भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले नेपालको लोकतन्त्र क्रमशः ‘गाईजात्रा’ र ‘महामूर्ख सम्मेलन’ मा परिणत हुँदै गएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । राजनीतिक नेतृत्वमा हुनुपर्ने ‘राजनीतिक सङ्कल्प’ को अभावले सुशासन आउन नसकेको भुसालको भनाइ छ । आसन्न निर्वाचनलाई भुसालले ‘अवाञ्छित’ र ‘अपरिहार्य’ को संज्ञा दिनुभयो । नेपालको वैदेशिक सहयोग र अनुदानमा बाँच्ने इतिहासलाई उहाँले ‘अपमानको आधुनिक इतिहास’ भएको बताउनु भयो ।
लोकतन्त्रको गाईजात्रा र झुटको राजनीति
नेता भुसालले लोकतन्त्र क्रमशः ‘गाईजात्रा’ र ‘महामूर्ख सम्मेलन’ मा परिणत हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । पञ्चायत कालमा व्यङ्ग्य साहित्यको माध्यमबाट विकृति देखाइने प्रचलन भएपनि अहिले लोकतन्त्रभित्रै नालायकीहरूको प्रदर्शन भइरहेको उहाँको तर्क छ । ‘चुनाव अहिले कसले सबभन्दा बढ्ता झुट बोल्नसक्छ र कसले सबभन्दा बढ्ता ढाँट्न सक्छ भन्ने प्रतिष्पर्धाको राष्ट्रिय मञ्च बनेको छ ।’ भुसालले भन्नुभयो । उहाँकाअनुसार यदि जनताले यो तथ्यलाई वास्ता गरेनन् भने मुलुकले गम्भीर ठक्कर खाने निश्चित छ ।
सडक र बाटोको फरकः गन्तव्यबिहीन विकास
विकासको चर्चा गर्दा सबैले ‘सडक’ को कुरा गरे पनि कसैले ‘बाटो’/दिशाको कुरा नगरेको भुसालको विश्लेषण छ । सडकले भौतिक संरचना मात्रै बताउँछ तर बाटोले गन्तव्य र दिशा निर्देश गर्छ । हरेक चुनावमा उही सडकका कुरा दोहोरिने तर मुलुक कता जाँदैछ भन्ने स्पष्ट मार्गचित्र नहुने गरेको उहाँको दाबी छ । नयाँ आएका शक्तिहरू र पुराना दलहरू सबैले घोषणापत्रमा उही ‘ढाँट्ने’ शैली अपनाएको र सारमा सबै एउटै रहेको उहाँले आरोप लगाउनुभयो । ‘सडकले बाटो बताउँदैन, दिशा बताउँदैन र गन्तव्य पनि बताउँदैन । हामी सडक चिल्लो बनाउने कुरा गर्दैछौँ तर हामी स्वयं कता जाँदैछौँ भन्नेकुरा हराएको छ ।’
अवाञ्छित तर अपरिहार्य निर्वाचन
आसन्न निर्वाचनलाई भुसालले ‘अवाञ्छित’ र ‘अपरिहार्य’ दुवै संज्ञा दिनुभएको छ । यो जनताले चाहेर भन्दा पनि असाधारण भवितव्यका कारण आएको चुनाव भएको उहाँको बुझाइ छ । जेन—जी प्रदर्शन, भ्रष्टाचार र मुठ्ठीभर नेताहरूको नालायकीले उत्पन्न गरेको संकटलाई समाधान नगरी चुनावमा जानु विस्फोटक स्थिति निम्त्याउनु भएको उहाँले चेतावनी दिनुभयो ।
परनिर्भरताको अपमानजनक इतिहास
नेपालको वैदेशिक सहयोग र अनुदानमा बाँच्ने इतिहासलाई उहाँले ‘अपमानको आधुनिक इतिहास’ भन्नुभएको छ । राजाको पालादेखि नै आएको अनुदानलाई उत्पादन वृद्धिमा लगाउन नसक्दा मुलुक परनिर्भर भएको उहाँको तर्क छ । भारत र चीन जस्ता छिमेकीहरूले आफ्नै बलमा विकास गर्दा नेपाल भने पश्चिमाहरूको उदारवादी र निजीकरणको ‘कुबाटो’ मा हिँडेर उद्योगहरू बेच्ने र बेरोजगार उत्पादन गर्ने ठाउँ बनेको उहाँको दाबी छ ।
उद्यमशीलताः कृषिलाई मेरुदण्ड बनाउने सङ्कल्प
मुलुकको अस्थिरता र द्वन्द्वको मुख्य कारण उद्यमको अभाव रहेको भुसालको ठम्याइ छ । ‘जसले उद्यम गर्दैन, त्यो मुलुक बर्बादी र गृहयुद्धमा फसिरहन्छ ।’ उहाँले भन्नुभयो ।
युवा पलायन रोक्नका लागि कृषिलाई नै उद्यमको आधार बनाउनुपर्ने उहाँको प्रश्ताव छ । हरेक किसान परिवारको मासिक ४० देखि ५० हजार रुपैयाँ बचत सुनिश्चित नहुन्जेल समृद्धिको कुरा बेकार रहेको उहाँले बताउनु भयो । कृषिलाई औद्योगिकरणसँग जोड्दै राष्ट्रिय पुँजीपतिको संरक्षण गर्ने नीति राज्यले लिनुपर्ने उहाँको जोड छ ।
भ्रष्टाचारविरुद्धको ‘घुस नखाने’ सङ्कल्प
राजनीतिक नेतृत्वमा हुनुपर्ने ‘राजनीतिक सङ्कल्प’ को अभावले सुशासन आउन नसकेको भुसालको भनाइ छ । उहाँले आफ्नो पार्टीलाई ‘घुस नखाने पार्टी’ को रूपमा चिनाउँदै यो केवल सस्तो नारा नभई एउटा गम्भीर सैद्धान्तिक र कार्यक्रमिक सङ्कल्प भएको स्पष्ट पार्नुभयो । राज्यका सबै तहमा हुने भ्रष्टाचारको छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने उहाँको माग छ ।
बहुध्रुवीय विश्व र नेपालको विदेश नीति
अन्तर्राष्ट्रिय परिस्थितिलाई क्यापिटलाइज गर्न नसक्नु अर्को ठूलो कमजोरी भएको उहाँले बताउनु भयो । अबको विश्व एकध्रुवीय नरही बहुध्रुवीय हुँदै गएको सन्दर्भमा बीआरआई, ब्रिक्स बैंक र एशियन इन्फ्रास्ट्रक्चर बैंक जस्ता निकायहरूसँग नेपालको आफ्नै शर्तमा साझेदारी गर्नुपर्ने उहाँको धारणा छ । विदेशीका ‘प्रेस्क्रिप्सन’ मानेर भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीति सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। नेता भुसालले मुलुकलाई ठगिने र दुःख पाउने क्रमबाट जोगाउनका लागि आफ्नो पार्टीले ल्याएका एजेण्डाहरूमा बहस हुनुपर्ने र जनताले सही बाटो रोज्नुपर्ने बताउनुभयो ।
—न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
अण्डाको मूल्य बढ्यो
चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...
‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...
देशभर एकैदिन १९ का विपद्का घटना
काठमाडौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म...




