Breaking News

पञ्चायतदेखि सङ्घीय गणतन्त्रसम्म बर्चस्व पाएका शरदसिंह भण्डारी

महोत्तरी । नेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, आन्दोलन र प्रयोगको साक्षी रहँदै आएको छ । यही परिवर्तनशील राजनीतिमा केही यस्ता व्यक्तित्व छन्, जसले शासन प्रणाली जेसुकै भए पनि जनमतको परीक्षणबाट कहिल्यै पन्छिन चाहेनन् । त्यस्तै एक विशिष्ट नाम हो—शरदसिंह भण्डारी ।

वि।सं। २०३८ सालदेखि हालसम्म निरन्तर चुनावी मैदानमा उभिनु सामान्य विषय होइन । पञ्चायत व्यवस्था, बहुदलीय प्रजातन्त्र, संविधानसभा हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि भण्डारीको राजनीतिक सक्रियता र चुनावी प्रतिबद्धता अविच्छिन्न देखिन्छ । उहाँले वि।सं। २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो । महोत्तरीबाट चुनाव जित्दै राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएका उहाँ त्यसयता प्रत्येक निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ ।

वि।सं। २०४३ को दोस्रो राष्ट्रिय पञ्चायत निर्वाचनमा पुनः विजयी हुनुभएका भण्डारी बहुदलीय व्यवस्थापछि पनि राजनीतिबाट अलग हुनुभएन । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नुभयो, यद्यपि उक्त निर्वाचनमा पराजय बेहोर्नु पर्‍यो । तर उहाँका लागि पराजय अन्त्य थिएन, बरु निरन्तरताको अर्को अध्याय थियो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भई प्रतिनिधिसभामा प्रवेश गर्नुभएका भण्डारीले २०५६ सालमा नेपाली कांग्रेसबाट उम्मेदवार भई पुनः जित हासिल गर्नुभयो । त्यसपछि मधेस केन्द्रित राजनीतितर्फ उन्मुख हुँदै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवार बन्नुभयो, तर उक्त निर्वाचनमा सफलता प्राप्त हुन सकेन ।

२०७० सालमा दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै पराजय भोग्नुपरे पनि उहाँको राजनीतिक यात्रामा विराम आएन । २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–२ बाट क्रमशः राजपा र लोसपाबाट उम्मेदवार भई विजयी हुनुभयो । हाल उहाँ जनता समाजवादी पार्टी ९जसपा० नेपालको तर्फबाट पुनः प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको छ । यो उहाँको दशौँ चुनावी प्रयास हो, जुन आफैंमा एउटा कीर्तिमान हो ।

चुनावी यात्रासँगै भण्डारीको मन्त्री पदको इतिहास पनि अत्यन्तै विशिष्ट छ । उहाँले पञ्चायत कालदेखि हालसम्म करिब २० पटक मन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्रीदेखि लिएर स्वास्थ्य, रक्षा, पर्यटन, श्रम, ऊर्जा, युवा तथा खेलकुदजस्ता महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दै उहाँले विभिन्न कालखण्डमा शासन व्यवस्थाको अनुभव लिनुभएको छ ।

मरीचमान सिंह श्रेष्ठदेखि लिएर शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, माधव नेपाल, डा। बाबुराम भट्टराई, केपी शर्मा ओली र पुष्पकमल दाहालसम्मका सरकारमा मन्त्री भइसक्नुभएका भण्डारी नेपालको समकालीन राजनीतिक इतिहासका साक्षी मात्र होइन, सक्रिय पात्र पनि हुनुहुन्छ ।

पार्टी परिवर्तन, विचारको पुनर्संयोजन र सत्ता–विपक्षको यात्रा हुँदै पनि चुनावी लोकतन्त्रप्रतिको उहाँको प्रतिबद्धता अद्वितीय देखिन्छ । पञ्चायतदेखि सङ्घीय गणतन्त्रसम्म निरन्तर चुनाव लडिरहनु उहाँको राजनीतिक जिद, अनुभव र आत्मविश्वासको प्रतीक हो । यही निरन्तरताले शरदसिंह भण्डारीलाई नेपाली राजनीतिमा एक अलग पहिचान दिएको छ ।

फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं। २ बाट उम्मेदवार बन्नुभएका भण्डारीलाई यस पटक जित निकाल्न त्यति सहज देखिँदैन । यस क्षेत्रबाट कांग्रेसका किरण यादव, नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मणकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार शाहसहित १५ राजनीतिक दलका र २२ स्वतन्त्र गरी जम्मा ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

नेता भण्डारीले चुनावमा लडेका सबैलाई समान रूपमा प्रतिस्पर्धीका रूपमा लिएको बताउनुहुन्छ । उहाँले सबै उम्मेदवार अहिले परीक्षामा बसेको र जनताले जसले राम्रो काम गरेको छ तथा जनताका लागि राम्रो गर्न सक्ने उम्मेदवारलाई नै जिताउने बताउनुभयो । आफूले राम्रो काम गरेको भए जनताले पुनः अवसर दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

भङ्गहा नगरपालिका–१, २, ६, ७ र ८, बलवा नगरपालिका–११, लोहरपट्टि नगरपालिका–९, महोत्तरी गाउँपालिका–६, औरही नगरपालिका–७, ८ र ९, पिपरा गाउँपालिका–६ तथा एकडारा गाउँपालिका–६ महोत्तरी क्षेत्र नम्बर–२ मा पर्छन् ।

यस क्षेत्रमा एक लाख सात हजार ५९४ मतदाता छन् । साथै ६२ मतदानस्थलमा १३३ मतदान केन्द्रको व्यवस्था गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताउनुभयो । निर्वाचन अभियान अघि बढेसँगै यसलाई स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

स्थानीयका अनुसार यस क्षेत्रको मुख्य समस्या वर्षायाममा बाढी, कटान र डुबान तथा सुख्खा याममा खानेपानीको अभाव रहेकाले यी समस्याको समाधान गर्ने उम्मेदवारलाई मत दिने बताएका छन् ।

नदीको बहाव व्यवस्थापनका लागि मजबुत तटबन्ध, कुलो तथा नहरको समुचित प्रबन्ध नहुँदा हरेक वर्ष स्थानीय बासिन्दाले दुःख भोग्नुपरेको बलवा नगरपालिका–२ का सिकिन्दर पासवान बताउनुहुन्छ । उहाँका अनुसार वर्षायाममा बाढी, कटान र डुबानको समस्या मात्र होइन, सुरक्षित खानेपानीको समेत चरम अभाव देखिने गरेको छ ।

त्यस्तै, लोहरपट्टि निवासी लक्ष्मेश्वर यादवका अनुसार किसानका लागि सिँचाइको सुनिश्चितता, समयमा गुणस्तरीय बिउ–बिजन र मलखादको उपलब्धता, सहज कृषि कर्जा तथा बाढीबाट बचाउने स्थायी बाँध निर्माणको प्रतिबद्धता जनाउने उम्मेदवारलाई नै आफूहरूले मत दिने बताएका छन् । गोरखापत्रबाट

सम्बन्धित समाचार

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...

ओली पनि नियन्त्रणमा

ओली पनि नियन्त्रणमा

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।...

रमेश लेखक पक्राउ

रमेश लेखक पक्राउ

काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएको छ। सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै...