
काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट युुवा संघमा असन्तुष्ट पक्षले नयाँ कमिटी विस्तार गरेको छ। माधव नेपाल पक्षले आफूहरूलाई बाइपास गरेको भन्दै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षधर युवाले नयाँ कमिटी गठन गरेका हुन्। घोषित समानान्तर कमिटीको नेतृत्व सञ्जीव राईले गरेका छन् ।
नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै खनाल पक्षले आज सञ्जीव राईको नेतृत्वमा समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको हो ।
पार्टी र संगठनका कार्यकर्तामाथि निषेधकारी व्यवहार भएपछि समानान्तर कमिटी गठन गर्न बाध्य भएको उक्त पक्षकी नेतृ रेखा लोप्चनले बताइन् । काठमाडौंमा आइतबार आयोजित एक भेलाबाट समानान्तर कमिटी गठन भएको हो ।
साउन १७ मा घोषणा गरिएको नेपालपक्षीय रोशन थापा नेतृत्वको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खनाल पक्षका युवा नेताले अस्वीकार गर्दै आएका थिए । राईको नाम उक्त कमिटीको सहसंयोजकको रुपमा दोस्रो नम्बरमा उल्लेख थियो । उनले तत्कालै सामाजिक सञ्जालबाट उक्त जिम्मेवारी अस्वीकार गरेका थिए । फेसबुकमा लेखेका थिए, ‘युवा संघको नाममा जारी भएको कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न संघ सम्वद्ध सम्पूर्ण कमरेडहरु लाई हार्दिक अनुरोध गर्दछु ।’
राई संयोजकत्वको उक्त कमिटीमा झलनाथका छोरा निर्भिक खनाल चित्रकारसहित काभ्रेका भेषकुमार शाह, कालिकोटका अनिल बोगटी, गोरखाकी रेखा तामाङ लोप्चन, इलामका कुनाल राई, कैलालीका बाबुराजा श्रेष्ठ, जुम्लाका मनोज खत्रीसहित छन् ।
युवा संघको यो कमिटीको पक्षमा पार्टी पोलिटव्युरो सदस्य तथा संघका पूर्वअध्यक्ष नरेश शाही, पार्टी केन्द्रीय सदस्य सुशील भट्टराई, बाँके जिल्लाका पार्टी अध्यक्ष दीपक जिएमले समर्थन गरेका छन् ।
विवाद के हो ?
खनालले एमाले विभाजनको औचित्य पुष्टि नभएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि नेपाल–खनाल विवाद सतहमा आए पनि २०८० को प्रारम्भमै युवा र विद्यार्थी संगठनको विषयमा उनीहरुबीच विवादको वीजारोपण भएको थियो । युवा संघका तत्कालीन अध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मन्त्रीसमेत भएपछि जिम्मेवारीबाट अलग भएका थिए । अनेरास्ववियूका तत्कालीन अध्यक्ष सुदेश पराजुलीले पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि अध्यक्षको जिम्मेवारी छोडेका थिए ।
२०८० भदौ १० गते पार्टी सचिवालय बैठकको बहुमतका आधारमा युवा संघ अध्यक्षमा कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूकी अध्यक्षमा आरती लामा चयन भएकी थिइन् । त्यसबेला सचिवालयमा झलनाथ पक्षको बहुमत थियो ।
२०८१ असारमा सम्पन्न पार्टी महाधिवेशनपछि बनेको पार्टीका केन्द्रीय कमिटी र निकायमा झलनाथ पक्षलाई अल्पमतमा पार्दै पार्टीमा माधवपक्ष एकल हावी भएपछि विश्वकर्मा र लामाको जिम्मेवारी खोसिएको थियो ।
त्यसका लागि माघ १४ ग ते अपानि जारी गर्दै ‘पार्टीको केन्द्रीय सदस्य रहेको हुँदा दोहोरी जिम्मेवारीका कारण…’ भन्दै उनीहरुको जिम्मेवारी खोसिएको थियो । त्यसपछि युवा संघमा थापा र अनेरास्ववियूमा महेश श्रेष्ठलाई संयोजक तोकिएको थियो । अनेरास्ववियूका झलनाथपक्षीय कार्यकर्ताले नरेश न्यौपानेको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरिसकेका छन् ।