Breaking News

रास्वपाको समानुपातिक बन्द सूचीमा चितवनका २४ जना पर्दा ४४ जिल्ला खाली

काठमाडौं। बैकल्पिक राजनीतिक शक्ति भन्दै अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूची पुरानै दलको भन्दा फरक नभएको भन्दै विवादमा परेको छ।

समानुपातिक उम्मेदवार छनौट गर्दा कार्यकर्तामार्फत हुने प्राइमरी भोटलाई ५० प्रतिशत मतभार तथा कार्यसम्पादन, पार्टीको योगदानका आधारमा नेताको मुल्यांकनको ५० प्रतिशत मतका आधारमा उम्मेदवारको सूची बनाउने भनिएको थियो।

तर, सूची बनाउँदा समानुपातिकको मर्म र पार्टीको प्राइमरी भोटिङलाई बेवास्ता गरिएको भन्दै रास्वपा कार्यकर्तादेखि आम सर्वसाधरणले आलोचना गरेका छन्।

आलोचना हुनुको अर्को कारणमा उम्मेदवारको सूचीमा क्षेत्रगत प्रतिनिधित्व पनि नमिलाइनु हो। जसमा रास्वपाको ११० जनाको समानुपातिक सूचीमा ३३ जिल्लाका मात्रै उम्मेदवार छानेको पाइएको छ। जसमा चितवन जिल्लाबाट २४ जना र मोरङका १५ जना राख्दा ४४ जिल्लाको प्रतिनिधित्व देखिएन।

रास्वपाको सूचीमा हालै जोडिएको बालेन शाह समूह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट आएकालाई समेट्दा प्राइमरी भोटबाट आएअनुसार गर्न नसकिएको रास्वपा नेताहरुको तर्क छ। तर, समानुपातिक सूचीमा रहेका रामजी रामदेखि जेन्जी अगुवा रक्षा बम, माजिद अन्सारी सम्मले असन्तुष्टी पोखेका छन्।

नेपो किड्स र नेपो बेबीको विरोध गर्दै जेन जी आन्दोलन गरेका युवाहरुले पुराना दललाई भन्दा नयाँ लाई विश्वास गरेका थिए। तर, रवि सँगै बालेन र कुलमानसम्म मिशिएको नयाँको प्रमुख शक्तिले आयोगमा पेश गरेको बन्द सूचीमा नाताबाद, कृपाबाद हुँदै सेलिब्रेटी, कन्टेण्ट क्रियटर, नेपोकिड्स, नेपो बेबीसम्म परेको भन्दै उनीहरुले आलोचना गरेका हुन्।

राजनीतिक मूलप्रवाहमा आउन नसक्ने उत्पीडित र सीमान्त समुदायका लागि स्थापित समानुपातिक प्रणालीलाई नेताका नातेदार र गुट जोगाउने अनि आर्थिक स्रोत जुटाउने माध्यमको रूपमा पुराना दलहरुले नि विकृत बनाइरहेको आलोचना हुँदै आएको थियो। सो अवस्थालाई नयाँ आएका दलबाट पनि सुधार नभएपछि टिप्पणी भइरहेको हो।

जेन्जी अभियान्ता माजिद अन्सारीले लेखेका छन्,

साथीहरुले समानुपातिक सूचीमा चितवनको २१ जना उम्मेदवार देखाइरहे, मैले त्यो २१ भित्र १ जना भएपनि चितवनको रैथाने (आदिवासी) थारु खोजिरहे, अहँ एक जना पनि भेटिएन । मेरै जिल्ला मोरङको १५ जना उम्मेदवार देखाइरहे, मैले त्यो १५ भित्र १ जना भएपनि मेरै जिल्ला मोरङ्गको रैथाने (आदिवासी) कोच (राजवंशी), गन्गाई, सन्थाल खोजिरहे, अहँ १ जना पनि भेटिएन ।

मैले धेरै अघि देखि भन्दै आएको कुरा हो । नेपालमा समानुपातिक समावेशिता उफर र आर्थिक रुपले विपन्न खास आर्य ऊपर दुई दुई पटक जानी जानी “आर्थिक रुपले सम्पन्न खस आर्यको रणनितीक र निर्णायक बाहुल्य भएको” संविधान सभा र तत्कालीन व्यवस्थापिका संसदले धोका गर्यो ।

१. नेपालको संविधानको धारा ८४ लेखिरहँदा संविधानको धारा ४२ को “आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि परेका अन्य समावेशी समुह” र “आर्थिक रुपले विपन्न खसआर्य” कोे संविधान प्रदत्त सामाजिक न्यायको मौलिक हक ऊपर पहिलो र रणनितीक धोका भयो ।

२. प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी ऐन, २०७४ कोे दफा २८ र अनुसूची-१ लेखिरहँदा दोस्रो र निर्णायक धोका भयो ।’

त्यसैगरी, रक्षा बमको भनाइ छ:

सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो। निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो।

दुखद कुरा चै, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्। आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो।

.… र यसैबीच, मेरो सुदूर अझै पनि सुदूर नै छ। त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्।

प्रिय सुदूरपश्चिम, पुष १५ को शुभकामना।

यतिखेर म आफ्नो भूगोलबाट टाढा छु। रातभरि जागै बसेर पकाएको भुन्या रोटी मीठो होस्। बिहान चियासँग सुख र समृद्धि पुकार्दै खाउँला। तर हामीले सम्झनै पर्ने कुरा के हो भने हामी अझै पनि देशको केन्द्रबाट टाढा, सुदूरमै छौँ। यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ।

रास्वपाको समानुपातिक सूचीमा सुदूरपश्चिम प्रदेशबाट १ जना मात्रै उम्मेदवारका छन्। उनी पनि काठमाडौंमै बस्ने रास्वपा सहमहामन्त्री तथा खस आर्य महिला तर्फ भोटिङमा नबौं नम्बरमा रहेर पहिलो नम्बरमा तालिएकी प्रतिभा रावल छन्। रक्षा बमले त्यसतर्फ इंगित गरेको बुझिन्छ।

त्यसैगरी दलित क्लस्टरको तेस्रो नम्बरमा सिफारिस भएका डाक्टर रामजी रामले रास्वपाको बन्दसूची प्रति असन्तुष्टी जनाउँदै लेखेका छन्,

प्रिय रास्वपाका साथीहरू,
लोकतन्त्रमा अर्थ रहन्छ त मतदाताको मतको । अहिले रास्वपाले आन्तरिक प्राइमरी इलेक्सन गराइ अग्र स्थान हासिल गरेका व्यक्तिहरु मतअनुसारको स्थान नभई माथि तल परेको देखियो भने दलित बाट सर्वाधिक मत ल्याउनु भएका बिजय जैरुजीको नाम समानुपातिक लिस्ट मै देखिएन । प्राइमरी इलेक्सनलाई छनोटको आधार मानिएको हो होइन जवाफ चाहियो ! रास्वपामा बिधि र सुशासनले अर्थ राख्छ भने बिजय जैरु जिलाई स-सम्मान उचित स्थानमा राखौ ! मेरो नाम त्यहाँ हुनु र वहाँको नाम लिस्टमै नहुनु ले मलाई लज्जा बोध भयो ! मलाई राख्नु परेकोले वहाँ नअट्नु भएको हो भने बरु म अन्य फरक भूमिकामा रहेर पनि देश र पार्टीलाई न्याय र सुशासनको खबरदारी गर्दै गरौला ! पार्टी भित्रको लोकतान्त्रिक अभ्यासले नै साच्चो अर्थमा पार्टी बलियो बनाउछ !
धन्यवाद !

सम्बन्धित समाचार

केपी ओलीलाई पितृ शोक

केपी ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...

केही दिन राहदानी वितरण बन्द हुने

केही दिन राहदानी वितरण बन्द हुने

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...