
काठमाडौँ। हङकङ टी २० सिरिजको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार हङकङमा भएको चार देशीय सिरिजमा नेपालले कुवेतसँग ३ रनको हार ब्यहोरेको हो।
नेपालले टी २० अन्तर्राष्ट्रिय खेलमा कुवेतसँग पहिलो पटक पराजित हुँदा उपाधि समेत गुमायो। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती तीन विकेट चार बलको अन्तरमा गुमाएपछि टोली दबाबमा परेको थियो।
नवौं विकेटका लागि नन्दन यादवले बसिर अहमदसँग ७२ रनको साझेदारी गरेपछि नेपाल जित नजिक पुगेको थियो। तर अन्तिम चार बल बाँकी छदा चार रन बनाउँन नसक्दा नेपाल स्तब्ध भयो।
उत्कृष्ट लयमा देखिएका नन्दनले १४ बलमा ३७ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरे। अन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो।
पहिलो बल नो बल हुँदा बसिरले छक्का प्रहार गरेका थिए। त्यसपछि फ्रिहिटमा उनले रन लिन सकेनन्। तेस्रो बलमा पनि रन प्रहार नगरेको बसिर चौथो बलमा भने क्याच हुँदा नेपाल १७१ रनमा अलआउट भयो। बसिरले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८० रन बनाए।
तेस्रो ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ३ रनमा आउट भए। अर्को ओभरको पहिलो बलमा अर्का ओपनर आसिफ शेख ११ बलमा २१ रन जोडेर आउट भए। लगत्तै अर्को बलमा कुशल मल्ल डकआउट भए। त्यसपछि पाँचौ ओभरमा दीपेन्द्रसिंह ऐरी चार बल शून्यमा आउट भए। नेपालले ४।५ ओभरमा सुरूवाती चार विकेट गुमाउँदा २८ रन जोडेको थियो।
कप्तान रोहितकुमार पौडेलले ७ रन मात्र जोड्न सके। सोमपाल कामी ४ रनमा रनआउट भने गुल्सन झा ९ रनमा क्याच भए। करण केसी ४ रनमा क्याच भए।बलिङमा कुवेतका अनुदिपले ३ विकेट लिए। हङकङमा आइतबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो।
आक्रामक सुरुवात गरेको कुवेतका लागि ओपनर रविजा सन्दरुवालने ६३ रन बनाए। उनले ३६ बलमा ६ चौका र ४ छक्क प्रहार गरे। अर्का ओपनर क्लिन्टो अन्तोले १४ बलमा २६ रन बनाए। उस्मान पटेलले १५ बलमा २३ रन र कप्तान मोहमद अस्लामले १३ रन बनाए। बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए। सोमपालले ४ ओभरमा २६ रन र नन्दनले ३४ रन दिए। कुशल भुर्तेल र करण केसीको नाममा १-१ विकेट रह्यो।
यसअघि नेपालले समूह चरणमा कुवेत र कतारलाई पराजित गरेको थियो भने आयोजक हङकङसँगको खेल वर्षाले अवरुद्ध भएको थियो।