
काठमाडौँ। वुमन्स डे टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङविरुद्ध ६ विकेटको जित निकालेको छ।
जितसँगै चार अंक जोडेको नेपाल पुछारमा रह्यो। हङकङसँगको पहिलो भेटमा नेपाल दुई रनले पराजित भएको थियो। नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोर्दा घरेलु टोली युगान्डासँग एक जित र हारको नतिजा निकालेको थियो। एन्टेब्बे क्रिकेट ओभलमा हङकङले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा चार विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि सम्झना खड्काले ४३ बलमा सर्वाधिक ४७ रनको योगदान गरिन्। यसैगरी पूजा महतोले अविजित २० र कप्तान इन्दु बर्माले १८ रन बनाइन्। हङकङका लागि मेहकदीप कौर र लिया वाङ कीले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो।
हङकङका लागि शन्जिन शहजादले ४७ बलमा सर्वाधिक ५४ रनको योगदान गरिन्। यसैगरी चान का यिङले १६ र यास्मिन दासवानीले १४ रन बनाए। नेपालका लागि राजमति ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले समान एक विकेट लिए। अब नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।