
काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ। एक साताभित्रै दुई सिफ्टमा अपरेसन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए।
‘अहिले एक सिफ्टमा भइरहेको छु, उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौँ।’ ल्याब क्षमता वृद्धि निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरु थपिएको बताए। ‘ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौँ’ उनले भने, ‘बाहिर प्रयोगका लागि गइरहेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालिएको छ।’
डा। गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्याइसकेको बताए। ‘अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ’, उनले भने, अब पहिलेभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन्।’
यस्तै, अहिले वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइमा खेप्ने गरिरहेको छ। शौचालय सफा नभएका भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेको भन्दै यसको व्यवस्थापनका लागि समेत काम भइरहेको निमित्त निर्देशक गौतमले बताए। अस्पतालले कसरी अझ बढी सफा गर्न सकिन्छ? भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएको र यसको नतिजा पनि चाँडै देखिने उनले दाबी गरे।