राप्रपालाई बहुमत नदिए देश नै नरहन सक्छ : लिङ्देन
झापा । राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकास र जनताले गरेको अनुभूति स्मरण गराउनुभएको छ।
शनिबार राजगढमा आयोजित आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो दुई कार्यकालमा भएका विकास र प्रगतिलाई स्मरण गराउँदै मतदातालाई भन्नुभयो, ‘भोट दिन मन नलागे नदिनुस्, तर यस क्षेत्रमा केही काम नै भएको छैन चाहि नभन्नुस् ।’
आफू सो क्षेत्रमा निर्वाचित हुनुअघि शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रको लथालिङ अवस्थालाई स्मरण गराउँदै अध्यक्ष लिङ्देनले आफू निर्वाचित भएपछि स्थानीय तहसँग समन्वय गरेर सडक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गरेको पुनः सम्झाउनुभयो ।
‘आजभन्दा आठ वर्षअगाडि यो क्षेत्रबाट सांसदको हिसाबले तपाईंहरूले मलाई चुनाव जिताउनुभयो । आठ वर्षदेखि यो क्षेत्रको प्रतिनिधि छु । आठ वर्ष अगाडि यो ठाउँको अवस्था के थियो ? एउटा कतै हामीले कालोपत्रे सडक देखेका थियौँ ? हाम्रो बाटोको अवस्था के थियो ? नदीको अवस्था के थियो ?’ उहाँले भन्नुभयो, ‘आज नदी तटबन्धका कामहरू भएका छन्। सडक कालोपत्रे भएका छन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि काम भएका छन्।’
आफ्नो सिफारिसमा स्थानीय तहले पनि काम गरेको जानकारी दिँदै उनले आफ्नै सिफारिसमा भारतको सिमानासम्म सडक बनेको बताउनुभयो।
‘भारतको सिमानासम्म यो बाटो कसले बनायो ? म आज चुनौतीका साथ भन्छु कि कसैले यो बाटो मेरो सिफारिसमा बनेको हो । यसलाई कसले होइन भनेर प्रमाणित गर्छ भने म मैदान छाडेर उसलाई सघाउँछु,’ अध्यक्ष लिङ्देनले भन्नुभयो।
अध्यक्ष लिङ्देनले समाचारहरुमा आएजस्तो कुनै पनि राजनीतिक दलहरुसँग राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल नगरेको बताउनु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै देश र जनता जोगाउने हो भने यो ब्यबस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने दाबी गर्नुभयो। आफुलाई र राप्रपालाई राप्रपाको मात्रै होइन सबै पार्टी र विचारप्रति आस्थावानहरुको भोट चल्ने बताउँदै हलोमा भोट हाल्न मतदातालाई आग्रह समेत गर्नुभएको छ। लिङ्देनले राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताउनुभएको छ।
सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी बेग्लै पहिचान बोकेर अगाडि बढेको उल्लेख गर्नुभयो।
राप्रपालाई बहुमत नदिए देश नै नरहने जिकिर गर्दै उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बहुमत दिन आम मतदातालाई अपिल समेत गर्नुभयो। अहिले देशमा दुइखाले अतिवाद हावी भइरहेको छ, यस्तो अवस्थामा देशलाई स्थिर र समन्वयकारी शक्तिको खाँचो छ, त्यो शक्ति राप्रपा नै भएको प्रष्ट पार्दै अध्यक्ष लिङ्देनले आगामी संसदमा बलियो राप्रपा चाहिने हुँदा सोचविचार गरेर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...
निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न...
निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्याउँछौँः गृहमन्त्री
काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको...
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...




