गगनको राजीनामाको विपक्षमा उभियो कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाको राजीनामा प्रस्तावको विपक्षमा उभिएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार दिउँसो २ बजे सुरु भएको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत प्रस्ताव पेस गर्नुुभएको छ।
सभापति थापाको राजीनामा अस्वीकृतको प्रस्ताव पेस गर्दा उपसभापति शर्माले विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय नहुने तर्क राख्नुभएको हो।
प्रतिकूलता चिरेर पार्टीलाई अनुकुलतामा पुऱ्याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उहाँको भनाइ छ। शर्माले राखेको प्रस्तावमा ‘त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै स्थिति सम्हाल्ने सबैभन्दा प्रधान नैतिक दायित्व ठहर गर्दै सभापति गगन थापाले आफ्नो पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ’ भनिएको थियो। केन्द्रीय सदस्य मधु आचार्यका अनुसार उक्त प्रस्तावलाई सिंगो केन्द्रीय समितिले ताली बजाएर स्वागत गरेको छ।
पुस २७-३० मा सम्पन्न विशेष महाधिवेशनबाट आएको कांग्रेसको केन्द्रीय कार्यसमितिमा थापा पक्षीय नेताहरू मात्र केन्द्रीय समितिमा छन्। विशेष महाधिवेशनबाट चयन गरिएका पदाधिकारी र केन्द्रीय सदस्य सभापति थापाको विपक्षमा केही पनि नदेखिएको नेताहरू बताउँछन्।
सहमहामन्त्री फरमुल्लह मन्सुरसहित आज आफ्नो धारणा राखेका दुई दर्जन केन्द्रीय सदस्यले बैठकमा थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने मत राखेका छन्। कांग्रेस वरिष्ठ नेता अर्जुननरसिंह केसीले पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने टिप्पणी गर्नुभएको हो।
‘५० दिनको अवधिमा विगत वर्षौंदेखि थुप्रिएका विकृति र विसंगती तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ? म त गगनजीले राजीनामा गर्नु नै बेठिक भन्ने मान्छे हो,’ केसीले भन्नुभयो,‘एउटा ठूलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बीचमा छोडेर जान मिल्दैन।’
निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई केसीको आग्रह थियो। ‘कुनै पनि नेपाली कांग्रेसका साथीले हारबाट आत्तिनुपर्ने कुरा छैन। यत्रो ठूलो जनमत प्राप्त गरेर आउनुभएका साथिहरू छन्। उहाँहरूलाई हाम्रो सम्पूर्ण रुपबाट शुभेच्छा छ। स्थिरता दिनुस्, समृद्धि र विकास दिनुस्,’ उहाँले भन्नुभयो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि सभापति थापाको राजीनामा केन्द्रीय सदस्यहरूले अस्वीकृत गरिरहेको बताउनुभयो। ‘पार्टी सभापतिको राजीनामा पार्टी बैठकमा विधिवत् रूपमा आएको छ। त्यसमाथि साथीहरूले धारणा राख्ने क्रम चलिरहेको छ,’ चालिसेले भन्नुभयो, `उहाँले नैतिकताको कुरा उठाए पनि यो परिस्थिति सम्हालिने, जिम्मेवारी लिने र पार्टी पुनर्निर्माण गर्ने हो भनेर बहुसंख्यक साथीहरूले राजीनामा अस्वीकृत गर्नुपर्छ भनिरहेका छन्।’
उपसभापति शर्माले आजको बैठक स्थगित भएको घोषणा गर्दा केन्द्रीय सदस्यले सभापतिको राजीनामाको निर्णय भएको/नभएको चासो राख्नुभएको छ।
उपसभापति शर्माले सभापति थापाको राजीनामाको प्रस्ताव छलफलमै रहेको भन्दै आइतबार बस्ने बैठकबाट निर्णय हुने बताउनुभएको छ।
प्रतिनिधि सभा निर्वाचनको समीक्षा र थापाको राजीनामा अस्वीकृतको प्रस्तावमाथि निर्णय हुने शर्माको भनाइ थियो। सभापति थापाको राजीनामा अस्वीकृत भएको निर्णय आज नभएपछि आइतबार बिहान ८ बजे बस्ने बैठक पनि उपसभापति शर्माकै सभापतित्वमा बस्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
विपद्जन्य घटनामा परेर १८ को मृत्यु
काठमाडौँ । नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी...
बाइडबडी छानबिनका लागि समिति गठन
काठमाडौँ । नेपाल वायु सेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको घाेटालाको छानबिन गर्न समिति गठन गरिएको छ ।...
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो
बागमती। हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। वर्षासँगै आज बेलुका ५ः००...
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
काठमाडौं । नेपाल जेनजी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ। फ्रन्टले भदौ २३ र २४...




