ति मानिने एमाले र माओवादीलाई एकै डालोमा राखेर उनले विश्लेषण गरेका छन्।
उनले पटकपटक सत्ताको नेतृत्व गरे पनि यो धारको नेतृत्वले देशका गम्भीर संरचनात्मक समस्या समाधान गर्न नसक्नु, भनाइ र गराइमा कुनै तादात्म्य नरहनु, यिनका नेता र उच्चतहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदि कारणले आम जनताले कांग्रेसभन्दा भिन्न हुन नसकेको निष्कर्ष भट्टराईले निकालेका छन्।
उनले माओवादीलाई बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको भए पनि मूल नेतृत्व झन् तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेकाले एमाले र माकेबीचमा कुनै तात्विक अन्तर नभएको बताएका छन्।
प्रतिवेदनमा उनले हिजोको एकदलीय कम्युनिष्ट सत्ता सबैतिर ढल्दै गएको, संसदीय कम्युनिस्टहरू सबै देशमा कमजोर बन्दै गएको स्थितिमा त्यसका वैचारिक–राजनीतिक–सांगठनिक–व्यवहारिक कारणहरूको वस्तुसंगत निराकरण नगरी पुरानै ढाँचामा कम्युनिस्ट पार्टीहरू नेपालमा मात्रै लामो समय टिक्ने अपेक्षा गर्न नसक्ने जनाएका छन्।
यता राप्रपालाई भने पुनरुत्थानवादी सम्वद्र्धनवादी धारका रूपमा विश्लेषण गरेका छन्। उनले राप्रपाको पक्षमा केही प्रतिशत जनता हुनु स्वाभाविक रहेको बताएका छन्। उनले केही प्रतिशत पश्चगामी सोच राख्नेहरूको उपस्थिति हुनु स्वाभाविक भए पनि २१ औं शताब्दीको चेतना बोकेका अत्यधिक नेपालीहरू जतिसुकै समस्या आइपरे अध्याँरोतर्फ नधकेलिने निष्कर्ष भट्टराईको छ।
नेसपा नयाँ शक्तिको खाँचो ‘५ स’का लागि
उनले आफूले तत्कालीन माओवादीबाट विद्रोह गरेर नयाँ शक्ति निर्माण गर्नुको कारण पनि पुष्टि गर्न खोजेका छन्। उनले नयाँ शक्ति मुलुकका लागि प्रमुख कार्यभारहरूलाई ‘५स’ अर्थात् समृद्धि, सुशासन, संघीयता सहितको समावेशी र सहभागितामूलक लोकतन्त्र, स्वाधीनता र समुन्नत समाजवादको रूपमा परिभाषित गरिएको बताए।
उनले आफूले स्पष्ट वैचारिक–राजनीतिक कार्यदिशा सहितको नयाँ/वैकल्पिक शक्ति निर्माण अभियानको उद्घोष गरेको दाबी गरेका छन्। नयाँ शक्तिका रूपमा उदाएका विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी उदाए पनि विचारमा प्रष्ट नभएको बताएका छन्।
उनले पुराना दल र नेतृत्वप्रति आम जनसमुदाय र विशेषतः युवाहरूको चरम निराशा र आक्रोश बढ्दै गइरहेको स्थितिमा नयाँ/वैकल्पिक शक्तिहरूको
उदयलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।