अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत अतिरिक्त कर वृद्धि

वासिङ्टन/ओन्टारियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाबाट आयात हुने सामानमा १० प्रतिशत थप कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ। यो निर्णय क्यानाडाले प्रसारण गरेको एन्टी–ट्यारिफ विज्ञापनको प्रतिक्रियामा आएको हो। उक्त विज्ञापनमा दिवंगत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको थियो, जसलाई ट्रम्पले ‘नक्कली र भ्रामक’ ठहर गर्दै दुई दिनअघि नै क्यानाडासँगका सबै व्यापार वार्ता समाप्त गर्नुभएको थियो।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “उनीहरूले विज्ञापन तुरुन्तै हटाउनुपर्ने थियो, तर विश्व शृङ्खलाको समयमा समेत प्रसारण भयो। तथ्यहरूको गम्भीर गलत प्रस्तुतीकरण र शत्रुतापूर्ण व्यवहारका कारण म क्यानाडामाथि हाल तिर्दै आएको करमा १० प्रतिशत वृद्धि गर्ने आदेश दिन्छु।”

ओन्टारियो प्रान्तको विज्ञापनमा सन् १९८७ मा राष्ट्रपति रेगनले दिएको व्यापारसम्बन्धी रेडियो सम्बोधनका अंशहरू प्रयोग गरिएको थियो। उक्त सम्बोधनमा रेगनले उच्च भन्सार शुल्कले विदेशी देशहरूको प्रतिशोध निम्त्याउन सक्ने र गम्भीर व्यापार युद्ध निम्त्याउने चेतावनी दिनुभएको थियो। रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरीको वेबसाइटमा उपलब्ध भाषणसँग मेल खाने उद्धरणमा भनिएको छ,

“उच्च भन्सार शुल्कले विदेशी देशहरूको प्रतिशोध निम्त्याउँछ र गम्भीर व्यापार युद्धको रूप लिन्छ।”

यसैबीच, रोनाल्ड रेगन फाउन्डेसनले ओन्टारियो सरकारले ‘चयनात्मक अडियो र भिडियो’ प्रयोग गरेको आरोप लगाउँदै कानुनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ। विज्ञापन विवादको समयमा क्यानाडाको टोली टोरन्टो ब्लू जेन्स बेसबल विश्व शृङ्खलामा अमेरिकी टोली लस एन्जलस डोजर्ससँग प्रतिस्पर्धा गरिरहेको थियो। शुक्रबारको पहिलो खेलमा ब्लू जेन्सले डोजर्सलाई ११–४ ले पराजित गरेको थियो।

ओन्टारियो सरकारले सोमबार आपत्तिजनक विज्ञापन फिर्ता लिन र वार्ता पुनः सुरु गर्न तयार रहेको जनाएको थियो, तर शनिबार राति दोस्रो खेलको प्रसारणमा विज्ञापन फेरि देखाइएको थियो। ट्रम्प प्रशासनका विश्वव्यापी कर नीतिहरू—विशेष गरी स्टिल, एल्युमिनियम र अटो उद्योगमा—क्यानाडाको अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको छ। यी नीतिका कारण क्यानाडामा रोजगारी गुम्ने र व्यवसायमा दबाब बढ्ने अवस्था आएको छ।

हाल संयुक्त राज्य अमेरिका र क्यानाडा युएसएमसिए (उत्तर अमेरिकी व्यापार सम्झौता) अन्तर्गत व्यापार गर्दै आएका छन्, जसले दुवै देशबीच करिब ८५ प्रतिशत सीमापार व्यापार करमुक्त बनाएको छ।

बुधबार दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा राष्ट्रपति ट्रम्प र क्यानाडाली प्रधानमन्त्री मार्क कार्नी दुवै सहभागी हुने कार्यक्रम छ, तर ट्रम्पले कार्नीलाई भेट्ने कुनै योजना नरहेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय समाचार समिति /एएयफपी

 

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...