Breaking News

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा सर्वसाधारणका घरलाई लक्षित गरेको आरोप लगाउँदै कम्तीमा चार जना नागरिक मारिएको जनाएको छ ।

दुई छिमेकी मुलुकबिच जारी सैन्य तनाव तेस्रो हप्तामा प्रवेश गरेका बेला यस्तो आरोप सार्वजनिक भएको हो । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानका विमानले कान्दाहार विमानस्थल नजिक रहेको निजी एयरलाइन्स ‘काम एयर’सँग सम्बन्धित इन्धन डिपोमा पनि प्रहार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त डिपोबाट नागरिक विमानका साथै संयुक्त राष्ट्रसङ्घका उडानलाई समेत इन्धन आपूर्ति हुँदै आएको थियो ।

यस घटनाबारे पाकिस्तान सरकार वा सेनाले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । पछिल्ला हप्तामा पाकिस्तान र अफगानिस्तानबिच सैन्य तनाव तीव्र बनेको छ । फेब्रुअरीको अन्त्यदेखि दुवै पक्षले एक अर्काका सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् । काबुलले सीमा क्षेत्रमा भएको पाकिस्तानी आक्रमणको जवाफ स्वरूप आफ्ना बलले पाकिस्तानी चौकीमा प्रहार गरेको बताउँदै आएको छ ।

यता पाकिस्तानले भने आफ्ना कारबाही पाकिस्तानी तालिबान र सीमावर्ती क्षेत्रमा सक्रिय उनीहरूको समर्थन सञ्जाललाई लक्षित गरी गरिएको दाबी गर्दै आएको छ । अफगानिस्तानले भने त्यस्तो समूहलाई औपचारिक रूपमा मान्यता दिएको छैन । दुवै पक्षले पछिल्ला वर्षकै सबैभन्दा घातक भिडन्त भएको दाबी गर्दै आएका छन् । इस्लामाबादले त हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ जस्तै परिस्थिति भएको रूपमा व्याख्या गरेको छ ।

मुजाहिदले आफ्नो वक्तव्यमा पाकिस्तानी आक्रमणले पक्तिया, पक्तिका लगायत विभिन्न प्रान्तका नागरिक क्षेत्र र निर्जन स्थानलाई निशाना बनाएको उल्लेख गर्दै ती आक्रमणको ‘जवाफ नदिइकन नजाने’ चेतावनी दिनुभयो । काबुल प्रहरीका प्रवक्ता खालिद जादरानका अनुसार राजधानीमा भएका आक्रमणका कारण बालबालिकासहित कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

देशका अन्य भागमा कति क्षति भयो भन्नेबारे स्पष्ट विवरण भने सार्वजनिक भएको छैन । यसैबिच, चीनका विशेष दूत युए सियाओओङ काबुल भ्रमणपछि इस्लामाबाद पुगेको समयमा पनि क्षेत्रीय सुरक्षा र आतङ्कवादी समूहको खतरा मुख्य छलफलको विषय बनेको थियो । अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूत मोहम्मद सादिकले एक्समा लेख्दै उहाँले चिनियाँ दूतसँग भेटेर तहरीक-ए-तालिबान पाकिस्तान र पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन जस्ता समूहले निम्त्याएको सुरक्षा चुनौतीबारे छलफल गरेको बताउनुभएको छ । दुवैले स्थायी शान्ति र स्थिरताका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा सहमति जनाएको पनि उहाँले उल्लेख गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय समुदायबाट संयम अपनाउन गरिएको बारम्बारको आग्रहले भने अहिलेसम्म खास प्रभाव पार्न सकेको देखिँदैन । पाकिस्तानले यसअघि आफ्ना आक्रमण केवल ‘खवारीज’ नामले सम्बोधन गर्ने प्रतिबन्धित पाकिस्तानी तालिबान लडाकूलाई लक्षित गरिएको दाबी गर्दै आएको छ । इस्लामाबादले अफगानिस्तानको तालिबान सरकारमाथि उक्त समूहलाई शरण दिएको आरोप लगाउने गरेको छ, तर काबुलले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

सन् २०२१ मा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र र सीमावर्ती क्षेत्रमा आक्रमण बढाएको पाकिस्तानको दाबी छ । इस्लामाबादले अफगान भूभागबाट सञ्चालित टिटिपी र अन्य आतङ्कवादी समूहलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचालिएसम्म आफ्नो सैन्य कारबाही जारी रहने चेतावनी दिएको छ ।

हालको सैन्य टकरावले गत अक्टोबरमा कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविरामसमेत अन्त्य गरिदिएको छ । कतारमा हस्ताक्षर भएको उक्त युद्ध विरामपछि इस्तानबुलमा छ दिनसम्म वार्ता भएको थियो, जसले युद्धविराम विस्तार गर्ने र नोभेम्बरमा तेस्रो चरणको वार्ता गर्ने सहमति गराएको थियो । तर पछिल्ला झडपले फेरि दुई छिमेकी मुलुकलाई युद्धको नजिक पुर्याएको सङ्केत दिएका छन् । रासस/एपी

सम्बन्धित समाचार

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

काठमाडौँ उपत्यकामा फोहोर विसर्जन अवरुद्ध

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकिएको छ ।बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास...