Breaking News

८३/८२ सिट बाँडेर कांग्रेस-एमाले गठबन्धन हुने संकेत!

काठमाडौं। एमाले उपाध्यक्ष रामबहादुर थापाले मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै एमाले–कांग्रेसले तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीकै अगाडि बादलले यसो भन्नु अर्थपूर्ण र गर्भमा केही खिचडी पाकिरहेको संकेत गर्छ।

सोही कार्यक्रममा उपस्थित एमालेका अर्का नेता शेरबहादुर तामाङले म‌ंगलबार बेलुका फेसबुक स्टाटस लेख्दै भन्नुभयो, ‘हान्दिउँ! ८३/८२ जे पर्ला पर्ला।’

यता प्रमुख अथिति ओलीले सोही कार्यक्रममा भन्नुभयो, ‘कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको,सिंहको सिकार हुन्छ? मुकाबिला हुन्छ? यसो हेर्छ नेपाली कांग्रेस छ। छेउमा नगइन्जेल त मजै छ, छेउमा गएपछि गाह्रो पार्छ नि नेपाली कांग्रेसले फेरी।’

ओलीले एमाले र कांग्रेसलाई बाघ र सिंहसँग तुलना गर्दै कमजोर हरुले मोर्चाबन्दी गरेको भन्दै ठट्टैली शैलीमा नयाँ दलहरुलाई व्यंग्य गर्नुभयो। ओलीले कांग्रेस र एमालेको शक्तिलाई संगै तुलना गरेर हेर्नुले पनि दुई दलबीच मोर्चाबन्दीका लागि भित्र भित्रै छलफल चलिरहेको संकेत गर्दछ।
एमालेको समानुपातिक उम्मेदवार छान्न बसेको सचिवालय बैठकमा ओलीले त्यसतर्फ संकेत गरेको र सो पछि एमाले नेताहरुले गठबन्धनबारे आफ्नो धारणा सार्वजनिक गरेको बुझिएको छ।

वैकल्पिक शक्तिका रुपमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ एउटै पार्टीमा आबद्ध भएपछि लोकतन्त्र रक्षाका लागि भन्दै दुई दलको समिकरण बन्ने संकेत देखिएको हो।

भाद्र २३ र २४ गतेको आन्दोलन अगाडिका सत्ता साझेदार दुई दलले नयाँ शक्तिहरुलाई रोक्नका लागि २०७९ को चुनावमा जितेका क्षेत्रका आधारमा गठबन्ध गर्न सक्ने एमाले-कांग्रेसका नेताहरुले संकेत गर्न थालेका छन्।

पछिल्लो समय निकै ट्युनिङ मिलेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको पछिल्लो भेटमा पनि माघमा हुने राष्ट्रिय सभा निर्वाचन र आगामी निर्वाचनमा गठबन्धन बनाएर जानेसम्मको छलफल चलेको स्रोतको दाबी छ।

मंगलबार पार्टी अध्यक्षकै अगाडि उपाध्यक्ष थापाको अभिव्यक्ति पनि त्यसैको निरन्तरताका रुपमा आएको बुझिन्छ।

बादलले प्रतिगामी शक्तिहरुलाई परास्त गर्न कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।

ओलीले प्रतिनधिसभा पुनर्स्थापना हुनुपर्ने दैनिक जसो आफ्नो धारणा सार्वजनिक गरेको पाइन्छ। तर, भित्र भने निर्वाचनका लागि परम्परागत रुपमा प्रतिस्पर्धी दुई दल नै गठबन्धनमा जानेसम्मको तयारी ओलीले गरेको ओली निकट नेताहरुले बताउन थालेका छन्।

अर्कोतिर वैकल्पिक शक्तिलाई पराजित गर्न अघोषित गठबन्धन गरेर जानेबारे दुई दलबीच छलफल चलिरहेको छ।

२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकीकृतसहितका दलसँग तालमेल गरी निर्वाचनमा गएको थियो । एमालेले मधेसमा जनता समाजवादी पार्टी र झापासहित केही क्षेत्रमा राप्रपा लगायतका दलसँग तालमेल गरेको थियो । प्रत्यक्षतर्फ कांग्रेसले ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट जितेको थियो । एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट जितेको थियो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेस र एमालेले मात्रै १ सय ६७ सिट जितेका थिए । माओवादी केन्द्रले ३२, रास्वपाले २०, राप्रपाले १४ र तत्कालीन जसपा नेपाल पार्टीले १२ सिट जितेका थिए ।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाका पछिल्ला भेट चुनावी तालमेलमा पनि केन्द्रित रहेको स्रोतको दाबी छ । ओली र देउवा सके संसद पुनर्स्थापना गर्ने, नभए २१ फागुनको चुनाव सार्ने वा मिलेर जाने रणनीति उहाँहरूको छ।

जेन–जी आन्दोलनपछि ओलीले पहिलोपटक १९ मंसिरमा देउवासँग उनकै निवासमा पुगेर भेट गरेका थिए । देउवासँग मिलेर जानेबारे ओलीले नै संकेत दिइसकेका छन् । ओलीले २५ मंसिरमा सम्पादकसँगको भेटमा देउवासँगको छलफलको नतिजा केही समयमा देखिने बताएका थिए ।

ओली–देउवा भेटलगत्तै कांग्रेसले २१ मंसिरमा प्रतिनिधिसभा पुनर्स्थापनाको लागि रिट दर्ता गराएका थियो । ७ पुसमा ओली र देउवाबीच फेरि भेट भयो । यो भेटको भोलिपल्ट विघटित प्रतिनिधिसभाका ६५ कांग्रेसका सांसदले फेरि प्रतिनिधिसभा पुनर्स्थापनाको लागि पूरक निवेदन दिएका थिए ।

सम्बन्धित समाचार

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...