थपिए छ हजारभन्दा बढी मतदाता
धनगढी । सुदूरपश्चिम प्रदेशमा छ हजार २१२ नयाँ मतदाता थपिएका छन् । फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य भइरहेको छ । असोज १० देखि कात्तिक १७ सम्म यस प्रदेशमा चार हजार ८३ पुरुष, दुई हजार १२७ महिला र दुई अन्य गरी छ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक हजार १९५ पुरुष र ६५३ महिला गरी एक हजार ८४८ नयाँ मतदाता थपिएका छन् । यस्तै कञ्चनपुरमा पुरुष एक हजार ५३ र महिला ५४० गरी एक हजार ५९३ नयाँ मतदाता थपिएको निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।
यसै गरी डडेलधुरामा पुरुष १२६ र महिला ६५ गरी १९१, डोटीमा पुरुष १७० र महिला ७५ गरी १९१ नयाँ मतदाता थपिएका छन् । बैतडीमा पुरुष २९३ र महिला १५५ गरी ४४८, अछाममा पुरुष ४१४ र महिला २११ गरी ६२५ नयाँ मतदाता थपिएका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यस्तै बझाङमा पुरुष ३६३ महिला १७९ गरी ५४२ जना, बाजुरामा पुरुष २१९, महिला १२२ र अन्य दुई गरी ३४३ नयाँ मतदाता थपिएका जनाइएको छ ।
जेनजी आन्दोलनपछि गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ । जेनजी बलिदानपछि हुन लागेको आमनिर्वाचनका लागि जेनजी मतदाताले पनि मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् । मतदाता नामावली दर्ता गराउनका लागि उत्साहजनक रूपमा मान्छेहरू आइरहेको निमित्त प्रमुख जोशीले जानकारी दिनुभयो ।
“मतदाता नामावली दर्ता गराउनेको भिड अझै कायमै छ,” उहाँले भन्नुभयो, “हामी बेलुका ६ बजेसम्म अफिस खोल्ने गरेका छौँ ।” कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य हुने छ ।
निर्वाचन तयारीमा दलहरू
खलङ्गा समाचारदाताका अनुसार सरकारले घोषणा गरेको आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन यहाँका राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।
दलहरू पार्टीका गाउँ र वडास्तरका सङ्गठनलाई सक्रिय बनाउने कार्यमा लागेका हुन् । नेपाली कांगे्रस जिल्ला कार्य समिति दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीका अनुसार कांग्रेसले वडा समितिमार्फत नयाँ मतदातालाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह र सहयोग गरिरहेको छ भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पनि गाउँ कमिटीमार्फत क्रियाशील सदस्य र मतदातालाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरिरहेको बुझिएको छ ।
कांग्रेसले केन्द्रको परिपत्र अनुसार गाउँ समितिमार्फत मतदाता र सदस्यता अपडेट गर्ने कार्यको सुरुवात गरेको सचिव कार्कीले बताउनुभयो । निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल गर्न बिहीबार पार्टीको जिल्ला बैठक बस्ने पनि उहाँले बताउनुभयो । तत्कालीन नेकपा ९माओवादी केन्द्र० का जिल्ला समन्वय समितिका सचिव विनोदसिंह कुँवरका अनुसार पार्टीको आधिकारिक निर्णय नभए पनि गाउँस्तरमा सङ्गठन र कार्यकर्तालाई क्रियाशील बनाउने कुराको तयारी भइरहेको छ ।
पार्टी एकता भएको छ अब बृहत् रूपमा निर्वाचनको तयारीमा लाग्ने उहाँले बताउनुभयो । दार्चुला एमालेका नेता तथा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य नगेन्द्रसिंह तिङ्करीका अनुसार पार्टीले कात्तिक २५ गते पालिकास्तरमा र कात्तिक २९ गते जिल्लास्तरमा आमसभाको आयोजना गर्ने तयारी गरिरहेको छ । निर्वाचन हुनेमा आफूहरू ढुक्क नभएको भन्दै तत्काल निर्वाचनसम्बन्धी कुनै पनि तयारीमा नलागेकोे जिल्ला सचिव उमेश जोशीले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सदस्यता वितरण तथा मतदाता नामावलीमा नाम दर्ता गराउन जेनजी पुस्तालाई प्रेरित गराइरहेको जिल्ला संयोजक राजेशसिंह सामन्तले बताउनुभयो । यसैबिच दार्चुलामा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेमा उत्साह देखिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




