अर्थ
७ पुष २०८२ १०:४५
खबर सेवा · More from author
वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार
खबर सेवा
कैलाली। यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए ।
“त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौँ”, नवलसिंहले विगत सम्झिँदै भन्नुभयो, “त्यहाँ धेरै परिवार थियौँ । वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन । अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ ।”
सोही स्थानमा बस्दै आउनुभएका अर्का रतन नाथको पीडा पनि उस्तै छ । डडेल्लधुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर जानुभयो । भारतमै हुँदा गाउँमा नापी टोली आएछ । आफन्तले रतनको नाममा हुनुपर्ने जग्गा आफ्नै नाममा नाप्न लगाएछन् । “बुवाआमा सानैमा बितेका थिए, म परदेशमा थिएँ”, उहाँले भन्नुभयो, “आफन्तले हाम्रो सबै जमिन आफ्नो नाममा नापी गराइ दिएछन् । म फर्किँदा मेरो टेक्ने जमिनसम्म थिएन ।”
विसं २०६० मा डडेल्लधुरा छाडेर चुरे गाउँपालिका–४ स्थित गुठीको जमिनमा बसोबास गरेपनि त्यहाँबाट उठाइएपछि अहिले यहाँ आएर बसोबास गरिरहेको उहाँले बताउनुभयो ।
रतनको परिवार स्थानीय सूर्यमुखी आधारभूत विद्यालयको जङ्गल छेउको खेलमैदानमा पालमुनी बस्दै आएको छ । रतन भन्नुहुन्छ, “यो हाम्रो इच्छा होइन, बाध्यता हो । यहाँबाट स्कुलले खेलकुद मैदान खाली गर्दिनु भनिरहेको छ, अब कता जाने थाहा छैन ।”
त्रिपालमुनिको जोखिमपूर्ण जीवन
हाल बालुवागडा क्षेत्रमा १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन् । तीमध्ये केही परिवारका अभिभावकहरू रोजगारीको खोजीमा भारत गएकाले घरमा बालबालिका मात्रै छन् । घरबार गुमाएर जङ्गलको बसोबास गरिरहेका उनीहरूको जीवन कष्टकर छ । पालमा बालबालिकाहरुले जाडो धान्नै कठिन छ । स्थानीय कलि नाथका अनुसार वर्षायाममा पानी चुहिएर रासन, लत्ताकपडा सबै भिज्छ ।
“पानी पर्दा टहराभित्रै भेल पस्छ”, उहाँ भन्नुहुन्छ, “रातभरि बिच्छी र कीरा–काटीको डर हुन्छ । कति पटक त बिच्छीले टोकेर उपचारका लागि दौडिनु परेको छ । तर जाने ठाउँ कतै नभएपछि यही मृत्युसँग जुधेर बस्नुपर्ने अवस्था छ ।”
गिट्टी कुटेर जीविका
यहाँका महिलाहरूको दिनचर्या बालुवा खोलामा बित्छ । ओलामा सङ्कलन गरिएको गिट्टी नै उनीहरुको आम्दानीको स्रोत हो। “अहिले छोराछोरीको परीक्षा आइरहेको छ”, स्थानीय बुदीसरा सिंजाली भन्नुहुन्छ, “गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने योजना छ ।” बुदीसराझैँ अन्य महिलाहरुको पनि मुख्य आम्दानीको स्रोत गिट्टी नै हो।
प्रति घनमिटर एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गिट्टीबाट आउने पैसाले उनीहरूको घरको नुन–तेल चल्छ । सो क्षेत्रमा मात्रै होइन चुरेको विभिन्न स्थानमा बसोबास गरिरहेका घरबारबिहीन परीवारको अवस्था समान छ । वैकल्पिक बसोबासको व्यवस्था नहुँदा पीडितहरू हाल बसिरहेको स्थानमै बस्नुपर्ने बाध्यता रहेको चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले बताउनुभयो । उहाँका अनुसार २०७७ सालमा आएको बाढीलगायत अन्य कारणले बिस्थापित ११६ परीवार चुरे–४ को पनेरुगडा, टाँकगडा, बालुवागडा र चुरे–१ को खामाहाले, खानीडाँडालगायतका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन्।
सुरुमा घरबारबिहीन भन्दै वन क्षेत्रमा करिब सात सय परिवार बसेका थिए । गाउँपालिकाले छानबिन गर्दा ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन पाइयो । उनीहरुलाई वन क्षेत्र अतिक्रमण गरेको भनी विसं २०७९ मा वन कार्यालयले हटायो । गाउँपालिकाले गरेको छानबिनअनुसार हाल वास्तविक पीडितहरु नै जङ्गल क्षेत्रमा बसोबास गरिरहेका छन् ।
“विस्थापितहरूको समस्या वास्तवमै गम्भीर छ”, वडाध्यक्ष मगर भन्नुुहुन्छ, “तर स्थानीय तहसँग उनीहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नै जमिन छैन । वन क्षेत्रबाट वन कार्यालयले हटाउन खोज्छ, यता उनीहरूको जाने ठाउँ छैन । यही कारणले उनीहरू जोखिमपूर्ण अवस्थामा छन् ।” चुरेका यी विस्थापित परिवारहरू सरकारले सुरक्षित घरबास उपलब्ध गराउला कि भन्ने आशामा वर्षौँदेखि छन् । यही राज्यका नागरिक भएकाले पनि सरकारले अभिभावकको भूमिका निर्वाह गरोस् भन्ने उनीहरुको चाहना छ । रासस
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
१२ चैत २०८२ ११:०४
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
१२ चैत २०८२ ७:४६
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...
१२ चैत २०८२ ७:४३
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
११ चैत २०८२ १४:१७




