समाचार

गलेश्वर मन्दिरको गजुरमा सुनको जलप

म्याग्दी। दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले रु चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर/सुनौलो रङ र गजुरमा सुनको जलप लगाउनुभएको हो ।
गलेश्वर मन्दिर विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार कोषको निर्णय र स्वीकृति लिएर पुनले रङरोगन र जलप लगाउनुभएको हो । कोषका उपाध्यक्षसमेत रहनुभएका उहाँले यसअघि व्यक्तिगत लगानीमा गलेश्वर मन्दिरमा रहेको शिवजीको ज्योतिएलिङ्गमा चाँदीको मुकुटले छोप्नुभएको थियो ।
जलप लगाउन प्रयोग भएको सात ग्राम सुन खरिदमा रु एक लाख ५१ हजार, २७ लिटर सुनौलो रङ खरिद, ढुवानी र ज्यालामा रु दुई लाख ३६ हजार खर्च भएको पुनले जानकारी दिनुभयो । गलेश्वर मन्दिरको छानो पित्तल र गजुर तामाको छ । यसअघि विसं २०७७ मा कोषको रु २७ लाख आन्तरिक आम्दानीबाट र सहयोगदाता रमेश शर्माको रु पाँच लाख ५५ हजार ५५५ मा मन्दिरको छानोलाई पित्तलले छाइएको थियो । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर गलेश्वर मन्दिर निर्माण गर्नुभएको थियो ।
रङरोगन र सुनौलो जलप लगाएपछि गलेश्वर मन्दिर चम्किलो र आकर्षक देखिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएर उत्पत्ति भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा यहाँ मेला लाग्ने गर्दछ भने दैनिक नित्य पूजाआज हुन्छ ।
यस मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँका अनुसार यस मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोगबाट सङ्कलित रकम पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिँदै आइएको छ ।
यस वर्ष बेनी नगरपालिकासँगको साझेदारीमा गलेश्वर बजार सौन्दर्यकरण योजना सञ्चालन र गलेश्वर मन्दिर परिसरमा उज्यालोका लागि १८ मिटर अग्लो तीन हजार २०० वाट क्षमताको ‘हाइमाक्स लाइट’ जडान गर्न लागिएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक तथा सङ्गितमय बनाउन सात ठाउँमा ‘स्पीकर’ जडान गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सात घाइते

बागलुङ । बागलुङमा बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । गलकोट नगरपालिका-३ हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको...

काठमाडौँ महानगरले अघि सार्यो टुँडिखेललाई व्यवस्थित बनाउने योजना

काठमाडौँ महानगरले अघि सार्यो टुँडिखेललाई व्यवस्थित बनाउने योजना

काठमाडौं। काठमाडौँ महानगरपालिकाले टुँडिखेललाई व्यवस्थित बनाउने योजना अघि बढाएको छ। महानगरले टुँडिखेलको सैनिक मञ्च दक्षिणपट्टि रहेको मैदानलाई हरियाली बनाउने...

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला...

लागुऔषधसहित सातजना पक्राउ

लागुऔषधसहित सातजना पक्राउ

झापा। लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।...