राजसंस्था भन्नेहरू निराशा र काल्पनिक सपनामा छन् : बाबुराम भट्टराई
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा।बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेको बताएका छन् । उनले यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्ने र उनीहरूको वास्तविक संसारसँग सम्बन्ध नहुने बताए ।
नयाँ शक्तिको प्रथम महाधिवेशन अन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रम आज मधेस प्रदेशको जनकपुरमा सुरु भएको छ। अभियान सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा र आर्थिक क्रान्तिको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।
अध्यक्ष डा भट्टराईले भने, ‘हामी पछाडि फर्किने कुरा हुँदैन। मधेसजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन् र तिनलाई छलकपट गर्न अब कठिन छ। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ। राजतन्त्र भूत हो, भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’
उनले आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजाहरू र राणाहरूको पालामा हुने गरेको समेत बताए । डा. भट्टराईले भने, ‘तर उनीहरू कति कुटिल थिए भने तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे। त्यसैले जनतालाई शिक्षित नै गराइएन। अहिले जनताले पढ्न र लेख्न पाएका छन् । केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूमा सीमित थियो। राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो।’
डा. भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको उल्लेख गरे। ‘अब जनताले नेताहरू छान्ने मात्रै होइन, विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम नेताहरूलाई चयन गर्नुपर्छ। राजतन्त्र फिर्ता ल्याएर पञ्चायती शासन चलाउने सपना देख्नेहरू आफैँ द्विविधामा छन्। तसर्थ, सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ’ उनले भने ।
डा. भट्टराईले पुराना दलहरूबाट अब कुनै परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक क्रान्ति, रोजगार, वैज्ञानिक तथा प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
‘गाडी लिएर समुद्रको किनारसम्म पुग्न सकिन्छ, तर समुद्र पार गर्न जहाज नै आवश्यक पर्छ। त्यसैले अब पुराना पार्टीहरूले देशलाई कुनै नयाँ उपलब्धि दिन सक्दैनन्। बेरोजगारी हटाउन, वैज्ञानिक र प्राविधिक शिक्षा प्रवर्द्धन गर्न तथा आर्थिक क्रान्ति ल्याउन वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्छ’ उनले भने।
कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय, प्रदेश, तथा स्थानीय तहका नेताहरूको उपस्थिति रहेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




