Breaking News

प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश

काठमाडौँ। प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्नेसहित संघीय संसद सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ ।
निर्वाचनपछि बस्न लागेको सभाको पहिलो बैठकका लागि सचिवालयले कार्यसूची पहिचान गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बताउनुभएको हो ।

संसद सचिवालयले यीनै एजेण्डामाथि छलफल गर्न बधुवार सर्वदलीय बैठक बोलाएको छ । संसदको अधिवेशन शुरु हुनुअघि बुधवार संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहभागितामा सर्वदलीय बैठक आह्वान गरिएको सहसचिव गिरीले बताउनु भयो । अधिवेशन आह्वान भइसकेपछि सामान्यतः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रचलन भएपनि हाल उक्त समिति नभएको अवस्थामा सर्वदलीय बैठक बोलाइएको हो । उहाँकाअनुसार सर्वदलीय बैठकले अधिवेशनको सभाको पहिलो बैठक सञ्चालन, प्रारम्भिक एजेण्डा चयन तथा कार्यतालिका व्यवस्थापनका विषयमा सहमति जुटाउनेछ । सभाको पहिलो बैठकले संसद नियमावली समेत तय गर्नेगरी कार्यसूची तय गरिएको उहाँको भनाइ छ । उहाँले संसदको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश पेश गर्ने र संसदका प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्नेसहितको कार्यसूची पहिचान भइसकेको छ । साथै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने विषय समेत प्राथमिकतामा रहने उहाँले बताउनु भयो ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले भन्नुभयो, ‘अधिवेशन आह्वान भइसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने गरेकै हो । यतिबेला कार्यव्यवस्था परामर्श समिति गठन भइसकेको छैन । यस्तो अवस्थामा जहिले पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको नेतृत्व सहभागि रहनेगरी सर्वदलीय बैठक बस्ने गरेको छ । मुलतः यस्तो बैठकले अधिवेशनको पहिलो बैठकलाई कसरी अगाडि बढाउने, के के एजेण्डा छन् रु कसरी व्यवस्थापन गर्ने रु लगायतका विषयमा छलफल गरेर बैठक सञ्चालन गर्नको लागि सहयोग पनि गर्दछ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच एक प्रकारको समझदारीको लागि पनि सहयोग गर्न मद्दत गर्दछ । त्यसकारण कार्यव्यवस्था समितिको अभावमा सर्वदलीय बैठक आह्वान गरिएको हो ।’

‘संसद सचिवालयले संसदको पहिलो बैठकको कार्यसूची के के हुनसक्छन् भनेर पहिले नै पहिचान गरिसकेको हुन्छ । कतिपय कार्यसूची संसदको दोस्रो वा तेस्रो बैठकमा लैजानुपर्छ भने केही कार्यसूचीहरु पहिलो बैठकमा नै लैजानुपर्छ । जस्तैः अध्यादेशहरु पेश गर्ने, सभामुख र उपसभामुखको निर्वाचन पनि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । त्यसबाहेक अहिलेकै निवयमावलीअनुसार अगाडि बढ्ने वा नयाँ नियमावली बनाउने भन्ने विषयमा पनि छलफल गर्न उपयुक्त हुन्छ । किनभने नियमबाहेक हाउस चल्नसक्ने अवस्था रहदैन । निर्वाचपछिको बैठक भएको हुनाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको नेताहरुले शुभकामना मन्तव्यहरु राख्ने लगायत कार्यसूची रहन्छ । सर्वदलीय बैठकमा यिनै विषयमा छलफल हुन्छ ।’
उहाँले सभा सञ्चालनको लागि सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको बहुउद्देश्यीय हल पूर्ण नभएको समेत बताउनु भयो । उहाँले सभा हेर्न आउने दर्शक, सञ्चारकर्मी लगायत लागि सहभागि गराउने अवस्था समेत नरहेको बताउनु भयो । प्रतिनिधि सभा नियमावली पारित भएसँगै परामर्श समिति र विषयगत समिति गठनको बाटो खुल्नेछ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

मन्त्री आवास प्रबन्धमा समस्या

मन्त्री आवास प्रबन्धमा समस्या

काठमाडौँ। नयाँ सरकारका मन्त्रीका लागि तत्काल आवास प्रबन्धमा समस्या हुने देखिएको छ । ‘जेनजी’ समूहको नाममा गत भदौ २४ गते...

राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक

राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक

काठमाडौँ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सत्तापक्षको उपस्थिति नहुँदा सत्तापक्षको नेतालगायतका पदाधिकारीको हैसियत प्रदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी...

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँ। काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने र सेवा ग्राहीहरूलाई...

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट...