कुलमान बर्खास्तीको चौतर्फी विरोध
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ। ५ महिना मात्र पद बाँकी रहदा पदच्युत गर्नुलाई गलत भन्दै सामाजिक सन्जालमा असन्तुष्टि बढेको छ। यो विषयले सत्तारुढ नेपाली कांग्रेसमा समेत असन्तुष्टि देखिएको छ
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले सरकारको निर्णयको आलोचना गरेका हुन् । महामन्त्री थापाले घिसिङलाई पदबाट हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको टिप्पणी गरेका छन् । सरकार सञ्चालन गर्न सहयोग गर्ने संयन्त्रका सदस्य समेत रहेका थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले आम नागरिकमा बढ्दो असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको समेत बताएका छन् ।
महामन्त्री थापाले फेसबुकमार्फत सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने रु ‘
साथै उनले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने रुभन्दै प्रश्न गरेका छन्। ‘मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो…तर विडम्बना त्यो भएन, निर्णय गलत छ, सरकार १ उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन’, थापाको भनाइ छ । यस्तै अर्का महामन्त्री शर्माले घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताएका छन् । उनले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमै सजग गराइएको समेत बताएका छन् ।
‘कारबाहीयोग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । यसप्रति खुला र प्रस्ट रूपमा विमति छ’, शर्माले भनेका छन्। यस्तै कुलमान हटाउने निर्णयको प्रमुख प्रतिपक्षी माओवादी आक्रोशित देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घिसिङ हटाएकोमा सरकारको निन्दा गरेका छन् ।
आफ्नो फेसबुक पेजमा उनले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफ्नो नेतृत्वको तत्कालीन सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको स्मरण गरेका छन् ।
प्रचण्डले भनेका छन्, ‘उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ । उनै कुलमानलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेका कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौँ यो खबर असत्य साबित होस् । ’
यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक रहेको उनको भनाइ छ । यस्तै माओवादीका प्रवक्ता अग्नि सापकोटाले पनि सरकारको निर्णयको आलोचना गरेका छन् । उसो त सरकारको निर्णयको ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङसमेत विरोधमा रहेको सार्वजनिक भएको छ । उनी विगतदेखि नै कुलमान हटाउन नहुने पक्षमा रहेका थिए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पनि घिसिङलाई हटाउने सरकारको निर्णयको आलोचना गरेकी छन्। सरकारले कुलमान घिसिङलाई कारबाही गरेर जनताको आक्रोश थप बढाउने काम गरेको उनले बताएकी हुन्।
रास्वपाका सभापति रवि लामिछाने ५ महिनापछि फेसबुकमा फर्किएका छन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।लाइभमा आएर उनले केही बोलेनन् । बरु उनले साङ्केतिक विरोधस्वरुप बत्ती निभाएर मैनबत्ती बाले । उनले लाइभको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् ’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




