अन्तर्वार्ता

‘गायनमा सफल हुन मेहनतसँगै निरन्तरता र धैर्यता आवश्यक छ’

लोकप्रिय गायिका ऋतु कँडेल पछिल्लो समय धेरै व्यस्त कलाकारहरु मध्यमा पर्छिन् । गीत, संगीतमा समर्पित हुँदै निरन्तर लागिरहेकी गायिका कँडेलसँग हामीले गायन क्षेत्रका विविध विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौंः

गायन क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?

म सानैदेखि गीत, संगीतमा रुची राख्थेँ । घर तथा स्कुलमा हुने कार्यक्रमहरुमा गीत गाउनका लागि मलाई रोजिन्थ्यो । मैले भाग लिएर प्रथम पनि हुन्थे । मेरा गुरुहरु, साथीहरु, आफन्तहरु र परिवारको प्रेरणा मिल्यो । मेरो मनैभित्रबाट पनि राम्रो गीत गाउनुपर्छ भन्ने लागिरहन्थ्यो । सबैभन्दा बढी आफ्नो रुचीको क्षेत्र पनि भएकाले म विस्तारै विस्तारै गीतसंगीतमा प्रवेश गर्दै अगाडि बढेँ र आजको दिनसम्म आइपुगेको छु ।

गायनलाई व्यावसायिक बनाउने सोच यहाँमा कसरी आयो ?
मैले सुरुमा गीत संगीतलाई व्यावसायिक नै बनाउछु भनेर अगाडि बढेको होइन । गीत संगीत भनेपछि म हुरुक्कै हुन्थेँ । बिस्तारै यही क्षेत्रमा लाग्दै गएँ र अगाढि बढिरहेँ । आफ्नो लगानी, पढाईसँगै समय पनि मैले गायन क्षेत्रमा लगाएँ । यही क्षेत्रमा समर्पित पनि भएँ । सधैं यही कामलाई निरन्तरता दिएँ । गीत संगीतबाट हामीले तत्काल फल प्राप्त गर्न सक्दैनौं । हामीलाई त्यसको प्रतिफल लिन धेरै समय लाग्छ । जहाँ धैर्यताको आवश्यकता हुन्छ । निरन्तर लाग्दै जाँदा गायन क्षेत्र मेरो पेशाका रुपमा पनि विस्तारै अगाडि बढ्यो । मैले यो पेशाबाट धेरै कमाउन नसकेपनि आत्मसन्तुष्टि मिलेको छ । म खुसी छु । धेरैको माया पाएकी छु । दर्शक र स्रोताको माया कमाएकी छु ।

अपेक्षा अनुसार गायन क्षेत्रमा सफलता प्राप्त भएको महसुस गर्नुहुन्छ ?

एकै पटक सफलता प्राप्त गर्न सकिदैन । त्यसका लागि धेरै मेहनतको आवश्यकता पर्छ । धैर्यता महत्वपूर्ण छ । सहनशील, धैर्य भएर निरन्तर अगाडि बढ्दा अवश्य पनि सबै क्षेत्रमा सफलता मिल्छ । गीत संगीतमा पनि यही नियम लागु हुन्छ । मैले पूर्ण सफलता प्राप्त गरिसकेको छैन । तर सफलता उन्मुख भएर नै अगाडि बढेको महसुस गरेकी छु । यसको मूल्यांकन मैले भन्दा पनि दर्शक, स्रोताबाट हुनुपर्छ भन्ने मेरो मान्यता हो । म खुसी छु, मेरो कामको कदर भएको छ । माया बढेको छ । यस क्षेत्रमा निरन्तर लागेकी छु, अझै धेरै काम गर्न बाँकी छ भन्ने लागेको छ ।

पछिल्लो समय स्टेज कार्यक्रमहरुमा यहाँको व्यस्तता बढ्दो छ । बढी कस्ता कार्यक्रमलाई प्राथमिकता दिनुहुन्छ ?

पछिल्ला वर्षहरुमा म स्टेज कार्यक्रममा प्राय व्यस्त नै छु । २ वर्षसम्म कोभिडका कारण प्राय सबै क्षेत्रलाई असर गर्यो । गायन क्षेत्रमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्यो । २ वर्षसम्म कोभिडका कारण घरमै सीमित हुनुपर्ने अवस्था आयो, खुम्चिएर बस्नुपर्यो । पछिल्लो समय बिस्तारै बिस्तारै मेला महोत्सव र अन्य गतिविधिहरु बढिरहेका छन् । जिल्ला जिल्लामा विविध कार्यक्रमहरु भइरहेका छन् । पछिल्लो समय देशभर आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने अवसर मिलेको छ । मैले यस्तो खालको कार्यक्रम भनेर रोजेको छैन । सबै जनाले माया गरेर बोलाउनुहुन्छ । त्यही अनुसार पारिश्रमिक दिनुहुन्छ । समयले मिलेसम्म सकेसम्म धेरै कार्यक्रममा पुग्छु ।

विदेशका कार्यक्रमहरुमा कत्तिको जानुभएको छ ?

विदेशका कार्यक्रमहरुमा पनि म गइरहेको छु । कोभिड भन्दा अगाडि जापानको कार्यक्रममा सहभागी भएर फर्किएको थिएँ । युके, अष्ट्रेलिया लगायतका देशमा कार्यक्रम तय भएका थिए तर कोभिडका कारण कार्यक्रम रद्ध भए । अब पुनः फेरी विदेशका कार्यक्रममा निमन्त्रणा आइरहेका छन् । मिलाएर जानेछु ।

गायन क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ?

आफूले रोजेको पेशा भएर होला गायन क्षेत्रबाट सन्तुष्ट छु । संगीतको पढाइसँगै मैले कमर्शबाट पनि मास्टर्स गरेको थिएँ । गायनबाट पैसा थोरै कमाइन्छ व्यापार गर्नुपर्छ भन्ने सवालहरु पनि नआएका होइनन् । यद्यपि, मैले गायनलाई प्राथमिकतामा राख्दै रोजेंँ । सोचे अनुसार आम्दानी अवश्य पनि हुँदैन, तर आत्मसन्तुष्टि भने मैले पाएकी छु ।

तपाईंको आगामी योजना के छन् ?

आगामी दिनमा नयाँ-नयाँ गीतहरु बजारमा ल्याउने तयारी छ । ४ वटा गीतहरु तयारी छन् । तिनीहरुको भिडियो गर्न बाँकी छ । गाउनका लागि विभिन्न गीतका प्रोजेक्टहरु आइरहेका छन् ती गीतहरु गाउनेछु । नयाँ सिर्जना गर्ने, बोलाइएका कार्यक्रममा सहभागी हुने र निरन्तर यही क्षेत्रमा लाग्ने योजनामा नै छ ।

गायन क्षेत्रमा भविष्य खोजिरहेका नवप्रतिभालाई तपाईंको सुझाव के छ ?

गायन क्षेत्रमा आउन चाहने नयाँ प्रतिभाहरुको भविष्य राम्रो नै देख्छु । नयाँ–नयाँ कार्यक्रमहरु सुरु भइरहेका छन् । रियालिटी सोहरु भइरहेका छन्, जहाँ आफ्नो प्रतिभा देखाएर यस क्षेत्रमा फड्को मार्न सकिन्छ । हाम्रो पालामा रियालिटी सो खासै हुन्थेनन् । अहिले त्यस्ता कार्यक्रमले नयाँ प्रतिभालाई प्लेटफर्म दिएको छ । आफ्नो प्रतिभा तथा क्षमतालाई चिनेर यस क्षेत्रमा आउँदा राम्रो हुन्छ । निरन्तरता दिइयो भने सफलता पनि पाउन सकिन्छ । संगीत सिक्नका लागि इन्स्टिच्युट, कलेजहरु खुलेका छन् । जुन राम्रो पक्ष हो । सिकेर, आफूलाई निखारेर अगाडि बढ्नुपर्छ । गायन क्षेत्रमा लाग्नासाथ सफल हुन्छु भन्ने नसोची निरन्तर लाग्नुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ?

मलाई माया गर्ने सम्पूर्ण दर्शक तथा स्रोताहरुप्रति आभारी छु । आगामी दिनमा पनि तपाईंहरुबाट निरन्तर माया पाउनेमा विश्वस्त छु । यहाँहरुबाट प्राप्त हुने स्वस्थ सल्लाह, सुझाव तथा प्रतिक्रिया मेरालागि सधैं प्रेरणाको स्रोत बन्ने गर्छन् । सुझाव र प्रतिक्रिया सधैं दिनुहोला भन्न चाहन्छु । धन्यवाद ।

सम्बन्धित समाचार

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification)  र भिसा आवेदन  पाउँदा...