
काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पनि पराजय ब्यहोरेको छ। नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्स ३१ रनले पराजित भएको हो।
मेलबर्न स्टार्सले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि असिफ शेख अर्धशतक प्रहार गरे। उनले ५० बलमा ५३ रन प्रहार गर्दै रनआउट भए। कप्तान रोहित पौडेल ३३ रन प्रहार गरेर आउट भए। कुशल मल्ल ११ रनमा आउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो।
ब्लेक म्याकडोनाल्ड र थोमस रोजर्सले अर्धशतक प्रहार गरेका थिए। मेलबर्नका म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे।
ओपनर थोमसले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १२२ रनको विशाल साझेदारी गरेका थिए।
१३।१ ओभरमा सन्दीप लामिछानेको बलमा भीम सार्कीले म्याकडोनाल्डलाई क्याच गर्दै आउट गरेर यो साझेदारी तोडे।
अन्य ब्याटरको राम्रो प्रदर्शन हुन सकेन। नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। सोमपाल कामी र शहाब आलमको नाममा समान एक विकेट रह्यो।
यसअघि नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी तथा दोस्रो खेलमा बंगलादेश ए सँग पराजित भएको थियो।