झन्झटिलो जग्गा प्राप्ति र सुस्त बजेट खर्चले आयोजनाहरू अलपत्रः विश्व बैंक
काठमाडौँ। नेपालको पूर्वाधार विकासको गति सुस्त हुँदा त्यसले मुलुकको समग्र आर्थिक वृद्धि र रोजगारी सिर्जनामा गम्भीर धक्का पु¥याएको एक अध्ययनले देखाएको छ। विश्व बैंकले सार्वजनिक गरेको नेपाल क्यापिटल एक्सपेडिचरसम्बन्धि अध्ययनले त्यस्तो देखाएको हो।
अध्ययनमा नेपालमा आयोजना छनोटदेखि कार्यान्वयनसम्मका संरचनागत समस्याका कारण नेपालको पुँजीगत खर्च निरन्तर ओरालो लागिरहेको पाइएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा सडक, जलविद्युत र सिंचाई जस्ता ठूला पूर्वाधार निर्माणमा सबैभन्दा ठूलो अवरोध जग्गा प्राप्ति र रुख कटानमा देखिएको छ । विश्व बैंकले उदाहरण दिँदै भनेको छ, राजधानी जोड्ने मुख्य नाका नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक खण्डको जग्गा अधिग्रहण प्रक्रिया मात्रै ३५ महिना लागेको थियो, जुन प्रारम्भिक योजनाभन्दा १५० प्रतिशत बढी समय हो।
सामान्यतया, नेपालमा एउटा पूर्वाधार आयोजनाका लागि रुख कटानको अनुमति लिन औसत २ वर्ष र जग्गा प्राप्तिका लागि २ देखि ३ वर्ष लाग्ने गरेको छ । यसले गर्दा आयोजनाको लागत बढ्ने र समयमा प्रतिफल नपाउने समस्या देखिएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंककाअनुसार संघीय सरकारको कुल बजेटमा पुँजीगत खर्चको हिस्सा आर्थिक वर्ष २०७८ मा २७।१ प्रतिशत रहेकोमा २०८१ सम्म आइपुग्दा घटेर २०।९ प्रतिशतमा झरेको छ । कुल विनियोजित पुँजीगत बजेटमध्ये पनि औसतमा ६२ प्रतिशत मात्र खर्च हुने गरेको छ । कुल पुँजीगत खर्चको ४० प्रतिशतभन्दा बढी हिस्सा आर्थिक वर्षको अन्तिम महिना (असार) मा मात्र खर्च हुने गरेको विश्व बैंकको अध्ययनले देखाएको छ । यसले विकासको गुणस्तरमा ह्रास ल्याउनुका साथै ‘असारे विकास’को बेथिति बढाएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुन ४१ वर्ष लाग्ने
विश्व बैंकको अनुमानअनुसार, हालकै लगानी र कार्यान्वयनको गति कायम रहने हो भने नेपालका १७ वटा ‘राष्ट्रिय गौरवका आयोजना’ सम्पन्न हुन झन्डै ४१ वर्ष लाग्ने देखिएको छ । तयारी नै नपुगेका आयोजनाहरूलाई राजनीतिक दबाबमा बजेटमा समावेश गर्दा स्रोत साधन छरिने र कुनै पनि आयोजना समयमा नसकिने अवस्था सिर्जना भएको रिपोर्टमा उल्लेख छ ।
विश्वबैंकले आयोजनाको प्राथमिकीकरण गर्न सुझाव दिँदै पूर्ण तयारी भएका आयोजनालाई मात्र बजेट दिन भनेको छ भने जग्गा र वन सम्बन्धी प्रक्रियालाई डिजिटल माध्यमबाट छिटो छरितो बनाउन भनेको छ । त्यस्तै वर्षको अन्त्यमा हुने खर्चको चापलाई कम गरी समानुपातिक खर्च प्रणाली लागू गर्ने नीति सरकारले लिनुपर्ने बताएको छ भने न्युन बोलकबोलको प्रावधानमा पुनरावलोकन गरी गुणस्तरमा जोड दिन सरकारलाई सुझाएको छ । आयोजनाहरु छिटो सक्न अधिकार प्रत्यायोजन गर्न समेत विश्व बैंकले भनेको छ । यसका लागि सरकारले बजेट रकमान्तर र निर्णय प्रक्रियालाई सरल बनाउनुपर्छ ।
विश्व बैंकलले सरकारले हालै गरेको वन नियमावलीमा संशोधनलाई सकारात्मक भनेको छ । रुख कटानको प्रक्रियालाई केही सहज बनाएपनि अन्य संरचनागत सुधार नभएसम्म पूर्वाधार विकासले अपेक्षित गति लिन नसक्ने विश्व बैंकको ठहर छ ।–न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कञ्चनपुरमा छोराबाट आमाको हत्या
कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला...
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ। यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति...
निर्माण सामग्री अभाव र मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, ‘निर्माण होलिडे’ घोषणा गर्न माग
काठमाडौँ। निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो...
जय ट्रफी मेन्स एलिट कप : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस
काठमाडौँ। जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ । मुलपानी क्रिकेट मैदानमा सुरु भएको...




