अन्तर्राष्ट्रिय

इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान

इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गर्नुभएको छ ।

उहाँले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट सङ्केत दिनुभएको छ । हाल हिरासतमा रहनुभएका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहनुभएका खानले आफ्नो कानूनी टोलीमार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई सामूहिक सडक आन्दोलनको तयारी सुरु गर्न निर्देशन दिनुभएको हो । “सम्पूर्ण राष्ट्रले आफ्ना अधिकारका लागि उठ्नुपर्छ”, उहाँको सन्देशमा उल्लेख छ ।

इमरान खानले अदालतको फैसलाले आफूलाई आश्चर्यचकित नगरेको बताउँदै यसलाई विगत तीन वर्षयता आइरहेका ‘आधारहीन निर्णयहरूको निरन्तरता’ भएको दाबी गर्नुभएको छ । उहाँका अनुसार न्यायाधीशले प्रमाण बिना र कानूनी प्रक्रिया पूरा नगरी हतारमा फैसला सुनाउनुभएको हो र उहाँको कानूनी टोलीको कुरा समेत नसुन्ने व्यवहार गरिएको छ । यसै सन्दर्भमा उहाँले इन्साफ वकिल फोरम तथा समग्र कानूनी समुदायले संवैधानिक सर्वोच्चता र विधिको शासनको रक्षामा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । न्यायबिना आर्थिक प्रगति सम्भव नहुने उहाँको धारणा छ । पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)ले आधिकारिक विज्ञप्ति जारी गर्दै फैसलालाई ‘स्पष्ट रूपमा असंवैधानिक, अवैध, दुर्भावनापूर्ण र राजनीतिक प्रतिशोधको चरम रूप’ भनेको छ । पार्टीका नेताहरूले यो सजाय खानको जेल अवधि लम्ब्याउने र राजनीतिक दबाब कमजोर पार्ने उद्देश्यले गरिएको आरोप लगाएका छन् ।

उनीहरूले अधीनस्थ न्यायपालिकामार्फत राजनीतिक उत्पीडन भइरहेको दाबी पनि गरेका छन् । पिटिआईका महासचिव सलमान अकरम राजाले वरिष्ठ नेता असद कैसरसँग संयुक्त पत्रकार सम्मेलन गर्दै इमरान खानले अदालत कक्षमै आफ्ना प्रमुख वकिल ब्यारिस्टर सलमान सफदरमार्फत राष्ट्रका लागि सन्देश दिनुभएको जानकारी गराउनुभयो । उहाँले खानको भनाइ उद्धृत गर्दै भन्नुभयो, “म दृढ छु र कसैसँग माफी माग्ने छैन।”

राजाका अनुसार यो मुद्दा प्रतिज्ञापत्रमा मात्र आधारित छ र ठोस प्रमाण तथा साक्षीको अभाव छ । तोसाखाना–२ मुद्दामा सजाय सुनाइएपछि देशभर सार्वजनिक बहस चर्किएको छ र न्यायिक प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठेका छन् । एएनआईसँग कुराकानी गर्दै लाहोर र पेशावरका बासिन्दा तथा पत्रकारहरूले यस फैसलामा राजनीतिक प्रेरणा र प्रमाणको कमी रहेको टिप्पणी गरेका छन् । लाहोर निवासी हमिद रियाज डोगरले न्यायपालिकाप्रति जनविश्वास घट्दै गएको बताउँदै हालैका अन्य फैसलाहरू पनि विवादित भएको उल्लेख गर्नुभयो ।

यो मुद्दा साउदी क्राउन प्रिन्सबाट प्राप्त करिब सात करोड १० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यको बुल्गारी गहना सेटको अवमूल्यनसँग सम्बन्धित रहेको छ । इमरान खान र बुशरा बिबीलाई आपराधिक विश्वासघात र भ्रष्टाचारसम्बन्धी धाराअन्तर्गत दोषी ठहर गरिएको हो । लाहोरका अर्का बासिन्दा जाकी उल्ला मुजाहिदले यस फैसलाले लोकतान्त्रिक संस्था र न्याय प्रणालीप्रतिको जनविश्वास थप कमजोर बनाएको भन्दै संविधान र कानूनी सीमाभित्र रहेर मात्रै राज्य सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस/एएनआई

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...