Breaking News

मन्त्री आवास प्रबन्धमा समस्या

काठमाडौँ। नयाँ सरकारका मन्त्रीका लागि तत्काल आवास प्रबन्धमा समस्या हुने देखिएको छ । ‘जेनजी’ समूहको नाममा गत भदौ २४ गते भएको तोडफोड, लुटपाट र आगजनीबाट ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवासपरिसर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीको आवासका लागि समस्या देखिएको हो । एक वर्षअघि एक अर्ब ३४ करोड रुपियाँको लगानीमा निर्माण सम्पन्न भई सञ्चालन भएको सो आवास क्षणभरमै खरानी भएको थियो ।

यसअघि प्रायः एउटै आवास क्षेत्रमा बस्दै आउनुभएका मन्त्रीहरू अहिले छुट्टै छुट्टै बस्नुपर्ने अवस्था छ । अहिले सरकारका एक जना मन्त्री ललितपुरको भैँसेपाटी मन्त्री आवासमा नै बस्दै आउनुभएको छ । त्यसै गरी चार जना मन्त्री पुल्चोकस्थित पहिलाको मन्त्री निवासमा खाली रहेका ब्लकमा बस्दै आउनुभएको छ भने बाँकी मन्त्रीको आवासबारे अहिलेसम्म टुङ्गो लागेको छैन । यसअघि ललितपुरको भैँसेपाटीस्थित नयाँ मन्त्री आवास बनेर स्थानान्तरण भइसकेपछि पुल्चोक हरिहर भवनको मन्त्री आवास न्यायाधीशको आवासका रूपमा प्रयोग हुँदै आएको छ ।

सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले भैँसेपाटी मन्त्री आवास जलिसकेको र यसअघि मन्त्री आवासका रूपमा प्रयोग हुँदै आएको पुल्चोकस्थित मन्त्री आवासमा न्यायाधीश बस्दै आउनुभएकाले नयाँ मन्त्रीको आवास व्यवस्थापनमा समस्या भएको बताउनुभयो । सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालय अन्तर्गत नै सङ्घीय सरकारका मन्त्रीको आवास व्यवस्थापन हुँदै आएको छ । उहाँका अनुसार अहिले भैँसेपाटीमा रहेको मन्त्री निवासमा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल बस्दै आउनुभएको छ । जेनजी प्रदर्शनका क्रममा रक्षामन्त्रीका लागि छुट्याइएको भवन मात्र सुरक्षित रहन पुगेको थियो । त्यही भवनमा अहिले मन्त्री लम्साल बस्दै आउनुभएको हो । त्यसै गरी अहिले गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा

सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, स्वास्थ्य, जनसङ्ख्या, खानेपानीमन्त्री निशा मेहता र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम पुल्चोकस्थित हरिहर भवनमा रहेको पहिलेको मन्त्री निवासमा नै बस्दै आउनुभएको कार्यालयका प्रमुख कण्ठले जानकारी दिनुभयो ।

बाँकी मन्त्रीको आवास व्यवस्थापनबारे अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताउँदै कार्यालय प्रमुख कण्ठले भन्नुभयो, “अहिलेसम्म आवास सुविधा पाउन नसक्नुभएका मन्त्रीलाई आवासका लागि घर भाडामा लिने कि मन्त्रीले स्वयम् आवासको व्यवस्थापन गर्ने र आवासबापत रकम उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ ।” उहाँका अनुसार मन्त्रीको आवासका लागि घर भाडामा लिने वा मन्त्रीलाई भाडाबापतको रकम उपलब्ध गराउन आवश्यक बजेटबारे समेत छलफल र प्रक्रियागत काम भइरहेको छ ।

छ महिनापछि पुनर्निर्माण प्रक्रिया सुरु

सिंहदरबार सङ्घीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयले क्षतिग्रस्त भएको छ महिनापछि मन्त्री निवास पुनर्निर्माण प्रक्रिया सुरु गरेको छ । कार्यालयका प्रमुख कण्ठले क्षतिग्रस्त भएका २६ वटा भवनमध्ये बढी क्षति भएका ११ वटा भवनको अध्ययन गरी पुनर्निर्माणका लागि पहिलो चरणमा बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । मन्त्री निवासमा कुल २७ वटा भवन छन् । रक्षामन्त्रीका लागि छुट्याइएको निवासमा सामान्य क्षति पुगेको थियो । सामान्य मर्मतपछि यसलाई बस्न योग्य बनाउन सकिने उहाँले बताउनुभयो ।

प्रमुख कण्ठले भन्नुभयो, “चालु आर्थिक वर्ष (२०८२/८३) को असार मसान्तसम्म भैँसेपाटी मन्त्री आवासको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।” उहाँका अनुसार क्षतिग्रस्त बाँकी १५ वटा भवनको पुनर्निर्माणका लागि अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि बोलपत्र आह्वान गरिने छ ।

२०७५ मङ्सिर १७ गते बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सुरक्षा गार्ड भवन, हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङ पुल र पार्किङसहितको सो आवास क्षेत्र निर्माण गरिएको थियो ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सङ्घीय मन्त्री निवास निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबिच २०७६ कात्तिक २७ गते सम्झौता भएको थियो । करिब एक अर्ब ३४ करोड रुपियाँको कुल लागतमा यो आवास क्षेत्रको निर्माण भएको थियो । कुल ९६ रोपनी १० आनामा फैलिएको यस आवास क्षेत्रमा मन्त्रीहरू २०८२ साउनदेखि मात्रै सर्न सुरु गरेका थिए । यसअघि ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासका भवन जीर्ण र साँघुरो भएपछि भैँसेपाटीमा मन्त्रीका लागि आधुनिक आवास निर्माण गरिएको थियो । पुल्चोकमा २०२८ सालमा निर्मित १४ वटा र २०५४ मा थपिएका पाँच वटा भवनमा मन्त्री आवास थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक

राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक

काठमाडौँ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सत्तापक्षको उपस्थिति नहुँदा सत्तापक्षको नेतालगायतका पदाधिकारीको हैसियत प्रदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी...

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँ। काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने र सेवा ग्राहीहरूलाई...

प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश

प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश

काठमाडौँ। प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्नेसहित संघीय संसद सचिवालयले...

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट...