Breaking News

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी। सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले ९६ प्रतिशत ढडेलोको कारण मानवीय लापरवाही भएको पाइएको बताउनुभयो ।

“घाँस पलाउने बाहना, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो”, उहाँले भन्नुभयो, “खोरीया फडानी गरी खेती गर्न, हिंस्रक वन्यजन्तु धपाउन, वन्यजन्तुको सिकार, वन अपराध लुकाउन, वन कर्मचारी वा छिमेकी वन उपभोक्ता समूहसँगको रिसइवीका कारण डढेलो लगाउने गरेको पाइएको छ ।”

फागुन, चैत, वैशाख र जेठमा बढी डढेलो लाग्ने गरेको छ । रुख बिरुवा, जडीबुटी, वन्यजन्तु र पन्छीको वासस्थान डढेलोबाट नष्ट हुने गरेको छ । डढेलो निभाउने क्रममा विगतका वर्षमा मानवीय क्षति भएको थियो । म्याग्दी डढेलोको जोखिमका हिसाबले नेपालका ७७ जिल्लामध्ये ३०औँ स्थानमा छ ।

आर्थिक वर्ष २०७९/८० मा १०२ ठाउँमा ७९० हेक्टर, २०८०/८१ मा १४५ स्थानमा ८९० हेक्टर र २०८१/८२ मा ११५ स्थानमा ८०५ हेक्टर वन डढेलोले क्षति गरेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । गोठालाले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने चलन छ । सिकारीले वन्यजन्तु र पन्छीलाई भगाउन डढेलो लगाउँछन् । चालु आर्थिक वर्षमा डढेलोको क्षतिको विवरण सङ्कलन गर्न थालिएको वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो ।

जिल्लास्तरमा डढेलो रोकथाम तथा नियन्त्रण कार्ययोजना बनाएर सुरक्षा निकाय, प्रशासन, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरिएको उहाँले बताउनुभयो । डढेलो लाग्न नदिन प्रतिकारात्मक र लागेको डढेलो नियन्त्रणमा लिन नियन्त्रणत्मक रणनीति बनाइएको छ । सम्भव भएको ठाउँमा मानवीय र भौतिक सम्पत्ति जोगाउने रणनीति लिइएको छ ।

वन उपभोक्ता र विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रमका साथै सुरक्षा निकायलाई डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध गराएको वन अधिकृत शान्तिकुमारी शाहीले बताउनुभयो । उहाँका अनुसार डढेलो नियन्त्रणका लागि पानी सङ्कलन र वन्यजन्तुलाई पानीका लागि मानव बस्तीमा आउन नपरोस् भनेर यस वर्ष छवटा सामुदायिक वनमा पोखरी निर्माणको तयारी भएको छ ।

जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । ३६।७६ प्रतिशत वन, १।८५ प्रतिशत झाडी र २१।२७ प्रतिशत चरन क्षेत्र छ । तीन सय ११ वटा सामुदायिक वन उपभोक्ता समूह छन् ।
–––

सम्बन्धित समाचार

पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप

पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप

पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना...

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ

जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका कैदी ६ महिनापछि ठमेलबाट पक्राउ परेका छन्। लागूऔषध मुद्दामा कैद...

अभिमुखीकरण कार्यक्रममा किन गएनन् रवि र बालेन?

अभिमुखीकरण कार्यक्रममा किन गएनन् रवि र बालेन?

काठमाडौँ। ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरअघि शुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछाने...

ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्याधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन...