आइतवार, भदौ १, २०८२
English
Follow us:

भुटानविरुद्ध नेपाली टोली बराबरीमा रोकियो

भुटानविरुद्ध नेपाली टोली बराबरीमा रोकियो

  • खबर सेवा

  • बिहिबार, साउन २३, २०८२

  • 45
    SHARES
भुटानविरुद्ध नेपाली टोली बराबरीमा रोकियो

काठमाडौँ । एएफसी यू २० महिला एसियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानविरुद्ध १(१ को बराबरी खेलेको छ ।

बुधबार राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’को दोस्रो खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। पछिल्लो दुई भेटमा भुटानको पोस्टमा १४ गोल गरेको नेपालले यसपाली कुनै पनि राम्रो आक्रमण बुन्न सकेन।

नेपालले अट्याकिङ मिडफिल्डर सेनु परियारको गोलमा खेल सुरु भएको ३८ सेकेन्ड्समै अग्रता लिएको थियो। अर्की अट्याकिङ मिडफिल्डर सुक्रिया मियाले लेफ्ट साइडबाट दिएको क्रसलाई बक्सभित्र विपक्षी रक्षकको निगरानीमा नरहेकी सेनुले सदुपयोग गरिन् । सेनुले बल नियन्त्रण गर्न दौडिएकी गोलकिपर पेमा याङ्जोमलाई बिट गर्दै सहज गोल गरेकी थिइन् ।

भुटानले १८औं मिनेटमा केल्देन वाङ्मोको गोलमा बराबरी गर्यो । केल्देनले नामसेल वाङजोमको पासलाई सदुपयोग गरिन् । नेपाली गोलकिपर लीला जोशीलाई बिट गर्नुअघि केल्देनले राइट ब्याक सिम्रन राईलाई छक्याएकी थिइन् ।

दोस्रो हाफमा भुटानले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल हार टार्न सफल रह्यो ।

बराबरीसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु(२० एसियन कपको १२औं संस्करणमा छनोट हुने नेपालको लक्ष्यमा धक्का पुगेको छ । समूह ‘ए’मा भुटान र नेपालसँगै साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरिया छन् । उत्तर कोरिया एसियन कप र फिफा विश्वकप दुवैको साविक विजेता हो ।

छनोट प्रतियोगितामा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने यु–२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने सेटअप छ । समूह चरणपछि तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने भएकाले नेपालसँग तुलनात्मक रूपमा कमजोर मानिएको भुटानविरुद्ध तीन अंक हासिल गर्नुबाहेकको विकल्प थिएन ।

नेपालले अब दोस्रो खेलमा शुक्रबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । समूहको अन्तिम खेलमा आइतबार नेपाल र उत्तर कोरिया आमने–सामने हुनेछन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology