अर्थ

पुर्ख्यौली पेशामा रमाउँदै रामु

गुल्मी। अहिले देशभर तिहारको रौनक छाएको छ। दीपावलीको उज्यालोसँगै घर–आँगनमा झलमल्ल बत्ती बलेका छन्। नेपालका हरेक कुनामा बत्ती, रङ र संगीतको छटा छरिएको छ। बत्तीको यो पर्व तिहार केवल पूजापाठ र बत्तीमात्र होइन, संगीत र उत्सवको पनि पर्व हो। देउसी र भैलोको लयसँग जोडिएको यो पर्वले गाउँ–सहरलाई एकसाथ नाँच्न र गाउन प्रेरित गर्छ।

तिहारसँगै मादल, बाँसुरी, खैजडी र पञ्चेबाजाको माग निकै बढ्ने गर्छ। परम्परागत रुपमा भैलो खेल्दा, सोरठी गाउँदा वा मारुनी प्रस्तुत गर्दा मादलको तालले नै उत्सवमा जीवन भर्ने गर्छ। यही मादल आज पनि पश्चिम नेपालको सांस्कृतिक पहिचान बनेको छ। त्यही परम्परा र पहिचानलाई निरन्तरता दिँदै तम्घास बजारमा ३८ वर्षीय रामु नेपाली विगत चार वर्षदेखि मादल व्यवसायमा जुटिरहनुभएको छ।

गुल्मीको छिमेकी जिल्ला बाग्लुङ नगरपालिका–२ गल्कोटका स्थायी बासिन्दा रामु अहिले तम्घासमा ‘गल्कोटे मादल पसल’ सञ्चालन गर्दै आउनुभएको छ। रामुका बुबा डिलबहादुर नेपाली पनि करिब १० वर्षभन्दा बढी यही पेशामा संलग्न हुनुहुन्थ्यो। पुर्ख्यौली सीपलाई निरन्तरता दिने उद्देश्यले रामुले पनि बाल्यकालमा बुबासँगै मादल बनाउने सीप सिक्नुभएको थियो।

रामुको जीवनयात्रा भने सजिलो थिएन्। उहाँले भारतमा १३ वर्ष र कतारमा दुई वर्ष घाम–पसिनाको परिश्रम गर्नुभयो। तर, विदेशको तातो घाम र कठिन श्रमपछि उहाँले आफ्नै देशमा केही गर्ने दृढ निश्चय गर्नुभयो। “विदेशमा ५०/६० डिग्रीको घाम खाएर काम गर्नु भन्दा आफ्नै देशमा केही गर्ने मन भयो, त्यसैले पुर्ख्यौली पेशा अंगालेको हुँ।,” रामु भन्नुभयो।

हाल उहाँले घरभाडामा लिएर पसल सञ्चालन गर्दै आउनुभएको छ। उहाँको पसलमा मादलका साथै ढोलकी, खैजडी, सारङ्गी र पञ्चेबाजाका सामग्री पनि उपलब्ध छन्। मादल बनाउनका लागि चाहिने काठ–खमरी, गयलो, सिरिस र उत्तिस मुख्य रुपमा प्रयोग गरिन्छ। उहाँका अनुसार पहिला गाईगोरूको छाला सजिलै पाइन्थ्यो, अहिले भने भारतबाट आयात गर्नुपर्ने बाध्यताले लागत बढाएको छ।

मादल तयार गर्न अहिले मेसिनको प्रयोग गरिने हुँदा काम गर्न सजिलो बनेको छ। तर, त्यसै पनि एउटा मादल बनाउन चार दिनसम्म लाग्छ। रामुले अहिलेसम्म आफ्नै हातले दुई भन्दा बढी मादल बनाइ सक्नुभएको छ। तिहार र तीजजस्ता पर्वका समयमा उहाँका मादलहरुको बिक्री निकै नै बढ्छ। मादलको मूल्य साइजअनुसार फरक–फरक हुन्छ। साना मादल दुई ५०० रुपियाँदेखि ठूला आठहजार रुपियाँसम्ममा बिक्री हुन्छन्। सम्पूर्ण खर्च कटाएर उहाँले वार्षिक डेढ लाख रुपैयाँसम्म बचत गर्न सफल भएको बताउनुभयो।

उहाँको व्यवसायमा श्रीमती र दुई छोरीले पनि सहयोग गर्नुहुन्छ। परिवारकै सहकार्यले मादलको तालमा जीवनयात्रा रमाइलो बनेको नेपालीको भनाइ छ। गुल्मीको राजा रुन्खा, सिमिचौर, बाल्काटे, इस्मा, शान्तिपुरको बजेनी र बलेटक्सार लगायतका विभिन्न ठाउँमा पनि मादल बनाउने परम्परा जीवित छ। गाउँमा विवाह, देउसी–भैलो र अन्य उत्सवका बेला मादलको माग अझै बढ्ने गर्छ।

पछिल्लो समय नयाँ पुस्ता गितार, ड्रम, डीजे जस्ता आधुनिक संगीतमा आकर्षित भए पनि मादलको धुन अझै पनि नेपालीपनको आत्मा बोकेको छ। रामु भन्नुहुन्छ, “मादलको तालमा हाम्रो संस्कृतिको लय छ। जबसम्म त्यो लय बाँचिरहन्छ, हाम्रो पहिचान बाँचिरहन्छ।” रासस

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...