कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् ।
कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा ६६ जना सैनिकको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार अझै चार जना सैनिक बेपत्ता रहेका छन् । “यो अत्यन्त दुःखद घटना हो, जसले हाम्रो सेनामा ठुलो क्षति पुर्याएको छ”, उहाँले भन्नुभयो । उहाँले प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना कुनै अवैध सशस्त्र समूहको आक्रमणका कारण भएको देखिँदैन भन्दै त्यस्तो कुनै सङ्केत हालसम्म नदेखिएको स्पष्ट पार्नुभयो ।
दुर्घटनास्थल पोर्टो लेगुइजामो, पुतुमायो प्रान्तमा पर्छ । यो इक्वेडर र पेरुको सीमासँग जोडिएको दुर्गम अमेजन क्षेत्र हो । स्थानीय उपमेयर कार्लोस क्लारोसले मृतकको शव सानो सहरको शव गृहमा राखिएको र सीमित स्वास्थ्य पूर्वाधारका कारण घाइतेलाई प्राथमिक उपचारपछि ठुला सहरतर्फ पठाइएको बताउनुभयो । उहाँले स्थानीय बासिन्दाले उद्धारमा सक्रिय सहयोग गरेको भन्दै आभार व्यक्त गर्नुभयो ।
कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले दुर्घटनाग्रस्त विमानले पुतुमायोको अर्को क्षेत्रमा सेना लैजाँदै गरेको जानकारी दिनुभयो । विमानमा ११५ जना सैनिक, ११ जना चालक दलका सदस्य र दुई जना राष्ट्रिय प्रहरी सवार थिए । दुर्घटनापछि ५७ जनालाई जीवितै उद्धार गरिएको बताइएको छ । दुर्घटनापछि सार्वजनिक भएका तस्बिर र भिडियोमा दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ उठिरहेको देखिन्छ भने सैनिक र स्थानीय बासिन्दा उद्धार तथा आगो निभाउने प्रयासमा जुटेको दृश्य देखिन्छ ।
केही घाइतेलाई मोटरसाइकलमार्फत हतारमा सुरक्षित स्थानतर्फ सारिएको थियो । कोलम्बियाको वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको कारणबारे अझै स्पष्ट हुन नसकेको बताउनुभयो । उहाँका अनुसार विमानमा प्राविधिक समस्या आएको र विमानस्थलबाट करिब दुई किलोमिटर टाढा खसेको हो । घाइतेको उद्धारका लागि विशेष विमानमार्फत राजधानी बोगोटा लगायतका अस्पतालमा सारिएको छ ।
दुर्घटनालाई लिएर राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य उपकरणको आधुनिकीकरण आवश्यक रहेको पुनः जोड दिनुभयो । उहाँले प्रशासनिक कमजोरी र ढिला सुस्तीका कारण सुधारका प्रयास अवरुद्ध भएको उल्लेख गर्दै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउनुपर्ने सङ्केत गर्नुभयो । यद्यपि विपक्षीले भने बजेट कटौतीका कारण सैन्य उडान समय घट्दा अनुभवहीन चालक दलका सदस्य बढेको र त्यसले जोखिम बढाएको तर्क गरेका छन् ।
उड्डयन तथा सैन्य विश्लेषक एरिक सौमेथका अनुसार दुर्घटनाग्रस्त ‘हकुलुलस सी(१३०’ विमान सन् २०२० मा अमेरिकाले कोलम्बियालाई उपलब्ध गराएको थियो र त्यसपछि यसको विस्तृत मर्मत सम्भार पनि गरिएको थियो । उहाँले विमानमा प्रयोग गरिएका उपकरण वा पाट्र्सको कमीका कारण दुर्घटना भएको सम्भावना कम रहेको बताउँदै इन्जिन किन उडानपछि छिट्टै असफल भयो भन्नेबारे अनुसन्धानले स्पष्ट पार्नुपर्ने उल्लेख गर्नुभयो ।
रक्षामन्त्री सान्चेजले पनि दुर्घटनास्थल नजिक सक्रिय विद्रोही समूहको संलग्नताको कुनै प्रमाण नभएको बताउनुभयो । उहाँले यस घटनालाई ‘राष्ट्रका लागि गहिरो पीडादायी’ भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । यो दुर्घटनाले कोलम्बियाको सुरक्षा संयन्त्र, सैन्य तयारी र पूर्वाधारमाथि गम्भीर प्रश्न उठाएको छ भने देशभर शोकको वातावरण सिर्जना गरेको छ । रासस/एपी
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...




