अर्थ

नोक्सान परेको भन्दै तारा एयरले बन्द गर्‍यो सुर्खेत उडान

सुर्खेत। तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो।

हिमाली टुर एन्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो। ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ। ‍ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए।

यसैबीच, निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत–काठमाडौँ परीक्षण उडान सम्पन्न गरेको छ। शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ। यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

उनका अनुसार परीक्षण उडान एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गरेका थिए। उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो।

सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताए। परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी गरिने उनले उल्लेख गरे।

यात्रुको मागलाई मध्यनजर गरी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिइएको यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिए। उनले यसबाट नियमित उडानसँगै एयरलाइन्सप्रति यात्रुको विश्वास बढ्ने धारणा राखे। यही फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ। सुर्खेतमा बुद्ध र श्री एयरलाइन्सले उडान भर्दै आएकामा अब यति थपिएपछि टिकट सस्तो हुने अपेक्षा लिइएको छ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...