
न्यूयोर्क। अमेरिकी उद्योगपति एलन मस्कले आफ्नै राजनीतिक दल गठनको घोषणा गर्दै रिपब्लिकन र डेमोक्रेटिक दुई दलीय प्रणालीलाई चुनौती दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि मस्कले ‘अमेरिका पार्टी’ बनाएको बताएका छन्। उनले अमेरिका पार्टीलाई रिपब्लिकन–डेमोक्र्याटबाट सन्तुष्ट नरहेका ८० प्रतिशत मतदाताको आवाजका रूपमा वर्णन समेत गरेका छन्।
मस्कले घोषणा गरेको पार्टी औपचारिक रूपमा अमेरिकी निर्वाचन आयोगमा दर्ता भएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन भने उनले पार्टीको नेतृत्व कसले गर्ने वा यसको संरचना कस्तो हुनेछ भनेर पनि बताएका छैनन्।
मस्कले किन पार्टी बनाए?
ट्रम्पसँग विवाद हुँदा मस्कले पहिलोपटक नयाँ दलको मुद्दा उठाएका थिए। विवादपछि ट्रम्प सरकारबाट अलग भएर उनी ट्रम्पसँग कडा रूपमा सार्वजनिक बहसमै उत्रिए।
पार्टीको घोषणासँगै मस्कले अहिले सिनेटको २–३ सिट र ८–१० हाउस डिस्ट्रिक्टहरूमा मात्र ध्यान केन्द्रित गर्ने बताएका छन्। अमेरिकामा प्रत्येक दुई वर्षमा सबै ४३५ अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ सिटका लागि चुनाव हुन्छ। यस बाहेक ६ वर्षको कार्यकाल पूरा गर्ने सिनेटका १०० सदस्यमध्ये लगभग एक तिहाइ, प्रत्येक दुई वर्षमा निर्वाचित हुन्छन्। मस्कको नजर ती सदस्यहरूमा छ।
ट्रम्पसँगको विवाद पछि मस्कले एक्समा एक सर्वेक्षण चलाएका थिए, जसमा उनले मानिसहरूलाई ‘अमेरिकामा नयाँ राजनीतिक दल हुनुपर्छ?’ भनेर सोधेका थिए। उनको प्रश्नको उत्तर दिएका धेरैजसो प्रयोगकर्ताहरूले नयाँ पार्टीलाई समर्थन गरेका थिए।
त्यही सर्वेक्षणलाई उल्लेख गर्दै शनिबार मस्कले लेखे, ‘सर्वेक्षणअनुसार तपाईंहरू नयाँ पार्टी चाहनुहुन्छ र अब तपाईंले त्यो पाउनुहुनेछ। हामी लोकतन्त्रमा होइन, अनावश्यक खर्च र भ्रष्टाचारले देशलाई बर्बाद गर्ने पार्टी प्रणालीमा बाँचिरहेका छौं। आज फेरि आफ्नो स्वतन्त्रता दिलाउन ‘अमेरिका पार्टी’ गठन गरिएको छ।’
सन् २०२४ को चुनावमा ट्रम्पका मुख्य समर्थक रहेका मस्कले ट्रम्पको जितका लागि लगभग २५ करोड डलर खर्च गरेका थिए।