ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा
टोकियो। अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्धलाई “नयाँ स्वर्ण युग” मा प्रवेश गराउने घोषणा गर्नुभएको छ।
जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा निभाएको भूमिकाको प्रशंसा गर्दै उहाँलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ। एसिया भ्रमणको दोस्रो चरणमा जापान आइपुग्नुभएका राष्ट्रपति ट्रम्पले ताकाइचीसँगको भेटमा जापानलाई “सबैभन्दा बलियो सहयोगी” भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। “हामी सबैभन्दा उच्च स्तरका सहयोगी हौँ र तपाईंसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो,” ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भन्नुभयो।
ताकाइचीले थाइल्यान्ड–कम्बोडिया युद्धविराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई “ऐतिहासिक उपलब्धि” भन्दै प्रशंसा गर्नुभयो। उहाँले जापान–अमेरिका गठबन्धनलाई “बलियो र समृद्ध स्वर्ण युग” मा रूपान्तरण गर्ने दृढता पनि व्यक्त गर्नुभयो।
महत्त्वपूर्ण खनिज आपूर्तिमा नयाँ सम्झौता
दुवै नेताले महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वी तत्वहरूको आपूर्ति शृङ्खला सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर गर्नुभयो। यो सम्झौता चीनले दुर्लभ पृथ्वी उद्योगमा लगाएको प्रतिबन्ध र अमेरिकी आयातमा ट्रम्प प्रशासनले घोषणा गरेको १०० प्रतिशत करको प्रतिक्रियाका रूपमा आएको हो। ट्रम्पले जापानी खेलाडी शोहेई ओहतानी र यामामोटोको वर्ल्ड सिरिज खेल हेर्दा ढिलो भएको भन्दै क्षमायाचना पनि गर्नुभयो।
व्यापार र सुरक्षा एजेन्डामा प्रगति
मलेसिया भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दक्षिण कोरियाली वार्ताअघि टोकियो आइपुग्नुभएका ट्रम्पको यो भेटले व्यापार तनाव घटाउने आशा जगाएको छ। टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार ताकाइचीले रक्षा बजेटलाई कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को दुई प्रतिशतमा पुर्याउने लक्ष्य अगाडि सारेर अमेरिकाको दबाब घटाउने प्रयास गर्नुभएको छ।
हाल जापानमा करिब ६० हजार अमेरिकी सैनिक तैनाथ छन् र वासिङ्टनले टोकियोलाई अझ बढी रक्षा खर्च बढाउन आग्रह गर्दै आएको छ।
आर्थिक र व्यापारिक पक्ष
ताकाइचीले गत हप्ता प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएको हो। उहाँले चीनसँग बढ्दो तनावबीच जापानले बलियो रक्षा नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ट्रम्पले मङ्गलबार योकोसुकास्थित अमेरिकी विमानवाहक जहाज यूएसएस जर्ज वासिङ्टन मा सैनिकहरूलाई सम्बोधन गर्ने र टोयोटाका अध्यक्षसहित व्यापारिक नेताहरूसँग रात्रिभोज गर्ने कार्यक्रम तय गरिएको छ।
अमेरिकामा जापानी आयातमाथि अहिले १५ प्रतिशतसम्म भन्सार शुल्क लगाइएको छ, जसले सेप्टेम्बरमा अमेरिकी कार निर्यातमा २४ प्रतिशत गिरावट ल्याएको छ। जापानको कार उद्योगले देशको करिब ८ प्रतिशत रोजगारी प्रदान गर्छ। ह्वाइट हाउसका अनुसार जुलाईमा तय गरिएको व्यापार सम्झौता अन्तर्गत जापानले अमेरिकामा ५ खर्ब ५० अर्ब डलर लगानी गर्नेछ।
सम्बन्ध सुदृढीकरण र भविष्यको संकेत
पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग ट्रम्पको घनिष्ठ सम्बन्ध रहेकाले ताकाइचीका लागि नयाँ सम्बन्ध स्थापनामा चुनौती हुने अनुमान गरिएको छ। ट्रम्पले ताकाइचीलाई “मेरो मित्र आबेका महान उत्तराधिकारी” भन्दै प्रशंसा गर्नुभएको छ। अब ट्रम्पको मुख्य लक्ष्य चीनसँगको व्यापार सम्झौता रहेको छ। उहाँले बिहीबार दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारी गर्नुभएको छ र त्यसपछि उत्तर कोरियाली नेता किम जोङ–उनसँग सम्भावित भेटको सङ्केत पनि दिनुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




