वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले
कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ। पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय ढाँचाका रूपमा रूपान्तरण भएको हो।
सामुदायिक वन अहिले सुन्दर, हरियाली हुनुका साथै वन्यजन्तुको वासस्थानमा परिणत भएको सामुदायिक वनका सक्रिय उपभोक्ता कमलप्रसाद चौधरीले बताए। उनका अनुसार केही वर्ष अघिसम्म खुला मैदान, मिचाहा प्रजातिका बिरुवाले भरिएको र चरिचरनले क्षतिग्रस्त यो वन क्षेत्र अहिले साल, अस्ना, बिजयसाल, हर्रो, बर्रो, अमलालगायत प्रजातिका बिरुवाले हराभरा देखिन्छ।
‘पहिले उजाड थियो, खुला चरिचरन नियन्त्रण गर्यौँं, मिचाहा प्रजातिका बिरुवा हटायौँ, मानव प्रवेश निषेध गर्यौै’, ६७ वर्षीय चौधरीले भने, ‘अहिले वन हेर्दै लोभलाग्दो भएको छ।’ उनका अनुसार वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थालेका छन्।
‘चित्तल, बँदेल, नीलगाई, मयुर, वन कुखुरालगायत वन्यजन्तु वनमा फर्किएका छन्’, कोषाध्यक्ष कालुसिंह चौधरी भने, ‘चार दशक अघिसम्म वन क्षेत्रमा वन कुखुरा देखेका थिएनौँ, अहिले वन कुखुरा देखिनु उत्साहजनक परिवर्तनको संकेत हो।’ जंगली जनावरको चहलपहल बढेपछि पानीको व्यवस्थापनका लागि कृत्तिम पोखरी निर्माण गरिएको उनले जानकारी दिए।
सामुदायिक वनका उपभोक्ताले वन क्षेत्र संरक्षण गर्न गर्न पालैपालो डढेलो नियन्त्रण गर्नका लागि अग्नि रेखा निर्माण गर्ने, डढेलो लागेमा सबै मिलेर आगो निभाउने, वनमा नयाँ बिरुवा रोक्नेलगायत कार्य गरेकाले वन पुनः उत्पादनमा टेवा पुगेको कोषाध्यक्ष चौधरीले बताए।
वन संरक्षण भएसँगै उपभोक्ताले सहज रूपमा दाउरा, घाँस, काठलगायत वन पैदावार उपभोग गर्न पाएका सामुदायिक वनका सचिव देवकी नेगीले बताए।
वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर राजवंशीले सामुदायिक वन हराभरा हुनुमा उपभोक्ताको त्याग, समर्पण र वनप्रतिको गहिरो लगावका कारण सम्भव भएको बताए । वन संरक्षणमा टेवा पुर्याउनका लागि उपभोक्ता समितिका पदाधिकारी, सल्लाहकार समिति, कर्मचारीलाई जिम्मेवारी तोकेर कार्य गरिँदै आइएको उनको भनाइ छ।
झाडी सरसफाइ, एक्लाउने, पतल्याउने, अग्नि रेखा निर्माण गर्ने, वनगस्तीलगायत कार्यको जिम्मेवारी बाँडफाँड गरेर प्रगति भएनभएको बारेमा कार्यालयमा छलफल गरी विश्लेषण गरी सोही अनुरूप रणनीति बनाएर संरक्षणका थप गतिविधि गरिँदै आइएको उनले उल्लेख गरे। उनका अनुसार कार्य विभाजनले उपभोक्तामा अपनत्व र सहभागिता वृद्धि हुनुका साथै वनस्पतिको वृद्धिदर र जैविक विविधताको संवर्द्धनमा टेवा पुगेको छ।
‘वन पुनः उत्पादनले हावा, पानी, जमिन र तापक्रमको सन्तुलन कायम राख्न सहयोग पुर्याएको छ’, अध्यक्ष राजवंशीले भने, ‘रूख बिरुवाले जमिन सम्हालेका छन्। पहिलो जस्तो वन क्षेत्रमा भू–क्षयको समस्या छैन, जैविक विविधता सुरक्षित भएको छ, रुखहरूले वर्षा गराउन सहयोग गर्ने भएकाले पोखरी तथा खोलामा पानी सुक्ने समस्या समाधान भएको छ।’
वन पुनः उत्पादन कार्यबाट स्थानीयलाई वृक्षारोपण, हेरचाह, काठजन्य उत्पादन, वनलगायत क्षेत्रबाट आम्दानीको अवसर मिलेको उल्लेख गर्दै उनले सुदृढ वनले सौन्दर्य बढाउनुका साथै पर्यटकीय सम्भावनालाई बढाउने विश्वास व्यक्त गरे।
सामुदायिक वनले काठ, दाउरा, घाँस, बिक्री गरेर आएको आम्दानीबाट समूहले दुई तले भवन, ‘मेशवायर’ जडान, प्रतीक्षालय निर्माण, बलुवा नदीमा पुल निर्माण, महादेव र वनदेवी मन्दिर निर्माण गरी स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको सामुदायिक वनका सल्लाहकार समितिका संयोजक मेघबहादुर कँडेलले बताए।
उनका अनुसार सामाजिक विकासअन्तर्गत घुम्ती कोष, साना व्यवसाय, बेमौसमी तरकारी खेती, पशुपालन र विदेशमा गएका सदस्यलाई पुनः स्थापित गर्न वार्षिक शून्य दशमलव पाँच प्रतिशत ब्याजदरमा सहुलियत ऋण प्रदान गर्दै आइएको छ।
‘यस कार्यले महिला सशक्तीकरण, युवाको स्वरोजगार र विपन्न समुदायको जीवनस्तर सुधारमा योगदान पुर्याएको छ’, सल्लाहकार कँडेलले भने, ‘समूहले स्थानीय टोल समिति सशक्तीकरण, सूचना प्रवाह र सचेतनामूलक गतिविधिमार्फत उपभोक्तासँगको सम्बन्ध मजबुत बनाएको छ।’
सामुदायिक वनको रूपान्तरण केवल वनको हरियालीको मात्र नभई समुदायको सामूहिक चेतना, सहकार्य र दीर्घकालीन सोचको उपज रहेको बताउँदै उनले एउटा उजाड भूभाग आज जीवन, आशा र समृद्धिको हरित थलो बनेको उल्लेख गरे ।
विसं २०६६ माघ २० गतेदेखि विधिवत् रूपमा दर्ता भएको यो सामुदायिक वन एक सय ९७ दशमलव ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सामुदायिक वनमा दुई सय ४९ उपभोक्ता आश्रित छन् भने वार्षिक आय ३० लाखको हाराहारीमा हुने गरेको छ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...




