पाँचपोखरी यात्राको अदभुत अनुभव
यात्रा प्रेमी र घुमफिरलाई मनपराउने मान्छे म। तर, समय अभावले मन परेको ठाउँ घुम्न जान नपाइने।
काठमाडौंमा बिहानै देखि कलेज अनि दिउँसोमा काम। फुर्सद निकाल्न निकै गाह्रो। समय र इच्छा नमिल्दा घुम्ने रहर पुरा नहुने।
मौका मिल्दा घुम्न जाने सपनाको गन्तब्यको लिष्टमा पाँचपोखरी थियो। जुन गतहप्ता कलेजले त्यो मौका जुराइदियो।
म पढ्ने सेफर्ड कलेजले हामीलाई पाँचपोखरी लैजाने भनेपछि मनभित्र उत्साही भयो।

मेरो घुम्ने लिष्टको ठाउँ कलेज र साथीहरुको रोजाइमा परेपछि के नै चाहिन्थ्यो र! तुरुन्तै आफ्नो ट्रेकिङ ब्याग समातेँ, कपडा, खानेकुरा, व्यक्तिगत सामग्री राखेर आइतबार बेलुकी नै प्याकिङ गरेँ र भोलिपल्ट मंसिर ८ गते पाँचपोखरी तिर लाग्यौं।
हाम्रो सात जनाको टोली थियो। पाँच जना साथीहरु स्कोर्पियोमा र दुईजना बाइकमा । हामी बनेपा–धुलिखेल–पाँचखालदेखि कुन्ताबेशीहुँदै मेलम्चीसम्म सुन्दर फाँटको खेतपाती, बस्ती, पहाडसँगै कुरा गर्दै यात्रा गर्यौं।
बाटोमा राजनीति, समाज, मिडिया, व्यक्तिगत अनुभव सबै मिसिएको रोचक गफ चले। संगै गन्तब्यको उत्साह र दृष्य पनि मिसिएर आए।
हामी मिडियाका विद्यार्थी भएकाले देशको राजनीतिक परिवेशबारे कुरा हरेक गतिविधिमा स्न्याक्स बनेर आउँछ।
मेलम्चीसम्मको बाटो त सजिलो थियो, तर त्यहाँबाट भने कच्ची, साँघुरो। खोला, पाखा र झरना दृष्य पार गर्दै यात्रा अघि बढ्दै गयो। बाटोमा तामाङ बस्ती, गुम्बाहरू, पहाडको जीवनशैली हेर्दै जाँदा यात्रा झन् रमाइलो बनिरह्यो।
झमक्क साँझ पर्नुअघि नै हामी छिम्ति पुग्यौँ। त्यहीसम्म मात्र गाडी जाने रहेछ। छिम्तिकै एउटा होटेलमा बस्ने निर्णय गर्यौं। होटल सफासुग्घर र खानबस्नका लागि निकै राम्रो रहेछ।
…

दोस्रो दिन, बिहान छ बजेदेखि नै हाम्रो सात जनाको टोलीले छिम्तिबाट पैदल यात्रा सुरु गर्यो। योजना थियो देउरालीमा नास्ता, टुप्पीडाँडामा लन्च।
यात्रा सुरु भएको १० मिनेटमै एउटा झोलुङ्गे पुल र झरना भेटिए; केही बेर हामी फोटो भिडियो बनाएर रमायौँ। त्यसपछि ढुंगाले छापिएको उकालो बाटो चढ्दै करिब एक घण्टामा देउराली पुग्यौ। त्यहाँ बिहानको नास्ता खायौँ।
माथि बिजुली र मोबाइल नेटवर्क नहुने थाहा पाउँदा हामीलाई फरक अनुभूति भयो। जतिबेला मोबाइलमा व्यस्त हामीलाई त्यसपछि पूर्ण रूपमा प्रकृतिमा, आफैंभित्र र यात्रामा सीमित हुँदै थियौँ।
देउरालीबाट उकालो चढ्दै आधा घण्टा हिँडिसक्दा लाङटाङ राष्ट्रिय निकुञ्जको टिकट काट्ने ठाउँ आयो। पाँचपोखरी जान निकुञ्ज प्रवेश अनिवार्य रहेछ, त्यसैले सबैका लागि टिकट लियौं।
त्यसपछि त ठाडो उकालो। ढुङ्गा, काठे बाटो हुँदै यात्रा कठिन र रोचक हुँदै गयो। बाटोमा एउटा सुन्दर झरना भेटियो, जहाँ फोटो खिँच्ने र पानीको बोतल भर्ने मौका पायौं।
बाटोमा स्थानीयहरू भेट्दा उनीहरुको जीवनसँग जोडिने मौका मिल्यो। डोकोमा भारी बोकेर सहजै बाटो छिचोल्दै थिए उनीहरु।
हामी एकदिन हिँड्नेलाई रमाइलो ठाउँ भएपनि स्थानीयको त्यो दैनिक नियति थियो।
घुम्न गएका हामीलाई आफ्नो सानो ब्याग भारी हुने। उनीहरुलेले गहौं भारी दैनिक बोकेर आफ्नो जीवन चलाएका छन्।
हाम्रो टोलीमा अनुभवी र नयाँ यात्रु थिए। आस्था शर्मा म्याम त आठ पटक ट्रेक गरिसक्नु भएकी, प्रस्तुत सर दसभन्दा बढी पटक।
पत्रकार कल्पना दिदी लाङटाङ ट्रेकिङ गरेर फर्किनुभएकी। साथी दिपेश मार्दी र अपि हिमाल बेस क्याम्प सम्म पुगिसकेको र सुस्मिता त बेला–बेला आइकिङ जाने। म र सुजन दाई भने पूर्ण नवयात्री। धेरै उकालो र लगातार हिँडेको अनुभव थिएन।

हाम्रो गाइड स्थानीयहरूले पालेको कुकुर। नाम थियो “चस्मिस।” हामी गलत दिशातिर लाग्न लागे तुरुन्तै फर्केर हेरिदिन्थ्यो। बाटोमा वरपर फर्कँदै आएका यात्रुलाई अब ‘कति बेर लाग्छ?’ सोध्दै हामी अघि बढ्यौं। कसैले भन्थे, “आज बेलुकासम्म पुग्नुहुन्छ। कसैले भोलि बिहान पुगिन्छ भन्ने।
थकाइ र खुट्टा गलेर पाइला चाल्नै गाह्रो हुने। हामी बिस्तारै आराम गर्दै, चकलेट, चाउचाउ खाँदै, दिउँसो एक बजे टुप्पीडाँडा पुग्यौँ।
त्यहाँको होमस्टेमा खाजा खाइयो, आधाघण्टा आराम गरेर फेरि उकालो सुरु।
करिब चार घण्टापछि साँझ पर्न थालेको बेलामा हामी चोकरडाँडा पुग्यौँ। चिसो बढिसकेको थियो, हावा चल्दै थियो, दिन छोटिँदै। त्यसैले त्यहीँ बसेर आराम गर्ने निर्णय गरियो।
होटलमा तीन महिनाकी सानी बालिका—दीपा—र उनकी २० वर्षकी आमा संजना तामाङसँग भेट भयो। संजना दिदी तीन महिनाकी सुत्केरी र छिम्तिमा घर भएपनि व्यवसायका लागि चोकरडाँडामा बसेकी रहिछन्। राती आगो ताप्दै, यात्राका दुखाइ, मजा, गफसबै गर्दै करिब १० बजेतिर सुत्यौं। विशेष गरी आस्था म्याम, सुजन दाइ, र हामी तीनजनालाई उकालोले निकै थकाएको थियो।
…

तेस्रो दिन, बिहान छ बजे उठेर तातोकफी पिएपछि हामी फेरि अघि बढ्यौँ।
चिसो अत्यधिक भएकोले सबैले ज्याकेट, ग्लोभ्स, टोपी , बाक्ला कपडा लगाएका थियौँ। एक घण्टापछि नोर्समपाटी पुग्यौं, जहाँबाट लाङटाङ हिमालको अद्भुत हिमशृङ्खला देखिन्थ्यो। हामी केहीबेर मुग्ध भएर त्यहीँ उभियौँ।
नास्ता खाएर अब आज भने पाँचपोखरी पुग्छौं भन्ने उत्साहसाथ अगाडि बढ्यौं। पाँचपोखरी ४१०० मिटर उचाइमा रहेको नाग कुण्ड, सूर्य कुण्ड, सरस्वती कुण्ड, चन्द्र कुण्ड र शिव कुण्ड यी पाँचऐ कुण्डलाई माथिको भ्यूपोइन्टबाट एकैसाथ अवलोकन गर्न सकिने। जनैपूर्णिमामा विशाल मेला लाग्ने, अन्य समयमा भने हामीजस्ता यात्रीहरू मात्र पुग्ने।
नोर्समपाटीबाट उकालो चढ्दै गर्दा अक्सिजन कमी भएको महशुस हुन थाल्यो। सातघुम्तीको लामो घुमाउरो बाटो र लौरिबिनाको तीब्र उकालोले शरीर र मन दुवै थाकिसकेका। तर अठोट बाँकी थियो।

अन्तत: करिब १ बजे पाँचपोखरी पुग्यौं । आफ्नो सपनाको गन्तब्य। फोटो र भिडियो हेरर आहा! भनिरहेको ठाउँमा आफै पुग्दाको खुसीको सिमा रहेन।
तर, त्यहाँ पुग्दा हाम्रो एकजना साथीलाई लेक लागेर गाह्रो भयो। अरूलाई पनि रिङ्गाटा लाग्ने टाउको भारी भयो। त्यसैले माथि धेरैबेर बस्न सकेनौं।
म, दिपेश र प्रस्तुत सर भने छिट्टै पुगेकोले पाँचै कुण्ड देखिने डाँडोसम्म गएर अवलोकन गर्यौं। उत्तरी भागमा रहेको पाँचपोखरी मन्दिरको दर्शन पनि गर्यौं।
समूहका बाँकी साथीहरू बिस्तारै-बिस्तारै आइरहेका थिए। उनीहरुले चाही पोखरी भएको ठाउँ र मन्दिर मात्र दर्शन गरे। उनीहरु भ्यूपोइन्ट पुग्न सकेनन्।
त्यहाँ हामीले फोटो खिच्यौ, भिडियो बनायौ र एकैछिन थकाइ मार्यौ। फर्किन लाग्दा हाम्रो टोलीको एकजना सदस्य बिरामी पर्नुभयो र उहाँलाई बोकेरै तल झर्नुपर्ने भयो। उहाँलाई तीन जनाले पालैपालो गरी समाउँदै, बोक्दै लिएर आयौं।

केही गाह्रो भएपनि म अलि हिँड्न सक्ने नै थिए। सबैभन्दा पहिले नोर्समपाटी फर्केर खाना र होटेल बुक गर्न म एक्लै फर्किएँ।
बाटो उकालो–ओरालो सबै मिसिएको, अक्सिजन कम भएको, साँझ हुन लागेको—तर मनमा प्रशन्नता थियो।
सातघुम्तीमा आइपुग्दा करिब ५:३० बजिसकेको थियो, उज्यालो घट्दै गएको। त्यही बेला मेरो भेट भयो—साहिला तामाङ दाइसँग।
उहाँ पाँचपोखरी गएर फर्किँदै हुनुहुन्थ्यो। पेशाले गोठालो र औपचारिक शिक्षा नलिएको। तर, अत्यन्तै भद्र, खुला मनको मान्छे हुनुहुँदो रहेछ। उहाँसँग मैले शहरको जीवन, पढाइ, कलेज, मिडियामा काम, यात्राबारे कुरा गरें।

उहाँले आफ्नो गाउँ, परिवार, पशुपालन, हिमालतिरको जीवन, मौसम, होटेल पालोपालो खोल्ने चलन, सबै सुनाउनुभयो।
हाम्रो कुराकानीले कठोर बाटो सहजजस्तै लाग्न थाल्यो। करिब ६:२० बजेतिर हामी नोर्समपाटी पुग्यौं। साहिला दाइको होटेल त्यहाँको पालो अनुसार बन्द रहेछ, त्यसैले उहाँले मलाई साथीको होटेल देखाइदिनुभयो।
म त्यही ठाउँमा पुगेँ, खाना अर्डर गरेँ, कोठा लिएँ, र आफ्नो साथीहरूको प्रतिक्षामा बसेँ। करिब ७ बजेतिर सबै आइपुगे, थकाइ लागेपनि यात्रा सफल भएको सबै खुसी।
…
चौथो दिन, बिहान चिया पिएपछि हामी सबै आरामसँग ओरालो झर्यौं। रातोमाटेमा चाउचाउ उमालेर नास्ता खायौं। टुप्पीडाँडामा खान खाने योजना बनायौं। र त्यहीअनुसार ओरालो लाग्दै छिम्तितर्फ फर्कियौँ।

बिहान ९ बजे हामी रातोमाटेमा आइपुग्यौ र नास्ता गर्यौ र करिब १२ बजे टुप्पीडाँडा पुगेर खाना खायौं। त्यसपछि बिस्तारै–आरामसँग–हासखेल गर्दै छिम्ती झर्यौं र हाम्रो ट्रेक सकियो।
समुहका साथी मध्ये कसैलाई यो ट्रेकिङ सहज त कसैलाई गारो भयो तर मेरो लागि चाही यो अविस्मरणीय नै रह्यो।
इन्टरनेट र शहरको रमझममा हुर्किएकी म जीवनमा पहिलोपटक यति लामो ट्रेकिङ जाने मौका पाए। प्रकृतिलाई नजिकबाट जान्ने मौका पाए।
आफू हुर्केको परिवेशभन्दा फरक परिवेशमा घुलमिल भएर त्यहाको जनजीवनलाई नजिकबाट जान्ने मौका पनि मलाई यस यात्राले दियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
आज पनि घट्यो सुन
काठमाडौं। बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा चार हजार...
कति छ मुद्राको मूल्य?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी...
अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन
काठमाडौँ। आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्न...
नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री अर्याल
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ । बिहीवार...




