काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको हो। संघका अध्यक्ष शिव घिमिरेले माग सम्बोधन नभए फागुन १८ गतेदेखि नेपालका ५९ उद्योग अनिश्चितकालीन बन्द गरिने बताए।
नेपालमा विस्फोटक ऐन कानून र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै इजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको उनको भनाइ छ।
उनकाअनुसार फागुन २२ गतेदेखि देशभरका ग्यास विक्रेता डिपोले सम्पूर्ण सेवा बन्द गर्ने पनि बताए। नेपाल सरकारले ग्यास प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने पनि उनले बताए।
एलपी ग्यास दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न र सुरक्षासम्बन्धी नियम पालना गराउन कानूनी व्यवस्था लागू गरिनुपर्ने उनको माग छ।
६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिती दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग उनको छ।