सामुदायिक वनका परिकल्पनाकार डा. महत पर्वत विशिष्ट व्यक्तित्व सम्मान’द्वारा सम्मानित
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा पारेर विभिन्न चार विधामा सम्मान प्रदान गरेको छ।
समाजले शनिबार आयोजित कार्यक्रममार्फत पर्वत विशिष्ट व्यक्तित्व सम्मान, पर्वत शिक्षा सेवा सम्मान, पर्वत समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान सम्मान प्रदान गरेको हो।
समाजले अग्रणी वन वैज्ञानिक, शैक्षिक र सामुदायिक प्रा.डा तेजबहादुर सिंह महतलाई पर्वत विशिष्ट व्यक्तित्व सम्मान प्रदान गरेको समाजले जानकारी दिएको छ।
को हुनुहुन्छ डा. महत?

पर्वतको मोदी गाउँपालिका वडा नं ६ गिज्यानमा जन्मनुभएका ८९ वर्षीया प्रा. डा. तेजबहादुर सिंह महत नेपालका अग्रणी वन वैज्ञानिक, शैक्षिक र सामुदायिक वन व्यवस्थापनका प्रबर्द्धक हुनुहुन्छ।उहाँले नेपालकै पहिलो वन विज्ञान प्राध्यापकका रूपमा नियुक्त हुनुभएका उहाँ वन विज्ञानको शिक्षा, नीति निर्माण र समुदायको सहभागितामा वनको व्यवस्थाप बारे उहाँले देशलाई दिएको योगदान अतुलनीय छ।
गाउँमै सामान्य शिक्षा लिनुभएका महतले माध्यमिक शिक्षा तथा उच्च शिक्षा भारतबाट हासिल गर्नुभएको हो । उहाँले भारतको आगरा विश्वविद्यालयबाट जीवविज्ञान स्नातक (B.Sc) र पूने विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर (M.Sc.) पूरा गर्नुभयो। त्यसैगरी उहाँले भारतकै देहरादून स्थित फरेष्ट रिसर्च इन्टिच्यूट Forest Research Institute (FRI) बाट वन विज्ञानमा विशेषज्ञता हासिल गर्न Post-Graduate Diploma (AIFC) र अष्ट्रेलियन नेशनल विश्वविद्यालय, क्यानबेरा बाट विद्यावारिधी Ph.D. हासिल गर्नुभयो।साथै, सोपरोन विश्वविद्यालय, हंगेरी बाट वन माटो विज्ञान र त्रिभुवन विश्वविद्यालय/सेडाबाट विकास योजना अध्ययन गर्नभयो।

डा. महतले सन् १९६५ देखि १९८५ सम्म नेपाल सरकारको वन सेवा काम गर्नुभयो। विशेषगरी १९७३ देखि १९७९ मा चौतारा वन डिभिजन (सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक) को डिभिजनल वन अधिकृतका रूपमा काम गर्दा सामुदायिक वनको अवधारणा र व्यवहार विकासमा ऐतिहासिक योगदान दिनुभएको थियो।उहाँले त्यहाँ विकास गरेको अवधारणाका आधारमा नेपालको सामुदायिक वनको अभ्यास राष्ट्रिय स्तरमा लागू गरिएको थियो।
त्यसैगरी महतले अन्तर्राष्ट्रिय स्तरका संस्थाहरुमा सन् १९८५-१९९८ सम्म काम गर्नुभयो। सो क्रममा उहाँले ICIMOD, UNDP/FAO, ITTO, Winrock International, ADB/FORTECH लगायत संस्थाहरुमा आबद्ध भइ नेपाल, बंगलादेश, म्यानमार, श्रीलंका र रोम (इटाली) लगायतका देशमा वन, कृषि-वन (Agroforestry), ग्रामीण ऊर्जा र संस्थागत क्षमता विकासमा काम गर्नुभएको थियो।
डा. महत सन् १९९७-२००३ सम्म त्रिभुवन विश्वविद्यालय, वन विज्ञान संस्थान (TU/IOF) को डीन र त्रिविको सिनेट सदस्य रहँदै नेपाली वन शिक्षामा ऐतिहासिक योगदान गर्नुभएको छ। उहाँले त्रिविमा नौवटा स्नातकोत्तर कार्यक्रम (M.Sc., Ph.D.) सुरु गर्नुभएको, सात नयाँ प्राध्यापक पद सिर्जना गर्नुभएको र वन विज्ञान तथा सहायक विषयमा अनुसन्धान र विशेषज्ञता विस्तार गर्नुभएको थियो। यसरी चार दशकभन्दा लामो समयदेखि प्रकाशन, पुस्तक, अनुसन्धान, र नीति निर्माणमार्फत वन विज्ञान , समुदायिक वन, मानव र वनको सम्बन्ध, कृषि-वन, सहभागी विकास र ग्रामीण ऊर्जा विषयमा उहाँको योगदान रहँदै आएको छ। उहाँका लेख र अध्ययन अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित जर्नलहरुमा प्रकाशित भएका छन्।
प्रा.डा.महतको जीवन र कामले नेपालको वन इतिहासमा स्थायी योगदान पुर्याएको छ। त्यसैगरी समुदायको सहभागितामा वन व्यवस्थापन, वन शिक्षा र सार्वजनिक सेवा क्षेत्रमा गर्नुभएको काम अमूल्य र उदाहरण छ। उहाँ पर्वतबासीका लागि प्रेरणा र उर्जाको स्रोत हुनुहुन्छ।
पर्वतका ज्योति भोलानाथ लाई शिक्षा सेवा सम्मान

त्यसैगरी फलेवास नगरपालिका वडा नं ५ खानीगाउँका स्थानीय भोलानाथ शर्मालाई पर्वत शिक्षा सेवा सम्मान प्रदान गर्यो।
पर्वतको फलेवास नगरपालिका -५, खानीगाउँमा जन्मनुभएका भोलानाथ शर्मा पूर्व निजामती कर्मचारी हुनुहुन्छ र अवकाशपछि उहाँ अनवरत रुपमा जिल्लामा शिक्षा, समाजसेवा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्नुभएको छ।
२०१५ सालमा काठमाडौंबाट एसएलसी परीक्षा दिएका शर्मा आफ्नो गाउँ फलेवास जानुभयो। त्यहाँ पुग्दा उहाँलाई गाउँमै पुस्ताकलय स्थापना गर्ने हुटहुटी जाग्यो र नेपाल राष्ट्रिय पुस्तकालय, प्यूँखका वासुदेव लुइँटेलको प्रेरणा र सहयोगमा पर्वत जिल्लाको फलेबासमा पुस्तकालय स्थापना गर्ने दृष्टिकोण विकसित भयो। त्यसपछि उहाँले २०१६ साल माघ महिनाको श्रीपञ्चमीका दिन परिवार, शिक्षक र समुदायको सहयोगमा “मोती पुस्तकालय” को स्थापना गर्न सफल हुनुभयो।

त्यसपछि उच्च शिक्षा अध्ययन गरी २०२६ सालमा सरकारी सेवा प्रवेश गर्नुभएका उहाँ जागिरे जीवनमा पनि छुट्टि हुँदा गाउँ जाँदा पुस्तक लिएर जाने गर्दै अहिले देशकै उत्कृष्ट मोती पुस्तकालय उहाँले बनाउनुभएको छ। मोती पुस्तकालय र Room to Read Nepal सँगको सहकार्यमा पर्वत जिल्लाका १३५ विद्यालयमा पुस्तकालय स्थापना र उहाँको व्यक्तिगत पहलमा थप ३६ विद्यालय पुस्तकालय स्थापना गराई पुस्तकालय विकासलाई निरन्तरता दिनुभयो।
उहाँको नेतृत्वमा विद्यालय पुस्तकालय, सिकाइ केन्द्र, प्राविधिक ज्ञान सेवा, सहकारी, महिला सिलाइकटाइ उद्योग, सुरक्षित आप्रवासन (दियो कर्नर), TAG (Teach A Girl) तथा TAY (Teach A Youth) कार्यक्रम, घुम्ती पुस्तकालय लगायत बहुआयामिक सामाजिक कार्यक्रम अहिलेसम्म निरन्तर छन्।TAG (Teach A Girl) तथा TAY (Teach A Youth) कार्यक्रममार्फत पर्वतका थुप्रै किशोर र किशोरलाई उच्च शिक्षा प्रदान गर्ने, प्रविधि, नेतृत्व र जीवन उपयोगी सीपमा सक्षम बनाउँदै सामाजिक रूपान्तरणमा उहाँको सक्रिय भूमिका छ।यहाँका सबै प्रयासहरूले पर्वत जिल्लामा दीर्घकालीन सामाजिक परिवर्तनको बलियो आधार निर्माण गरेका छन्।
पल्टनदेखि गाउँसम्मका क्याप्टेन टेक बहादुरलाई समाज सेवा सम्मान

त्यस्तै, जलजला गाउँपालिका वडा नं ३ माझफाँटका स्थानीय टेकबहादुर जिसीलाई पर्वत समाज सेवा सम्मान सम्मान प्रदान गरिएको छ।
जलजला गाउँपालिका वडा नं ३ का स्थायी बासिन्दा ८४ वर्षीया टेकबहादुर जि.सी. भारतीय सेनाको क्याप्टेनबाट अवसकाश भएपछि स्थानीय स्तरमा निरन्तर सेवामा हुनुहुन्छ।वि.सं २०१९ सालमा भारतीय सेनामा भर्ती हुनुभएका उहाँ २०४६ सालमा अवकाश हुनुभएको हो।त्यसपछिका ३६ वर्ष उहाँको स्थानीय विकास निर्माण, जनसेवा तथा समाज परिवर्तका लागि पनि क्याप्टेन बन्नुभयो। स्थानीय स्तरमा निस्वार्थ भावनाका साथ शिक्षा, स्वास्थ्य, धार्मिक तथा पूर्वाधार निर्माणमा निरन्तर रुपमा पुर्याउँदै आउनुभएको योगदानका कारण उहाँ एक प्रतिष्ठित, सम्मानित सामाजिक अभियन्ताको रूपमा परिचित हुनुहुन्छ।
भारतीय सेनामा रहँदा भारत-पाकिस्तान बीचको युद्धग्रस्त क्षेत्र (१९६५-१९७१) मा जोखिमपूर्ण क्षेत्रमा काम गर्नुभएको थियो। भारतीय सेनामा उहाँ एक इमान्दार, अनुशासन र साहसी सैनिक भएकै कारण जवानदेखि क्याप्टेन भएर अवकास हुनुभयो। त्यसपछि उहाँको सक्रियता गाउँमा रह्यो। वि.सं. २०४७ देखि २०५० सम्म जलजला-३ स्थित विद्याज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा अध्यक्ष भएर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा काम गर्नुभयो। वि.सं. २०६२ सालमा विद्यालयमा महायज्ञ सञ्चालन गरी कक्षा १०+२ स्थापना गर्न नेतृत्व दिनुभयो। त्यसैगरी, वि.सं. २०४९ देखि २०७७ सालसम्म अमृत आदर्श आवासीय बोर्डिङ स्कूलको स्थापना गरी अध्यक्षको रूपमा २९ वर्षसम्म निरन्तर सेवा प्रदान गर्नुभयो।

पूर्वाधार तथा यातायात विकासमा पनि उहाँको योगदान उल्लेखनीय छ। वि.सं. २०५१ देखि २०५६ सम्म मालढुङ्गा-बेनी मोटरबाटो निर्माण समितिमा सक्रिय भूमिका निभाउनुभयो भने २०५६ देखि २०६३ सम्म मल्लाज-लेखफाँट मोटरबाटो समितिमा पदाधिकारीको रूपमा ग्रामीण यातायात सुविधा बिस्तारमा लाग्नुभयो।त्यसैगरी गाउँमा खानेपानी र सिँचाइ क्षेत्रको पूर्वाधार विकासमा उहाँको योगदानले स्थानीय समुदायको जीवनमा ठूलो सकारात्मक प्रभाव पारेको छ। वि.सं. २०५८-२०८०सम्म पुँदी खोला सिँचाइ समितिको अध्यक्ष भएर असम्भव मानिएको भीरालो भूभागमा सिँचाइ पुर्याउनुभयो। यसबाट बाँझो जमिन खेतीयोग्य बनेको छ र स्थानीयले तरकारी तथा फलफूल खेतीमार्फत रोजगारी र आम्दानी हासिल गरेका छन्। वि.सं. २०६५ देखि २०७५ सम्म प्यूसे खोला खानेपानी योजनामा अध्यक्ष भएर गाउँमा स्वच्छ पानी पुर्याउन भूमिका निभाउनुभयो।
त्यसैगरी धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा पनि उहाँको योगदान अतुलनीय छ। गलेश्वर शिवालय क्षेत्र विकास समितिमा वि.सं. २०५६-२०७१ सम्म सेवा प्रदान गर्नुभयो। वि.सं. २०६४ मा सिद्धेश्वर शिवालय मन्दिरको संस्थापक अध्यक्ष भएर मन्दिर निर्माण गर्नुभयो र २०६७ मा महायज्ञ सञ्चालन गर्नुभयो। वि.सं. २०७२ सालमा मल्लाज भगवती कोटमन्दिरमा श्रीमद् भागवत महायज्ञको नेतृत्व गरी मन्दिर, आवास र खेल मैदान निर्माण सम्पन्न गर्नुभयो।
सामाजिक नेतृत्वमा पनि उहाँ सक्रिय हुनुहुन्छ। वि.सं. २०५६ देखि हालसम्म गर्गगोत्री घर्तीक्षेत्री लामिछाने बन्धु समाजको अध्यक्षको रूपमा सेवा गर्दै आउनुभएको छ। वि.सं. २०६५ मा महायज्ञ सञ्चालन गरी सो समाजको भवन तथा सभाहल निर्माण गर्नुभयो। त्यसैगरी, तामा रण सन्तति कल्याण समितिको स्थापना, कोष खडा र भवन निर्माण गरी समाजसेवामा निरन्तर सक्रियता देखाउनुभयो।
क्याप्टेन टेकबहादुर जि.सी.ले आफ्नो अवकाशपछिको जीवनलाई समाजसेवामा पूर्ण रूपले समर्पित गर्दै “इच्छाशक्ति भए अवकाशपछि पनि समाजका लागि धेरै गर्न सकिन्छ” भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुभयो। उहाँको नेतृत्व, त्याग, अनुशासन र निरन्तर सेवाले स्थानीय समुदायको आर्थिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक जीवनमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याएको छ।
कृषि तथा उद्यम सेवा सम्मान पाउने विनोद

चौथोमा फलेवास नगरपालिका वडा नं ६, देवीस्थानका स्थानीय विनोद भुषाललाई ‘पर्वत कृषि तथा उद्यम सम्मान प्रदान गरेको हो।
युवा किसान विनोद भुसाल पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ६, देवीस्थानका स्थायी बासिन्दा हुनुहुन्छ। ३५ वर्षका भूषालले कृषि नै जीवन र कर्मको आधार मान्दै आउनुभएको छ। विनोदसँगै उहाँको सम्पूर्ण परिवार नै अहिले कृषि पेशामा आबद्ध हुनुहुन्छ र सो क्षेत्रका लागि उदारणीय हुनुहुन्छ। विनोद र उहाँको परिवारले उत्पादन गरेको कृषिजन्य उत्पादन र बीउविजन अहिले गाउँ जिल्लामा मात्रै नभइ देशभर निर्यात हुँदै आएको छ।
विनोदका हजुरबुवा देवीप्रसाद भुसाल (बर्मेली बा) ले वि.सं. २०४६ सालदेखि कृषि कर्मलाई आत्मनिर्भरताको आधार बनाउनु भएको थियो। उहाँले उत्पादन गरेको वीउ र सोही कर्मलाई पछ्याउने फलेवास र त्यस क्षेत्र वरपरका किसान अहिले देशकै नमुना नगदेबालीको बीउ उत्पादक बन्नुभएको छ।हजुरबुबाको पेशालाई उहाँका बुबा चित्रप्रसाद भुसालले निरन्तरता दिनुभयो। वि.सं. २०७५ सालमा ५१ वर्षको अल्पायुमै बुवाको निधन भएपछि हजुरबुबा र बुबाले अंगाल्दै आएको पेशालाई निरन्तरता दिने जिम्मेवारी विनोदको काँधमा आयो।
विनोदलाई हजुरबुबा र बुबाको व्यवसायीक सफलताले नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास र प्रेरणा प्रदान गर्यो। सोही प्रेरणा र आत्मविश्वासका साथ उहाँ पनि कृषि पेशामा होमिनुभयो। “कृषिबाट रोजगारी हुँदैन” भन्ने भाष्यलाई चुनौती दिँदै कृषिबाटै रोजगारी, सम्मान र मनग्य आम्दानी सम्भव छ मान्यता उहाँको परिवारले स्थापित गरेको छ।अहिले परिवारका सबै सदस्यले विनोदलाई साथ दिनुभएको छ। आमा सीता देवी भुसाल, दाइ मनोज भुसाल, भाउजू गीता देवी भुसाल, जीवनसंगिनी मुना आचार्य तथा फार्ममा कार्यरत कर्मचारीहरूको निरन्तर साथ, सहयोग र श्रमले उहाँको कृषि अभियानलाई सशक्त बनाएको छ।
विनोद र उहाँको फलेवास नगरपालिका वडा नं. ७, लिमिठानामा कैलैश्वर कृषि फार्म कर्मभूमि हो। करिव ३० रोपनी क्षेत्रफलमा फैलिएको यस फाममा मौसमी तथा बेमौसमी तरकारी, कन्ये च्याउ, लोकल अण्डा, काक्रोको बीउ, सुन्तला तथा जेठो (बुढो) धान उत्पादन हुँदै आएको छ। यी उत्पादनहरू बढी वीउकै रूपमा गाउँमा मात्र होइन वडा, पालिका, जिल्ला, प्रदेश हुँदै देशको राजधानीसम्म नियमित रूपमा बिक्री-वितरण हुने गरेको। साथै, च्याउलगायत केही कृषि उत्पादनहरू प्रशोधन गरी विदेशसम्म समेत निर्यात गर्नुहुन्छ।
विनोद र उहाँको परिवारको व्यवसाय पछ्याउँदै अहिले स्थानीय अन्य युवा तथा महिला किसानहरु पनि कांक्रो, टमाटर, सुन्तला लगायत फलफूल तथा तरकारीको वीउ र विरुवा उत्पादन लागि करोडौंको आम्दानी गरिरहनुभएको छ। विशेषगरी वीउ उत्पादन र विक्रीबाट गाउँमा कृषकहरुको आयस्थतर बृद्धि हुनुका साथै आत्मनिर्भर बनाएको, विदेश जाने र पलायन हुने क्रम केही हदसम्म कम भएको छ।विनोदले स्थानीयलाई वीउ उत्पादन र कृषि उत्पादन बृद्धि कसरी गर्ने भनेर प्राविधिक सहयोग गर्ने र उत्पादित बस्तुको उचित बजार मुल्यका लागि पहल गर्नेमा पनि विनोदले नै नेतृत्व गर्दै आउनुभएको छ।
कृषि उत्पादनसँगै किसानको सामूहिक आवाज बुलन्द गर्न बिनोद २०७७ साल भदौदेखि फलेवास नगरस्तरीय कृषि सञ्जालको दोस्रो कार्यकालका लागि अध्यक्ष हुनुहुन्छ । उहाँको नेतृत्वमा फलेवासमा कृषक पाठशाला सञ्चालन, तालिम कार्यक्रम, उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कार, मिनिटेल वितरण, टनेल तथा त्रिपाल सहयोग, बिरुवा वितरण, जोख्ने मेसिन उपलब्ध गराउने, फार्म दर्ता, कृषि बीमा, कृषि सूचना प्रवाह तथा बजारमा उत्पादन बिक्री भई भुक्तानी नपाएका किसानका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण हुँदै आएको छ। साथै, सञ्जाल मार्फत उहाँले बालीमा देखिने रोग-व्याधिका विषयमा तीनै तहका सरकारका कृषि प्राविधिकसँग समन्वय गरी कृषि जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आउनुभएको छ।

नीतिगत तहमा पनि उहाँ किसानका पक्षमा निरन्तर आवाज उठाउँदै आउनु भएको छ। किसान पेन्सन, कृषक वर्गीकरण, कृषक परिचयपत्र, उत्पादनको आधारमा अनुदान, बजार ग्यारेन्टी, कृषि न्यूनतम समर्थन मूल्य जस्ता विषय उहाँका प्रमुख एजेन्डा हुन्। सरकारका कृषि सम्बन्धी नीति तथा कार्यक्रम किसानसँग प्रत्यक्ष परामर्श गरेर मात्र निर्माण हुनुपर्छ भन्ने उहाँको स्पष्ट धारणा रहेको छ।
समाजले सम्मानका लागि व्यक्ति छनौटलाई निस्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।उक्त समितिको सदस्यमा उच्च अदालतका पूर्व न्यायधीस जगत नारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्य रहनुभएको थियो।
सम्मानका विधा र मापदण्ड समाजसँगको परामर्शमा समितिले निर्धारण गरेको थियो।जसअनुसार विशिष्ट व्यक्तित्व सम्मान छनौट समितिले पर्वतमा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याएका व्यक्ति मध्येबाट छनौट गरेको हो।
त्यसैगरी पर्वत शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान सम्बन्धित पालिकाको सिफारिस भएका उम्मेदवार मध्यबाट पर्वत जिल्लाका लागि पुर्याएको योगदानको मूल्याङ्कनका आधारमा छनोट गरिएको समाजका सदस्य अशोक पौडेलले कार्यक्रममा जानकारी दिनुभयो।
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...




