रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तिब्र पारेको छ ।
यस पटकको बजेट नयाँ बन्ने बालेन नेतृत्वको सरकारको आर्थिक नीति र सत्ता समीकरणको प्रमुख घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रमा केन्द्रित रहने अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । उनीहरुकाअनुसार अहिले अर्थ मन्त्रालय नयाँ सरकार र नयाँ अर्थमन्त्रीको पर्खाइमा छ । निर्वाचनपछि नयाँ सरकार गठन हुने प्रक्रियामा रहेकाले नयाँ आउने अर्थमन्त्रीको नेतृत्वमा बजेटले अन्तिम रूप पाउनेछ । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले आगामी बजेटमा सत्तामा रहने राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई विशेष प्राथमिकता दिइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नयाँ सरकार आएपछि अर्थ मन्त्रालय नयाँ अर्थमन्त्रीको प्रतिक्षामा छ । अर्थमन्त्री आएपछि रास्वपाको वाचापत्र, हाम्रा संवैधानिक दायित्वहरू र अन्तर्राष्ट्रिय रूपमा गरिएका प्रतिवद्धताहरूलाई समेटेर बजेट निर्माण गरिनेछ ।’
रास्वपाले कर्णाली प्रदेशको सुर्खेतबाट चुनावअघि सार्वजनिक गरेको वाचापत्रमा नेपालको परम्परागत अर्थतन्त्रलाई रूपान्तरण गर्दै प्रविधि, उत्पादन र रोजगारीमा आधारित द्रुत आर्थिक विकासको महत्वाकांक्षी खाका प्रस्तुत गरेको थियो ।
सुशासन र नीतिगत सुधारलाई पूर्वशर्त मानेको रास्वपाले आर्थिक वृद्धि, वैदेशिक लगानी, ऊर्जा, सूचना प्रविधि र कर प्रणालीमा ठूला परिवर्तनका एजेण्डाहरू अघि सारेको थियो ।
रास्वपाको वाचापत्रमार्फत नेपाललाई ‘मध्यम आय भएको मुलुक’ बनाउने प्रमुख लक्ष्य राखेको छ । आगामी पाँच वर्षभित्र वार्षिक औसत ७ प्रतिशतको स्थिर आर्थिक वृद्धिदर हासिल गर्ने जग बसाल्ने भनेको छ । यसका आधारमा पाँचदेखि सात वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर नाघ्ने र नेपालको अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन–जीडीपी) १०० अर्ब डलर नजिक पु¥याउने लक्ष्य राखिएको छ ।
त्यस्तै, अर्थतन्त्रमा रेमिट्यान्सपछिको दोस्रो ठूलो खम्बाका रूपमा ‘सूचना प्रविधि’ लाई विकास गर्ने वाचापत्रमा रास्वपाको योजना छ । हालको १।५ अर्ब डलरको सफ्टवेयर तथा आईटी सेवा निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पु¥याउने ऐतिहासिक लक्ष्य राखिएको छ । यसका लागि ‘स्वायत्त आईटी प्रवद्र्धन बोर्ड’ गठन गर्ने, ग्लोबल टेक हब बनाउने र प्रदेशहरूमा अत्याधुनिक डिजिटल पार्क निर्माण गरी ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने संकल्प गरेको छ र आगामी दशकमा नेपालको जलविद्युत जडित क्षमता ३० हजार मेगावाट पु¥याउने लक्ष्य रास्वपाको छ । स्वदेशमै ऊर्जा खपत बढाउन विद्युतीय महशुल पुनर्संरचना गरिनेछ भने सन् २०३५ सम्ममा प्रतिव्यक्ति वार्षिक बिजुली खपत १५ सय किलोवाट आवर पु¥याउने रणनीति अघि सारिएको छ । साथै, भारत र बंगलादेशसँग दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्ने नीति पनि समेटिएको छ ।
रास्वपाले व्यवसायिक वातावरण सुधार्न उत्पादनको लागत बढाउने र झन्झटिला करिव २ दर्जन ऐनहरू खारेज वा सुधार गर्ने घोषणा गरेको छ । आयकरतर्फ ऐतिहासिक परिवर्तन गर्दै ‘पारिवारिक भार’का आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने नीति लिइने रास्वपाले उल्लेख गरेको छ । शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चबापत निश्चित रकम करयोग्य आयबाट घटाउन पाउने कानूनी व्यवस्था गर्ने रास्वपाले वचापत्रमार्फत घोषणा गरेको थियो । अर्थ मन्त्रालयले यही वचापत्रलाई आगामी बजेटमा समेट्ने तयारी गरेको छ । सामाजिक न्यायसहितको आर्थिक नीति रास्वपाले लिएको छ । बजेट राजनीतिक दस्ताबेज पनि भएकाले प्रमुख सत्ताशिन दलको वाचापत्र र आर्थिक नीतिलाई अर्थमन्त्रालयले आगामी बजेटमा समेट्न लागेको हो ।
अर्थ मन्त्रालयका सहसचिव पाण्डेयकाअनुसार बजेट निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन मन्त्रालयले प्रक्रियागत कामहरू अघि बढाइसकेको छ ।
अर्थ मन्त्रालयले आगामी आवको बजेटका लागि सबै मन्त्रालयहरूलाई बजेट सिलिङ (सीमा) तोकिसकेको छ । मन्त्रालयहरूलाई तोकिएको सिलिङभित्र रहेर आफ्ना योजना तथा कार्यक्रमहरू प्रस्ताव गर्न निर्देशन दिइएको छ ।
बजेट क्यालेण्डर अनुसार चैत मसान्तभित्र सबै मन्त्रालयले आफ्ना बजेट प्रश्ताव अर्थ मन्त्रालयमा पेश गरिसक्नुपर्नेछ । मन्त्रालयहरूबाट प्रस्ताव प्राप्त भएपछि अर्थ मन्त्रालयले ती योजनाहरूमाथि विस्तृत छलफल शुरु गर्नेछ ।
नयाँ सरकार आएसँगै पुरानो आर्थिक नीतिमा केही परिवर्तन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले सहजीकरणको भुमिका खेल्ने पाण्डेयले बताउनु भयो ।
‘अब आउने सरकारले लिने आर्थिक नीतिले केही संशोधन गर्छ भने त्यसमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ,’ सहसचिव पाण्डेयले भन्नुभयो ।
बजेट प्रश्तावहरू प्राप्त भएपछि ती कार्यक्रमहरू विद्यमान कानून, बजेट मार्गदर्शन र सरकारले लिने नयाँ नीति तथा कार्यक्रमसँग मेल खान्छन् कि खाँदैनन् भन्ने विषयमा गहन छलफल हुनेछ । यस प्रक्रियामा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयहरूबीच त्रिपक्षीय छलफल हुनेछ । विशेष गरी सरकारको नीतिलाई सहयोग गर्ने खालका कार्यक्रम छन् वा छैनन् भन्ने कुरालाई बजेटको मुख्य कसी बनाइने मन्त्रालयको तयारी छ ।
सरकारले आगामी जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही समयसीमालाई भेटाउन अर्थ मन्त्रालयले अहिले आफ्नो संयन्त्रमार्फत प्राविधिक र प्रक्रियागत तयारीलाई तिब्रता दिएको पाण्डेयले बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी
-
२.
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
-
३.
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
-
४.
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
-
५.
बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदै, विशेष धार्मिक समारोहको तयारी
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...
घट्यो डलरको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (चैत ११)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार...




