सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ । सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावका कारण तराई झर्ने क्रम नरोकिएको हो ।
नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन हजार ४५ जना बसाइँ सरेर आएका छन् । आव २०७९र८० मा एक हजार १२ जना नगरपालिकामा भित्रिएका थिए । सो सङख्या २०८०र८१ मा घटेर ९३५ मा सीमित भए पनि आव २०८१र८२ मा पुनः बढेर एक हजार ९८ पुगेको छ ।
बसाइँ सरेर आउनेहरूको आकर्षण मुख्यतया बजार क्षेत्र र बजार विस्तार हुँदै गरेका वडातर्फ केन्द्रित देखिन्छ । सूचना तथा प्रविधि शाखा प्रमुख लोगराज भट्टका अनुसार वडा नम्बर ८, १० र ११ मा जनघनत्व तीव्र रूपमा बढेको छ । वडागत विवरण अनुसार आव २०८१र८२ मा वडा नम्बर ८ मा सबैभन्दा बढी १६४ जना बसाइँ सरेर आएका छन् । वडा नम्बर ११ मा १३५, वडा नम्बर ७ र ५ मा समान १२५ तथा वडा नम्बर १० मा ११८ जना भित्रिएका छन् । यसअघिल्लो आव २०८०र८१ मा भने वडा नम्बर ८ मा सबैभन्दा बढी १९७ जना बसाइँ सरेर आएका थिए ।
बसाइँ सरेर आउनेमध्ये अधिकांश सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका रहेका छन् । त्यसपछि अछाम, बझाङ र बाजुराबाट आउनेको सङ्ख्या उल्लेख्य छ । बसाइँसराइ गर्नेमा अधिकांश पहाडी समुदायका नागरिक रहेका छन् भने आदिवासी थारु समुदायको सहभागिता भने निकै न्यून रहेको छ ।
यता, नगरपालिकाबाट अन्यत्र बसाइँ सरेर जानेहरूको सङ्ख्या पनि पछिल्लो वर्ष बढेको छ । आव २०७९र८० मा ३८८ र २०८०र८१ मा ३५४ जना बाहिरिएकोमा आव २०८१र८२ मा यो सङ्ख्या बढेर ५२२ पुगेको छ । यद्यपि, बाहिरिनेको तुलनामा भित्रिनेको सङ्ख्या झण्डै दोब्बर बढी देखिन्छ ।
पहाडी क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जालको पहुँच विस्तार भए पनि आर्थिक आत्मनिर्भरता र रोजगारीका अवसर नहुँदा बसाइँसराइ बढेको नगरपालिकाका नगर प्रवक्ता लालबहादुर ऐर बताउनुहुन्छ ।
“पहाडमा आधारभूत सेवा त पुगेका छन्, तर जीविकोपार्जनका लागि उद्योग, कलकारखाना र पर्याप्त कृषि आम्दानीको अभाव छ”, उहाँले भन्नुभयो, “त्यसैले मानिसहरू सहज जीवनयापन र अवसरको खोजीमा बजार र सडक पहुँच भएका क्षेत्रतर्फ केन्द्रित भइरहेका छन् ।” अव्यवस्थित बसाइँसराइका कारण तराई क्षेत्रमा जनघनत्व बढ्नेक्रम जारी रहेकाले खेतीयोग्य जमिन खण्डीकरण हुने र सहरी सेवामाथि चाप पर्ने चुनौती थपिँदै गएको उहाँको विश्लेषण रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...




