काठमाडौं। सनातन हिन्दु राष्ट्रको एजेण्डा अघि बढाउँदै आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनःस्थापनाका लागि आफू बलिदान गर्न तयार रहेको बताउनुभएको छ।
मंगलबार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा उहाँले यस्तो स्पष्ट पार्नुभएको हो। भण्डारीले आफू राजावादी नभए पनि मुलुकको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदान दिन तयार रहेको बताउनुभएको हो।
उहाँले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको र त्यसका कारण आफू बदनाम भएको आरोप समेत लगाउनुभयो।
‘म राजावादी होइन, तर राजा देशको लागि आवश्यक भयो। त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु। परिआए बलिदान दिन पनि तयार छु। पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइनौं। पद प्राप्तिका लागि मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ। म दुःखका साथ भन्छु काँग्रेसभित्र पनि त्यस्तो चरित्र हावी भएको कारणले आज म बदनाम भएको छु। म भ्रष्टाचारी काँग्रेस भएको छु,’ भण्डारीले भन्नुभयो।
भण्डारीले हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गरेको आरोप लगाउनुभयो।