Breaking News

नवनिर्वाचित सांसदको शपथ आज

काठमाडौँ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । उहाँले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभयो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको र चैत १२ गते बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुने जानकारी दिनुभयो । उहाँले विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यलाई शपथ गराउनुहुने छ ।

प्रवक्ता गिरीका अनुसार नवनिर्वाचित सदस्यको विवरण सङ्कलन गर्नुपर्ने हुँदा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । सचिवालयले अभिलेख व्यवस्थापन गर्न नवनिर्वाचित सदस्यलाई उपलब्ध गराएको आवेदन भर्नुपर्ने, बैङ्क खाता र व्यक्तिगत सम्पर्क नम्बर संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउन आग्रह गरेको छ । शपथ लिन छुटेका सदस्यको अनुकूलता अनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथग्रहण गराउने व्यवस्था मिलाइएको छ । प्रवक्ता गिरीले भन्नुभयो, “छुटेका सदस्यलाई सभाको अध्यक्षले व्यक्तिगत रूपमा उहाँहरूको अनुकूलताबमोजिम शपथग्रहण गराउनुहुने छ ।”

चवन्न जनाले मातृभाषामा शपथ लिने

नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने सचिवालयलाई जानकारी गराएको छ । प्रवक्ता गिरीले भन्नुभयो, “बुधबार ५ बजेसम्म ५४ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी गराएका छन् । यो सङ्ख्या अझै बढ्न सक्छ ।” सचिवालयले नवनिर्वाचित सदस्यलाई आफूले शपथ लिन चाहेको सम्बन्धित भाषामा शपथको बेहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा तीन दिनअगावै जानकारी गराउन सूचित गरेको थियो तर शपथग्रहणको पूर्वसन्ध्यामा समेत नवनिर्वाचित सदस्यहरूले मातृभाषामा शपथ लिन चाहेको विवरण सचिवालयमा बुझाएका छन् ।

नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् । नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित सदस्यको शपथपछि कार्यकाल सुरु हुने छ ।

 

सम्बन्धित समाचार

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

ढाका । ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा...