
काठमाडौं। चर्चित भारतीय स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता गरेका छन् । उनले करिब ९ महिलाअघि गरेको संन्यासको निर्णय फिर्ता लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
संन्यास फिर्ता लिएसँगै सुनिल मार्चमा हुन गइरहेको अन्तर्राष्ट्रिय ब्रेक दौरान हुने खेलका लागि भारतीय टोलीमा परेका छन्। मुख्य प्रशिक्षक मानोलो माक्र्वेजले २६ सदस्यीय टोलीमा उनलाई पनि समेटेका हुन्।
४० वर्षीय सुनिलले गत जेठमा सन्यासको निर्णय लिएका थिए। उनले गएको जुन ६ मा कुवेतविरुद्ध भारतका लागि पछिल्लोपटक खेलेका थिए । सो बेला उनी टोलीको कप्तान थिए।
सुनिलले भारतीय टोलीबाट १५१ खेल खेल्दै कुल ९४ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी चौथो नम्बरमा रहेका छन्। सुनिलले चिरपरिचित प्रतिद्वन्दी नेपालविरुद्ध सर्वाधिक ९ गोल गरेका छन् । उनले १२ जुन २००५ मा भारतका लागि डेब्यू गरेका थिए। उनले डेब्यूले खेलमै गोल गरेका थिए। भारतले यही महिना बङ्गलादेश र माल्दिभ्सविरुद्ध खेल्दैछ।