
काठमाडौँ । आफ्नै जिल्लाभित्र पर्ने लिपुलेक-कालापानी क्षेत्रलाई भारत र चीन आफ्नो स्वार्थअनुरूप व्यापार सम्झौता गरेको भन्दै जिल्ला कमिटी दार्चुलाले कडा असन्तुष्टि जनाएको छ।
नेपालको अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता भएपछि भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो ।
एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्याउने गरी भएको गतिविधि अस्वीकार्य भएको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ´नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन । यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो ।`
एमालेले नेपाल सरकारलाई तत्कालै कूटनीतिक पहल गर्न र नेपाल–भू–अधिकारको संरक्षणका लागि ठोस कदम चाल्न जोडदार माग गरेको छ ।
यस घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै भारत–चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा यसले नकारात्मक असर पार्ने चेतावनी एमालेले दिएको छ ।
दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वानसमेत गरेको छ।