खेलकुद

अमेरिकासँग नेपाल फेरि पराजित

काठमाडौं। नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा‌ लगातार तेस्रो हार बेहोरेको छ।

आफ्नो तेस्रो खेलमा आज नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ। प्रतिस्पर्धात्मक लक्ष्य दिएपनि बलरहरु अमेरिकाको बलियो ब्याटिङ सामू निष्प्रभावी रहे ।

२ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । साइतेजा मुकमल्ला र मिलन्द कुमारले चौथो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै अमेरिकाका लागि जितको बलियो आधार तयार पारेका थिए।

साइतेजाले ७५ र मिलन्दले ७० रनको इनिङ खेलेका थिए।
अन्तिम दुई ओभरमा अमेरिकालाई जितका लागि १६ रनको आवश्यकता थियो।

४९ औं ओभरमा नन्दनले २ छक्का र २ वाइडसहित १७ रन खर्चेपछि नेपाल पराजित भएको थियो। आजको खेलमा नेपालको फिल्डिङ पनि कमजोर रह्यो । सन्दीप लामिछानेको बलमा गुलशन झा र दीपेन्द्र सिंह ऐरीले क्याच छोड्नु नेपालका लागि महंगो सावित भयो।

हर्मित सिंह १३ र शुभम रन्जने १९ रनमा अविजित रहे।
नेपालका लागि सन्दीपले ३, करण केसी, नन्दन र गुलशन ले समान १ विकेट लिए।

त्यसअघि नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ७१ रन जोड्यो । दुबईस्थित आइसिसी एकडेमीको मैदानमा अमेरिकाले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको थियो ।

नेपालका लागि मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ७५ रनको आक्रामक इनिङ खेल्दै नेपाललाई राम्रो स्कोरसम्म पुर्याएका थिए । ४६ औं ओभरमा आउट हुनुअघि उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल (४७), भीम सार्की (४३) र रोहित पौडेल (३६) ले राम्रो सुरुवात पाएपनि त्यसलाई ठुलो स्कोरमा बदल्न सकेनन् । करण ले तल्लोक्रममा आक्रामक इनिङ खेलेपछि नेपालले २ सय ५० को आँकडा पार गरेको थियो । उनी अर्धशतकबाट १ रनले चुके ।

त्यसअघि नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएर खराब सुरुवात पाएको थियो । आसिफ पहिलो बलमा २ रन कुदेपछि दोस्रो बलमा नोस्थस केंजिगेबाट बोल्ड भए ।

त्यसपछि कुशल र भीमले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । २० औं ओभरमा कुशल ठूलो सट खेल्ने धुनमा हर्मित सिंहको बलमा क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । उनले ६५ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए ।

त्यसको २ ओभरपछि नै भीम पनि हर्मितकै शिकार बने । ५८ बलमा ४ चौकासहित ४३ रनमा खेल्दा उनी बोल्ड हुन पुगेका थिए । आरिफ शेख पनि लामो समय क्रिजमा रहन सकेनन् । ८ बलमा २ रन जोड्दै उनी सौरभ नेत्रभलकरको बलमा क्याच आउट भए । उनी आउट हुँदा टिम १०६-४ को स्थितिमा पुग्यो ।

पाँचौ विकेटका लागि दीपेन्द्र र रोहितले ८९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा ल्याए । ३५ रन जोडेका रोहितले ३८ औं ओभरमा हर्मितको बलमा क्याच हुनुअघि ४६ बल खेल्दै २ चौका प्रहार गरे । गुलशन ११ बलमा ५ रन जोड्दै जस्दिप सिंहको बलमा क्याच आउट भए ।

तल्लोक्रममा करणले आक्रामक ब्याटिङ गरे । उनले ४९ औं ओभरमा आउट हुनुअघि ३१ बलमा ४९ रन जोडे । करणले २ चौका र ३ छक्का प्रहार गरे । अन्तिम बलमा जस्दिपले वाइड फ्याँक्दा सिंगल लिने सुरमा ललित रनआउट हुँदा नेपाल १ बल बाकी रहँदा अलआउट भएको थियो ।

अमेरिकाका लागि हर्मितले ३ विकेट लिँदा नोस्थस केन्जिगे र सौरभ नेत्रभलकरले २-२ विकेट हात पारे । शुभम रन्जने र जस्दिप सिंहले १-१ विकेट लिए ।

अमेरिका जारी सिरिजको लगातार ३ खेलमा विजयी भयो । अंक तालिकामा नेपाल (१२) सातौं तथा अमेरिका (३४ अंक) शीर्ष स्थानमा छ ।

सम्बन्धित समाचार

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...