२०१६ देखि नेपालमै अड्किएको विश्व शान्ति मण्डला कहाँ छ?
काठमाडौं। १६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले तीन वर्ष लगाएर निर्माण गरेको विश्वकै सबैभन्दा ठूलो भनिएको ‘विश्व शान्ति मण्डला’ (थान्का) सन् २०१६ मा नेपाल ल्याइएपछि १० वर्ष बितिसक्दा पनि भेट्न सकिएको छैन।
उक्त थान्का न त जापान फर्कन सकेको छ, न पुनः सार्वजनिक रूपमा प्रदर्शन नै हुन सकेको छ। विश्व शान्तिको प्रतीक मानिने यो ऐतिहासिक मण्डला दशकदेखि बन्द कोठामा थन्क्याएर राखिएको र यसको अवस्था अझै रहस्यमै रहेको छ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ६०औं वर्षका अवसरमा सन् २०१६ नोभेम्बर ११ र १२ मा काठमाडौंको दशरथ रंगशाला, नोभेम्बर १८ र १९ मा पोखरा रंगशाला तथा नोभेम्बर २५ र २६ मा लुम्बिनी मैदानमा यो मण्डला भव्य रूपमा प्रदर्शन गरिएको थियो। तर प्रदर्शनीपछि नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले मण्डला जापान फिर्ता नगरेपछि विवाद सुरु भएको हो।
विश्वकै ठूलो मण्डलाको इतिहास
जापानी नागरिक कातागिरी याचुतादाको नेतृत्वमा सन् १९९९ देखि २००२ सम्म निर्माण गरिएको करिब २ हजार किलो तौलको यो मण्डला ८१ वटा टुक्रा जोडेर बनाइएको थियो। १६ देशका कलाकार, प्राविधिक र स्वयंसेवक सहभागी भएको यस परियोजनाको मुख्य उद्देश्य विश्व शान्तिको सन्देश फैलाउनु र प्रदर्शनीबाट संकलित रकम एशियाली मुलुकका बालबालिकाको शिक्षामा लगानी गर्नु थियो।
नेपालमा समेत दुईवटा टुक्रा निर्माण गरिएका थिए। निर्माणपछि यो मण्डला जापानसहित विभिन्न मुलुकमा प्रदर्शनी गर्ने योजना थियो।
२०१६ पछि सुरु भएको विवाद
सन् २०१२ मा नेपालमा सफल प्रदर्शन भएपछि कातागिरीले २०१६ मा पुनः नेपाल पठाउन स्वीकृति दिएका थिए। तर प्रदर्शनी सकिएपछि थकालीले मण्डला फिर्ता नगरेपछि विवाद सुरु भयो। कातागिरीले पटक–पटक नेपाल सरकार, जापानी दूतावास, मन्त्रालय र प्रशासनसँग सहयोग मागे पनि समाधान हुन सकेन।
उनका अनुसार मण्डला सन् २०२० को टोकियो ओलम्पिकमा समेत प्रदर्शन गर्ने तयारी थियो, तर नेपालमै अड्किएकाले त्यो अवसर पनि गुम्यो। श्रीलंका, म्यानमारलगायतका देशबाट आएका प्रस्ताव पनि कार्यान्वयन हुन सकेनन्।
उच्च अदालतको पछिल्लो आदेश
उच्च अदालत पाटनको संयुक्त इजलास (माननीय न्यायाधीश कविप्रसाद न्यौपाने र अच्युत कुइँकेल) ले हालै दिएको आदेशअनुसार सूर्यबहादुर थकालीको घरबाट बरामद गरिएका ८१ थान थान्का हाल लुम्बिनी विकास कोषको जिम्मामा रहेको उल्लेख छ। अदालतले ती थान्काको अवस्था के कस्तो छ र ती काठमाडौँ फर्काइएका छन् वा छैनन् भन्ने जानकारी माग गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८२ वैशाख १५ गते थकालीको घरबाट ८१ थान थान्का बरामद गरी २०८२ वैशाख १६ गते लुम्बिनी बिकास कोषलाई जिम्मा लगाइएको थियो।
तर लुम्बिनी विकास कोषले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पछिल्लो पत्रअनुसार ती थान्का काठमाडौँ कहाँ पठाइएका छन् र हाल कसको जिम्मामा छन् भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
दशकदेखि बन्द कोठामा, आजसम्म प्रदर्शन हुन सकेन
८४ वर्षीय जापानी नागरिक कातागिरी याचुतादा विगत १० वर्षदेखि मण्डला फिर्ता लिन पटक–पटक नेपाल आइरहेका छन्। उनका अनुसार
“विश्व शान्तिको प्रतीक यस्तो ऐतिहासिक कृति दशकभर जनताबाट टाढा राखिनु दुःखद मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै नेपालको प्रतिष्ठामा असर पार्ने विषय हो,” उनले भने।
कानुनी प्रक्रिया पुराएरै नेपाल ल्याएको थकालीको दाबी
सूर्यबहादुर थकाली भने आफूले कानुनी प्रक्रिया पूरा गरेर मण्डला नेपाल ल्याएको र संयुक्त सम्पत्तिका रूपमा आफू पनि यसको हिस्सेदार भएको दाबी गर्दै आएका छन्। उनले अमेरिकामा भएको सम्झौताका आधारमा मण्डला आफ्नो पनि भएको अदालतमा दाबी गरेका थिए।
तर कातागिरीले उक्त सम्झौता नक्कली भएको भन्दै हस्ताक्षर आफ्नो नभएको आरोप लगाएका छन्। उनका अनुसार मण्डला बनाउने अवधारणा आफ्ना साथी किता मुराको हो र मण्डला एम–२१ नेटवर्क टोकियोको परियोजना हो।
भन्सार कागजातले फर्काउने दायित्व देखाउँछ
तत्कालीन भन्सार विभागका महानिर्देशकको परिपत्रमा प्रदर्शनीका लागि ल्याइएका मण्डला फिर्ता हुने गरी लगत राख्न निर्देशन दिइएको देखिन्छ। थकाली स्वयंले भन्सार छुट माग्दै लेखेको पत्रमा पनि ‘फिर्ता हुने गरी अभिलेख राखी’ भन्ने उल्लेख गरिएको अभिलेखमा छ। तर थकाली भने आफूले भन्सार तिरेर ल्याएको भन्दै फिर्ता गर्नुपर्ने बाध्यता नहुने दाबी गर्दै आएका छन्।
सरकारको भूमिका प्रश्नमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी र अदालतबाट पटक–पटक पहल भए पनि मण्डला अन्ततः कहाँ छ, कसको जिम्मामा छ र कहिले सार्वजनिक प्रदर्शन वा जापान फिर्ता हुन्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
विश्व शान्तिको प्रतीक मानिने ऐतिहासिक मण्डला २०१६ देखि बन्द कोठामा थन्किएको अवस्थामा रहँदै आएको छ, र दशक बित्दा पनि न त यसको संरक्षण सुनिश्चित भएको छ, न त पुनः प्रदर्शन नै सम्भव भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
विश्वप्रकाश शर्मा : रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको...
झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा हुँदैछ : विष्णु पौडेल
भैरहवा। पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा...
चितुवाको आक्रमणले दुईको ज्यान गएपछि प्रशासन घेराउ
गुलरिया। एक दिनमा दुई जनाको चितुवाको आक्रमणबाट ज्यान गएपछि पीडित परिवारका सदस्य र स्थानीयले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ...
निर्वाचन आयोगले हालसम्म सोध्यो ३४ स्पष्टीकरण, २४ को जबाफ
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार...




